कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सीमामा समानान्तर संरचना बनाएर भारतले नेपाललाई डुबायो : गृहमन्त्री

'नेपाललाई डुबानबाट जोगाउन भारतले निकास दिनुपर्छ'

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले सीमासँग समानान्तर सडक निर्माणलगायतका संरचना निर्माण गरेर भारतले नेपालमाथि हस्तक्षेप गरेको बताएका छन् । पटकपटक भएका सन्धि र सम्झौताको उल्लंघन गर्दै भारतले नेपालबाट जाने नदीलाई उचित निकास नदिएर हस्तक्षेप गरेको उनको भनाइ थियो । 

सीमामा समानान्तर संरचना बनाएर भारतले नेपाललाई डुबायो : गृहमन्त्री

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा मन्त्री थापाले भने, 'नेपालमा बाह्य हस्तक्षेपलाई रोक्न नसक्दाखेरि हाम्रोमा डुबान भयो । सीमामा समानान्तर रूपमा भारतले सडक बनाउँदा तराई क्षेत्रमा डुबान हुने गरेको छ । नेपालमा हस्तक्षेप नै हो त्यो ।'

नेपाली भूमिलाई डुबानमा पार्ने गरी भएका भारतीय निर्माण बारे पटकपटक दुई देशबीच छलफल भएको तर त्यसले उचित निकास नपाएको मन्त्री थापाको भनाइ थियो । त्यसो हुनुमा भारत सरकार जिम्मेवार रहेको उनको भनाइ थियो । 'यसबारेमा सरकारले पहल नगरेको होइन । उनीहरूले त्यो बाँध र बाटो बनाएका छन्, त्यसमा निकास दिनुपर्‍यो भनेका हौं । निकास भएन भने त नेपाल पुरै डुबानमा पर्छ । उनीहरुले आफ्नो रक्षाको निम्ती बाँध, तटबन्ध बनाए तर नेपालमा खतरा आयो । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भयो ।'

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका पछिल्ला नेपाल भ्रमणका क्रममा तराईमा भारतका कारण भइरहेका बाँध र सडकका कारण भएका डुबानबारे छलफल भएको तर भारतले सम्झौताअनुसार काम नगरेकाले नेपाल झन् डुबानमा परेको गृहमन्त्रीको भनाइ थियो । 'भारतीय प्रधानमन्त्री आउँदा कुरा भएका थिए । सम्झौता भए तर उनीहरूले सही ढंगले निर्वाह गरेका छैनन्,' उनले भने ।

भारतका कारण नै दुई देशबीच डुबानलाई लिएर प्रभावकारी कार्यान्वयन र काम नभएको मन्त्री थापाको भनाइ थियो । 'नेपालमा डुबान हुनबाट बचाउनका निम्ती भारतले निकास दिनुपर्छ,' उनले भने ।

समितिको छलफलमा सांसदहरूले भारतले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म नेपालको सीमामा सडक निर्माण गरेर बर्खाको पानी निकास हुन नदिएको बताएका थिए । उनीहरूले भारतले सीमामा निर्माण गरेका बाँधका कारण पनि नेपाल डुबानमा परेको बताएका थिए ।

समितिले भने त्यसरी निर्माण भएका संरचना हटाउनका लागि निर्देशन दिएको छ ।

प्रकाशित : असार २९, २०७७ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?