कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालुवाटारमा ओली, दाहाल र नेपालबीच छलफल सुरु

काठमाडौँ — पार्टीभित्रको विवाद सुल्झाउने र भोलिको स्थायी कमिटी बैठक सुरु गर्ने विषयमा सहमति जुटाउन नेकपाका तीन शीर्ष नेता संवादमा जुटेका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल संवादमा छन् ।

बालुवाटारमा ओली, दाहाल र नेपालबीच छलफल सुरु

छलफल प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा जारी छ । मंगलबार र बुधबार दुई अध्यक्ष ओली र दाहालबीच भएको छलफलमा विवाद समाधानमा ठोस सहमति नभएपछि बिहीबार नेपालसहितको त्रिपक्षीय संवाद सुरु भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले बताए ।

एजेन्डा र प्रधानमन्त्रीको राजीनामाको विषयमा नेकपामा अहिले दाहाल र नेपाल एउटै समूहमा छन् । १० असारबाट जारी स्थायी कमिटी बैठकमा दाहाल र नेपालले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेका छन् भने प्रधानमन्त्री ओलीले कुनै पनि पद नछाड्ने अडान दोहोराइरहेका छन् । बुधबार दाहालसँगको छलफलमा पनि प्रधानमन्त्री ओलीको यही अडान थियो । बरु उनले चाँडो महाधिवेशन गरेर पार्टीको नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

दुई अध्यक्षबीच बुधवारको छलफलमा केहीबेर महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । गत साता पनि ओली र दाहालले लगातार तीन दिन छलफल गरेका थिए ।

पछिल्लो पटक दुई अध्यक्षबीच सहमति गर्न भन्दै साउन २ सम्मका लागि बैठक स्थगित भएको छ । लगातार बैठक स्थगित भएको तर शीर्ष तहमा सहमति जुटन नसकेकोमा स्थायी कमिटीका सदस्यहरु भने असन्तुष्ट छन् ।

प्रकाशित : श्रावण १, २०७७ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?