कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओली–दाहालबीच अझै जुटेन सहमति, बिहीबार फेरि छलफल गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — विवाद समाधान खोज्‍न भन्दै दिनहुँ छलफल गर्दै आएका नेकपाका दुई अध्यक्षबीच बुधबार पनि कुनै सहमति जुट्न सकेन । 

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा करिब तीन घण्टा छलफल भएपनि कुनै ठोस सहमति जुट्न नसकेको दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले कान्तिपुरलाई बताए । सापकोटाका अनुसार बिहीबार फेरि दुई अध्यक्षबीच छलफल हुने भएको छ ।

दुवै अध्यक्षबीच मंगलबार पनि छलफल भएको थियो । तर, मंगलबार सामान्य छलफल गरेका ओली र दाहालबीच बुधबार भने विषयवस्तु केन्द्रीत छलफल भएको सापकोटाले जानकारी दिए ।

दुई अध्यक्षबीच सहमति गर्न भन्दै साउन २ सम्मका लागि बैठक स्थगित भएको छ । गत साता पनि ओली र दाहालले लगातार तीन दिन छलफल गरेका थिए ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा विवाद छ । ओलीले अहिलेसम्म दुवै पद नछाड्ने अडान लिएका छन् ।

दुई अध्यक्षबीचको छलफलमा केही बेर महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । महासचिव पौडेलले दुई अध्यक्षबीचको छलफल सकारात्मक भए पनि अझै निष्कर्षमा पुग्‍न नसकेको बताए ।

प्रकाशित : असार ३१, २०७७ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्

साउदी अरबले म्याद सकिएका आवासीय भिसाको समय तीन महिना थप्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — साउदी अरबले म्याद सकिएका आवासीय भिसाको समय तीन महिना थपिदिएको छ । यसले आवासीय भिसाको म्याद समाप्त भएका कामदार गैरकानुनी हैसियत हुनबाट जोगिएका छन् ।

साउदी अरबको रियाद सहर फाइल फोटो : रोयटर्स

साउदी अरबको राहदानी विभाग (जवाजत)का अनुसार राजकीय निर्णयअनुसार कामदारको भिसाको म्याद थपिएको हो । यसको लागि कामदार वा रोजगारदाताले थप शुल्क बुझाउनुपर्ने छैन । भिसाको समय थप गर्नका लागि जवाजतमा गई आवेदन दिइराख्नु पर्ने छैन ।

साउदीका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले भिसाको म्याद समाप्त भएका कामदारले कानुनी हैसियत पाएको बताए । ‘भिसाको म्याद समाप्त भएकाहरुको हकमा के हुन्छ भन्ने चिन्ता थियो । सयौं नेपालीले दूतावासमा सम्पर्क गरिरहेका थिए,’ उनले भने,‘कामदारले अब भिसाका विषयमा चिन्ता लिनुपरेन ।’

बिदामा नेपालमा आएका कामदारको पनि भिसाको म्याद आफै थपिएको छ । नेपालमा रहँदा भिसाको म्याद समाप्त भए पनि हवाई उडान खुलेपछि उनीहरुले भिसालाई प्रयोग गर्न पाइने साउदीको राहदानी विभागले जनाएको छ ।

प्रकाशित : असार ३१, २०७७ १५:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×