कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोबरगाढा ‘टापु’मा कोसीको बाढी पस्यो

२ सय जनाको उद्धारको तयारी
अवधेशकुमार झा

सप्तरी — निरन्तरको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै कोसीको मध्य भागमा रहेको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ गोबरगाढा गाउँसँग सम्पर्क विच्छेद भएको छ । चारैतिरबाट कोसी नदीले घेरिएको टापु भनेर चिनिने बाढी पसेपछि जलमग्न भएको छ ।

गोबरगाढा ‘टापु’मा कोसीको बाढी पस्यो

हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेशकुमार साहका अनुसार गोबरगाढामा ८० घरधुरीमा करिब २ सय जना छन् । चारैतिरबाट कोसी नदीको बाढीले घेरिएपछि सर्वसाधारण संकटमा परेको वडाध्यक्ष बिन्देश्वरी यादवले बताए ।

शुक्रबार रातिदेखि घरघरमा दुई फिटसम्म पानी पसेको र बस्तीको चारैतिर कोसी नदीको बाढीले घेरिएका कारण निस्कन सक्ने अवस्था नरहेको वडाध्यक्ष यादवले बताए । बस्तीका सर्वसाधारणलाई ओहोरदोहोर गर्न यसअघि नै डुंगाको व्यवस्था गरिए पनि स्थानीयहरु टापुबाट बाहिरिएका थिएनन् । शुक्रबार रातिदेखि घर–घरमा पानी पसेपछि गोबरगाढाको जनजीवन निकै नै प्रभावित भएको वडाध्यक्ष यादवले जनाए ।

मेयर शैलेशकुमार साहले गोबरगाढा टापुमा फसेकाहरुलाई त्यहावाट निकाल्ने तयारी भइरहेको बताए । सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि अधिकारीले पनि गोबरगाढाका स्थानीयलाई निकाल्ने व्यवस्था मिलाइरहेको बताए ।

प्रकाशित : असार २७, २०७७ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?