कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

११ हजार घर पहिरोको जोखिममा, ७०४ परिवारलाई तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — पहिरोको जोखिममा रहेका ७ सय ४ घर परिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको सरकारले जानकारी दिएको छ । मुलुकमा मनसुन सुरु भएसँगै पहिरोको उच्च जोखिममा रहेका घर परिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताएका हुन् । 

केही दिनअघि बझाङको केदारस्युँ गाउँपालिका-८ मल्लेसीमा गएको पहिरो

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा निर्देशक पोखरेलले भने, '१४ जिल्लाका ११ हजार घर परिवार पहिरोको उच्च जोखिममा छन् । तीमध्ये ७ सय ४ घर परिवारलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने जरुरी छ ।'

पहिरोको उच्च जोखिममा सिन्धुपाल्चोक, गोरखा, रसुवा रहेको पोखरेलले बताए । जोखिममा रहेका कतिपय परिवार र गाउँले थातथलो छोड्न नमान्दा समस्या उत्पन्न भएको पनि उनले बताए । 'हामी जोखिममा छैनौं भनेर अर्को ठाउँमा जान मान्नुहुन्न,' उनले भने ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठक

त्यस्तै, सीमामा भारतले निर्माण गरेको तटबन्धका कारण बाढीको उच्च जोखिममा प्रदेश २ रहेको पोखरेलले बताए । उनले त्यसमा पनि रौतहट बाढी र डुबानको उच्च जोखिमको पहिलो नम्बरमा रहेको उनले जानकारी दिए ।

बाढी र पहिरोको जोखिम बढ्नुको कारण कृत्रिम रहेको पोखरेलको भनाइ छ । उनले भने, 'सानो घर बनाउँदा नक्सा पास गर्नुपर्छ तर ठूला सडक निर्माण गर्दा नक्सा पास गर्नु पर्दैन । बाढी र पहिरोको जोखिम कृत्रिम कारणले भएको पाइएको छ ।'

बाढी र पहिरोमा परेर सोमबार बिहानसम्म ८५ जनाको मृत्यु भइसकेको गृहसचिव महेश्वर न्यौपानेले जानकारी दिए ।

नेपालमा मनसुन सुरु भएको पहिलो ३० दिनमा उच्च जोखिम हुँदै गरेको सरकारी अध्ययनले देखाएको छ । सरकारी अधिकारीहरूका अनुसार पछिल्लो १० वर्षको अध्ययन गर्दा मनसुन सुरु भएको पहिलो ३० दिनमा ठूलो क्षति भएको छ । यसवर्ष पनि मनसुन भन्दा पहिले नै उच्च वर्षा भएकाले नै जनधनको ठूलो क्षति भएको हो ।

प्रकाशित : असार २९, २०७७ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्

बालीभरि सलह, थाल ठटाउँदै प्युठानका किसान

गिरुप्रसाद भण्डारी

प्युठान — आइतबार दाङ हुँदै प्युठान पसेको सलह किराले किसानको बालीनाली नोक्सान गर्न थालेको छ । सरुमारानी गाउँपालिका हुँदै माण्डवी गाउँपालिकाको रम्दी, चेरनेटा आसपास वास बसेको सलह सोमबार बिहानैबाट प्युठान नगरपालिकाका किसानको खेतबारीमा प्रवेश गरेको हो ।

प्युठान नगरपालिका क्षेत्रमा मकै बालीमा पसेको सलह धपाउँदै स्थानीय । तस्बिर : गिरुप्रसाद भण्डारी 

किसानहरूले धुवाँ लगाउने, थाल–टिन ठटाउने गरे पनि सलह भागेका छैनन् । लाखौंको संख्यामा रहेकाले भगाउन नसकिएको प्युठान नगरपालिका–२ गिरबहादुर धामीले बताए । उनका अनुसार सलहले धान, मकै, तरकारी बालीमा नोक्सान पुर्‍याइरहेको छ । ‘खेतबारी नै ढाक्ने गरी बसेका छन्,’ उनले भने, ‘हाम्रो केही उपाय लागेन ।’

नगरपालिकाका १० वटै वडामा सोमबार बिहानैदेखि सलहले नोक्सान गर्न थालेकाले किसान चिन्तित भएको मेयर अर्जुनकुमार कक्षपतिको भनाइ छ ।


प्युठानमा ८/१० लाखको संख्यामा सलह आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्युठानका निमित्त प्रमुख सुमन खनालले बताए । ‘सलहले धेरै नोक्सानी गर्ने आकलन गरेर स्थानीय तहका कृषि शाखाहरूमा सतर्क हुन आग्रह गरिएको छ,’ उनले भने । साताअघि पनि सलहको झुन्डले सरुमारानी, गौमुखी नौबहिनी, मल्लरानी गाउँपालिका क्षेत्रका मकै बालीमा क्षति पुर्‍याएको थियो ।

प्रकाशित : असार २९, २०७७ १२:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×