नेकपा स्थायी कमिटी बैठक फेरि ७ दिनका लागि स्थगित

कान्तिपुर संवाददाता

काठमाडौँ — पटक-पटक स्थगित हुँदै आएको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

नेकपाको स्थायी कमिटी बैठकमा सहभागीहरु । तस्बिर सौजन्य : अध्यक्ष केपी शर्मा ओलीको सचिवालय

मुलुकमा बाढी, पहिरो र कोरोनाको महामारी फैलिँदै गएकाले स्थायी कमिटी बैठक स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 'देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरूमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित गरिएको छ,' प्रवक्ता श्रेष्ठले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको थियो । असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा माग गरिएपछि स्थगित हुँदै आएको छ ।

पार्टीको विवाद मिलाउन अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पटकपटक वार्तामा बसेका छन् । यसबीचमा दुई नेता र सहयोगीबीच भएको वार्ताबाट कुनै निष्कर्ष निस्किसकेको छैन ।

प्रकाशित : असार २६, २०७७ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय मिडियाको नांगो रूप

सम्पादकीय

पछिल्लो समय केही भारतीय सञ्चारमाध्यममा प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीलाई व्यक्तिगत रूपमा जोडेर प्रसारित भइरहेका सामग्रीहरू अवास्तविक र अतिरञ्जित मात्र होइन, अशोभनीय र आपत्तिजनकसमेत छन् । गैरजिम्मेवारीको हद नाघेका यस्ता सामग्रीहरूले व्यक्तिगत रूपमा प्रधानमन्त्री ओली र राजदूत होउको गम्भीर मानहानि त गरेका छन् नै, यही कारण आम नेपालीका दृष्टिमा समग्र भारतीय पत्रकारिताकै बदनाम भइरहेको छ ।

एउटा देशको सञ्चारमाध्यमले अर्को देशको राजनीतिक नेतृत्व र तेस्रो देशकी कूटनीतिज्ञबारे गर्ने यस्ता दुष्प्रचारले दुई मुलुकबीचको राजनीतिक मात्र होइन, जनस्तरीय सम्बन्धमा पनि नकारात्मक असर पार्ने खतरा हुन्छ । त्यसैले, यस्ता सामग्रीप्रति सम्बन्धित सञ्चारमाध्यम आफैं जिम्मेवार बनेर गल्ती सच्याउनुपर्छ, साथै भविष्यमा यस्तो प्रवृत्ति दोहोरिन नदिन दुवै देशका सम्बद्ध निकायहरूले आवश्यक अग्रसरता लिनुपर्छ ।

यसै पनि, अक्सर भारतीय सञ्चारमाध्यम र तिनका पत्रकारहरू नेपालबारे कि अत्यन्त अल्पज्ञानद्वारा पीडित छन्, कि भयंकर पूर्वाग्रहबाट ग्रस्त देखिन्छन् । अपवादबाहेक जाने–बुझेकै सञ्चारकर्मीसमेत नेपालसम्बन्धी सामग्रीमा तथ्यको तोडमोड सजिलै गरिदिन्छन् । अचेल भारतका निम्ति टाउको दुखाइको विषय बन्ने गरेको, नेपालमा बढेको भनिने ‘भारतविरोधी जनमत’ जन्माउने पछिल्लो कारक स्वयं भारतीय टीभीहरू हुन पुगेका छन् । पहिलो त, वैदेशिक मामिलाका विषयलाई त्यहाँका अधिकांश पत्रकार निष्ठापूर्ण विश्लेषण गर्नै खोज्दैनन्, राष्ट्रिय स्वार्थका नाममा राज्यकै आँखाले हेरिदिन्छन् । दोस्रो, उनीहरूको प्राथमिकता तथ्यगत, सन्तुलित र विश्वसनीय खबर/सामग्री प्रस्तुत गर्नेभन्दा पनि त्यसलाई सनसनीपूर्ण बनाएर पाठक/श्रोता/दर्शक (टीआरपी) बढाउने बढी हुन्छ । यही कारण, उनीहरू नेपालसम्बन्धी सामग्रीमा सामान्य गल्ती पनि दोहोर्‍याइरहन्छन् । र, त्यसको मूल्य भारतीय समग्र पत्रकारिता र दुई देशबीचको सम्बन्धले चुकाउनुपर्ने हुन्छ ।

भारतमा केही वस्तुगत, सन्तुलित र नेपाल–भारत सम्बन्धको संवेदनशीलता बुझेका सञ्चारमाध्यम र पत्रकार नभएका होइनन् । तर, हल्लाखोरहरूको भीडमा सीमित मात्राका ती मिडिया कतै बिलाउँछन् । फेरि, सबैतिरको सामाजिक चरित्र उही हो, गलत र सनसनीपूर्ण खबरहरू बिजुली गतिमा फैलिन्छन् । अनि, त्यसको मारमा घरीघरी निर्दोष पात्रहरू परिरहेका हुन्छन् । नेपाली सञ्चारमाध्यममा पनि यस्तो घटना बेलाबखत नहुने होइनन्, तर यहाँ त्यसले भारतीय टीभीमा जस्तो प्रवृत्तिकै रूप लिइसकेको छैन । भारतीय मिडियामा खासगरी नेपाली राजनीतिज्ञहरूमाथि गलत आरोप लगाई जथाभावी टिप्पणी गर्ने शैली आफैंमा नौलो होइन । यसप्रति सधैं मौन बस्नु ठीक हुँदैन । अहिलेको घटनामा पनि चुप रहने हो भने यस्तो प्रवृत्ति झनै गहिरिँदै जान सक्छ । त्यसैले दुवै मुलुकका सम्बद्ध निकायले सम्बन्धित मिडियासमक्ष यसप्रति सरोकार राख्दै त्यसलाई सच्याउन पहल गर्नुपर्छ ।

नेपाली नेता तथा बुद्धिजीवीहरूले पनि यस्ता सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदा सोचविचार गर्नैपर्छ, विषयवस्तुको गाम्भीर्य र संवदेनशीलता बुझ्नैपर्छ । प्रधानमन्त्री ओली र राजदूत होउ जोडिएको सामग्रीबारे जनता समाजवादीका नेता उपेन्द्र यादवको अशोभनीय ‘प्रतिक्रिया’ एक भारतीय टेलिभिजनले प्रसारण गरेको छ । भलै, नेता यादवले यसलाई सम्बन्धित भारतीय मिडियाको बदमासी भनेका छन् । आफ्नो भनाइलाई काँटछाँट गरेर तोडमोड गरिएको प्रस्टोक्ति उनले दिएका छन् । यसमा उनी नचुकेका पनि हुन सक्छन्, तर यो घटना सबै नेपाली टिप्पणीकर्ताहरूका लागि गम्भीर पाठ हो । सञ्चारमाध्यममा प्रतिक्रिया दिने बेलामा आफूले बोल्ने विषयवस्तुप्रति संवेदनशील बन्ने मात्र होइन, सम्बन्धित मिडिया र पत्रकार कत्तिको जिम्मेवार छन् भन्ने पाटो पनि पहिल्यै केलाउनुपर्छ ।

यो बुझ्न मुस्किल छैन कि, प्राय: भारतको सामाजिक र शासकीय वृत्त यथार्थ वा काल्पनिकीमा रहेको ‘चिनियाँ खतरा’ बाट निकै ग्रस्त छन् । यो मनोविज्ञानको नेतृत्व त्यहाँका मिडियाहरूले गरिरहेका छन् । तिनले नेपाललाई चीनसित जोडेर अवाञ्छित तरिकाले होच्याउन खोज्नुमा यही मनोवृत्ति कारक बनेको छ । तैपनि सत्य के हो भने, नेपाल मामिलामा अधिकांश मिडियालाई पर्चाकारिता गराउन सफल भारतीय विदेश मन्त्रालयकै पनि यस्ता गतिविधिप्रति भने सायदै सम्मति होला । तसर्थ, यस्तो अलर्गल प्रचारलाई खण्डन गर्न र रोक्न त्यहाँको विदेश मन्त्रालयले पनि चासो देखाउनुपर्छ । यसका लागि हाम्रो परराष्ट्र मन्त्रालयले आवश्यक पहल गर्नुपर्छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासले त्यहाँको विदेश मन्त्रालयमा मात्र होइन, प्रेस काउन्सिलमा पनि यसबारे जानकारी गराई सच्याउन लगाउने तत्परता देखाउनुपर्छ । बेवास्ता गरे पुग्ने हदबाट माथि उक्लिसकेको अफवाहलाई अनावश्यक फैलिन दिइरहनु हुँदैन । कूटनीतिक होस् या जनस्तरमा, भारत–चीन र भारत–पाकिस्तानको तहमा नेपाल–भारत सम्बन्ध कहिल्यै ओर्लिएको छैन, भारतीय मिडियाकै कारण ओर्लन दिनु पनि हुँदैन ।

प्रकाशित : असार २६, २०७७ ०९:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×