काठमाडौं उपत्यकामा ५४ संक्रमित थपिए

२४ घन्टामा देशभर १८० जना संक्रमित

असार २२, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा ५४ जनासहित पछिल्लो २४ घण्टामा मुलुकभर १८० जना कोरोना संक्रमित देखिएका छन् । 

काठमाडौँमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको हो । 

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको बताए ।

तीनकुने र नख्खु क्षेत्रमा २२८ जनामा गरिएको परीक्षण नेगेटिभ 

काठमाडौँ  उपत्यकाको तीनकुने र नख्खु क्षेत्रमा २२८ जनामा पीसीआर परीक्षण नतिजा नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ । 

मन्त्रालयले काठमाडौँ उपत्यकामा समुदायमा कोडिभ – १९ को संक्रमण फैलिएको छ वा छैन भन्नका लागि विभिन्न १० ठाउँमा परीक्षण गरिरहेको छ ।

अरु ठाउँमा पनि स्वाब संकलन भइरहेको र परीक्षण भइरहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाए ।

कान्तिपुर

Link copied successfully