२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

प्रधानमन्त्री ओलीले पद छाडे अस्थिरता निम्तिन्छ : मन्त्री गुरुङ

काठमाडौँ — नेकपामा आन्तिरक विवाद चुलिएपछि गत साता केन्द्रीय सदस्य र सांसदहरूले भेला गरे । भेलाले पार्टीको एकता टुट्न नदिने निर्णय गर्‍यो र सबै नेतालाई ध्यानाकर्षण गरायो । यो समूहका एक नेता थिए, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ ।

प्रधानमन्त्री ओलीले पद छाडे अस्थिरता निम्तिन्छ : मन्त्री गुरुङ

प्रधानमन्त्री ओलीनिकट मन्त्री गुरुङसँग गरिएको कुराकानी :

प्रधानमन्त्री किन राजीनामा दिन चाहनु हुन्न ?

अहिले कोभिड–१९ को संकट छ । राष्ट्रियताको बहस छ । यस्तो बेला अस्थिरता निम्त्याउने होइन । विगतमा दुइटा पार्टी एक हँुदा जुन समझदारी बनेको छ, त्यही समझदारी लिएर जानुपर्छ । सरकारको स्थायित्वका लागि नै पार्टी एकता भएको हो । को व्यक्ति प्रधानमत्री बन्ने वा नबनाउने भन्ने कुरा होइन । अस्थिर सरकार भयो, अल्पमतको सरकार भयो, त्यसले मुलुकलाई नेतृत्व गर्न सकेन भन्ने आधारमा यो एकता अघि बढेको हो । अल्पमतको सरकारले मुलुकलाई नेतृत्व गर्न सकेन भनेकाले नै एकता भयो । स्थायी सरकारलाई किन हटाउने ? विभिन्न कारणले देशलाई विभाजन गर्ने ? केपी ओलीलाई हटाउनुपर्छ भन्ने कुनै कारण छैन ।

सरकारले काम गर्न सकेन, प्रधानमन्त्रीले पार्टीसँग समन्वय गर्नुभएन भन्ने छ नि त ?

सरकारले ऐतिहासिक काम गरेको छ । तर पार्टीले चाहिँ त्योअनुसारको गतिविधि गरेन । सरकारले काम गरेको छैन भन्ने कुरा पार्टीले केही गतिविधि नगरेकाले बाहिर नदेखिएको हो । विकास निर्माणका, अन्तर्राष्ट्रिय सन्धि सम्झौता, राष्ट्रियतासँग गाँसिएका काम गरिरहेको छ । यस्तो बेला सरकार परिवर्तनको कुरा सामान्य नागरिकले त उठाउँदैनन् । तर यहाँ संकटका बेला नेतृत्व गर्नुपर्ने नेता नै फुट र विभाजनमा लाग्नुभएको छ ।

पार्टीले निर्णय गरेर हटायो भने के हुन्छ ?

दुइटा अध्यक्षले हस्ताक्षर गरेको कुरा मात्र वैधानिक हुन्छ भन्ने विधानमा छ । पार्टी अध्यक्ष जिम्मेवारीबाट हट्दाखेरि एकता नै भंग हुन्छ । त्यसैले अहिले जिम्मेवारीबाट हटाउनेभन्दा महाधिवेशन छिटो गरेर नेतृत्व परिवर्तन गर्न सकिन्छ । अहिले गणितीय हिसाबले तलमाथि पार्न सकिएला तर यसले दूरगामी असर पर्छ ।

प्रधानमन्त्री र अध्यक्षमध्ये एउटा छाड्दा समस्या समाधान हुँदैन त ?

दुइटा पद छाड्ने भन्ने विषय नै होइन । संकटका बेला प्रधानमन्त्रीले छाड्दा के सन्देश जान्छ ? अक्षम, अयोग्य भएर छाडेको र भारतका कारण प्रधानमन्त्री परिवर्तन भयो भन्ने सन्देश जान्छ । यसले राष्ट्रियतामा दूरगामी असर पार्छ । त्यसैले प्रधानमन्त्री र अध्यक्ष पद अहिले छाड्न सम्भव छैन । पार्टीको कार्यकारी अध्यक्षको भूमिका परिभाषित गरेर जान सकिन्छ । अहिले जे जस्तो अभ्यास भएको छ, अस्थिरता निम्त्याउनलाई भएको छ । देशी–विदेशी शक्तिलाई क्रीडा भूमि बनाउन सहयोगी बनिरहेका छौं । यो बेला प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्ने भनेको अस्थिरता निम्त्याउन हो । उहाँमा कमजोरी छन् भने सच्याएर, कार्यविधि बनाएर जान सकिन्छ ।

संसदीय दलमा यो विषय छलफल गरेर विधिपूर्वक टुंग्याउन सकिँदैन ?

स्थायी कमिटीमै राजीनामा दिन हुन्न भन्ने पक्षका नेताले बोल्नै पाएका छैनन् । एक पक्षले बोलेकै आधारमा त राजीनामा दिने होइन होला । त्यसैले अहिले नै संसदीय दलको प्रक्रियामा जानुपर्छ भन्ने हुँदैन होला नि ।

सम्बन्धित समाचार

प्रकाशित : असार २६, २०७७ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?