कोरोना भाइरस : माथिल्लो उमेर समूहमा मृत्युदर बढी

४० वर्ष मुनिकामा मृत्युदर ०.०९ प्रतिशत छ भने ४० वर्ष माथिकामा ०.९७ प्रतिशत छ ।

असार २९, २०७७

अतुल मिश्र

काठमाडौँ — नेपालमा कोरोना संक्रमितमध्ये बढी उमेर समूहका व्यक्तिमा मृत्युदर धेरै देखिएको छ । कोरोनाको राष्ट्रिय औसत मृत्युदर ०.२३ प्रतिशत मात्र देखिए पनि ५१ वर्ष माथिकामा मृत्युदर १.६९ प्रतिशत छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले कोरोनाबाट बूढापाका, दीर्घरोगीको स्वास्थ्य जोखिममा रहेको बताए ।

हालसम्मको विवरणअनुसार ५१ देखि ६० वर्षमा १.४४, ६१ देखि ७० वर्ष उमेर समूहको १.५ प्रतिशत, ७१ देखि ८० वर्षमा ३.९२ प्रतिशत र ८० वर्ष माथिकाको उमेर समूहको मृत्युदर ८.३३ प्रतिशत छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित १६ हजार ८ सय १ जनामध्ये ८ हजार ५ सय ८९ जना अर्थात् ५१.१ प्रतिशत निको भएका छन् । संक्रमितमध्ये हालसम्म ३८ जनाको मृत्यु भएको छ ।

मुलुकमा ४० वर्षसम्मका १३ जना र ४१ वर्षमाथि उमेर समूहका २५ जना संक्रमितको मृत्यु भएको छ । २१ देखि ३० वर्ष समूहका ६ हजार २ सय ८१ जनामा संक्रमण भएकामा ६ जनाको मृत्यु भएको छ । ३१ देखि ४० वर्षसम्मका ३ हजार ८ सय ७३ जनामा संक्रमण भएकामा ३ जना, ४१ देखि ५० वर्षसम्मका १ हजार ६ सय ८२ जना संक्रमित भएकामा १० जनाले ज्यान गुमाएका छन् । त्यस्तै ५१ देखि ६० वर्षसम्मका ६ सय २१ जना संक्रमित भएकामा ९ जना, ६१ देखि ७० वर्षसम्मका २ सय जना संक्रमित भएकामा ३ जना, ७१ देखि ८० वर्षसम्मका ५१ जना संक्रमित भएका २ जना र ८० वर्षमाथिका १२ जना संक्रमित भएकामा १ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी प्रदेश ५ मा १० जनाको मृत्यु भएको छ । वाग्मतीमा ९, सुदूरपश्चिममा ६, गण्डकीमा ५, प्रदेश २ र कर्णालीमा ४–४ जनाको मृत्यु भएको छ ।

जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले ५० वर्षमाथिको उमेर समूहलाई कोरोना संक्रमणको जोखिम बढी रहेको बताए । उनले उक्त समूहका व्यक्तिले संक्रमणबाट जोगिन विशेष ख्याल राख्नुपर्ने बताए । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोको अनुसार हाल मुलुकमा १५ देखि ५४ वर्ष उमेर समूहमा सबैभन्दा बढी अर्थात् ९१ संक्रमण देखिए पनि स्वास्थ्य जटिलता पाको उमेर व्यक्तिमा बढी छ ।

मुटु रोग विशेषज्ञ एवं फिजिसियन डा. ओममूर्ति अनिलले पनि हाल मुलुकमा मृत्युदर उमेरअनुसार बढ्दो देखिएको बताए । ‘महामारी फैलिएको मुलुकमा समेत ४० वर्षभन्दा मुनिका संक्रमितहरूको मृत्युदर एक प्रतिशतभन्दा कम देखिएको छ, यो संक्रमणले पार्ने प्रभावबाट हुने वास्तविक मृत्युदर ६५ वर्षभन्दा माथिकामा देखिन्छ,’ उनले भने । उनका अनुसार हाल मुलुकमा ४० वर्ष मुनिकामा ०.०९ प्रतिशत मृत्युदर देखिएको छ भने ४० वर्ष माथिकामा ०.९७ प्रतिशत मृत्युदर छ । ‘यो तथ्यांकले नै भन्छ कि युवा वर्गले सावधानी अपनाए मात्र घरमा रहेका बूढापाकाको ज्यान सुरक्षित रहन्छ,’ उनले भने । उनले युवा वर्गले आफ्नो घरपरिवारमा भएका वृद्ध, आमा–बुबा र दीर्घरोगीसँग सामाजिक दूरी कायम गर्नेलगायतका उपाय अपनाउनुपर्नेमा जोड दिए । ‘हामीकहाँ मृत्युदर निकाल्न नमुनाको आकार अत्यन्त सानो छ,’ उनले भने, ‘६५ वर्षमाथिको व्यक्ति उच्च जोखिम समूहमा कम्तीमा पाँच हजार प्रभावित हुँदा वास्तविक मृत्युदर थाहा हुन्छ ।’

विज्ञहरूका अनुसार कोरोना संक्रमण समुदायमा फैलिएपछि उच्च जोखिम समूहमा संक्रमणको विस्तार हुन्छ ।

कोरोना भाइरस

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully