कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु, ५ जना बेपत्ता [अपडेट]

सम्झना रसाइली

तनहुँ — आइतबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण तनहुँमा ६ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–८ भैंसीकिलेका ३० वर्षीय भेषबहादुर थापा र व्यास नगरपालिका–९ माझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा र २१ वर्षीया अन्जना थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले बताए ।

तनहुँमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु, ५ जना बेपत्ता [अपडेट]

एसपी पौडेलका अनुसार माँझफाँटका एकै घरपरिवारका ३ जनाको मृत्यु भएको र एक जना बेपत्ता छन् । यस्तै, म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा पहिरोले घर भत्किँदा १७ वर्षीया लक्ष्मी विकको पनि मृत्यु भएको छ ।

त्यस्तै, व्यास–९ माझफाँटकी ७० वर्षीया मैतकुमारी घर्तीको पनि पहिरोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढीपहिरोका कारण जिल्लामा ५ जना बेपत्ता छन् । उनीहरुको खोजी कार्य भइरहेको एसपी पौडेलले बताए । उनका अनुसार पहिरोमा परी मृत्यु भएका रिसिङका भेषबहादुरकी २९ वर्षीया श्रीमती नानुमाया, उनकी ५ वर्षीया छोरी अमिषा, भेषबहादुरका २२ वर्षीय भाइ महादेव, महादेवकी १९ वर्षीया श्रीमती मनिसरा थापा र व्यास–९ माझफाँटका २० वर्षीय राजेश थापा पनि बेपत्ता भएका छन् ।

तनहुँको रिसिङ गाउँपालिका–८ स्थित भैसिकिलेमा पहिरोले पुरिएकाहरुको खोजी हुँदै । तस्बिर : सम्झना रसाइली

यस्तै, पहिरोबाट घाइते भएका व्यास–९ माझफाँटका केशरबहादुर थापा र रिसिङ–८ की ६० वर्षीया ज्योति थापालाई थप उपचारका लागि पोखराको गण्डकी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । केशरको खुट्टामा र ज्योतिको दायाँ हातमा चोट लागेको र दुवैको अवस्था खतरामुक्त रहेका प्रहरीले जनाएको छ ।

पहिरोमा बेपत्ता भएकाको खोजीकार्य, घाइतेको उद्धार तथा अन्य क्षति विवरण संकलनमा सरोकारवाला निकाय तथा स्थानीयसँग समन्वय गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढी पहिरोका कारण ठाउँठाउँमा बत्तीका पोलहरु लड्दा बिहानदेखि विद्युत अवरुद्ध भएको छ । पहिरोका कारण अवरुद्ध भएको राजमार्ग अहिले खुलाइएको छ । भित्री सडक भने अझै अवरुद्ध छन् ।

प्रकाशित : असार २९, २०७७ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?