२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सलह नियन्त्रणमा अलमल

‘पानी पर्नाले सलह निष्क्रिय हुँदा कृषि बालीमा बढी क्षति भइहालेको छैन’
राजु चौधरी

काठमाडौँ — करिब दुई दर्जन जिल्लामा सलह फैलिइसक्दा पनि नियन्त्रणमा सरकार अझै अलमलमा देखिएको छ । प्लान्ट क्‍वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलह प्राय: ५० देखि सय वटाको समूहमा देखिएको छ । ‘ठूलो झुन्ड नभए पनि सलहको विस्तार बढ्दै गएको छ,’ केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले भने ।

सलह नियन्त्रणमा अलमल

केन्द्रका अनुसार सलहको ठूलो झुन्ड शनिबार रूपन्देही छिरेको थियो । बारा र सर्लाहीबाट पनि सलहको झुन्ड पसेको थियो । तिनै झुन्ड छुट्टिएर विभिन्न जिल्ला पुगेका हुन् । वर्षाका कारण सलहले ठूलो क्षति भने गरेको छैन । सलह गर्मी/उज्यालोमा मात्रै सक्रिय हुन्छ । ‘आइतबार ठूलो पानी परेपछि सलह उड्न पाएन । घाम लागेपछि केही बालीमा क्षति गरेको छ,’ सूचना अधिकारी सुवेदीले भने, ‘बेलुका भएपछि ती जंगल गए ।’ उनले सोमबारको मौसम हेरेर यसको असरबारे थप भन्न सकिने बताए ।

बुटवलको सैनामैना र मकवानपुरको बतासे डाँडामा मकैबालीमा क्षति गरेको तथा पाल्पाका केही खेतबारीमा सलह पसेको बाहेक अन्यत्रबाट गुनासो नआएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सहदेव हुमागाईंले बालीमा बसे पनि सलहले २/३ घण्टामै ठाउँ फेरेको पाइएको जानकारी दिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा हुमागाईंले भने, ‘पानी पर्दा सलह कीरा सक्रिय भएन । जसले गर्दा क्षति हुनबाट बचेको छ ।’

किसानलाई मौसमले साथ दिए पनि सरकारले नियन्त्रणको योजना भने बनाएको छैन । लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका पूर्वमहानिर्देशक डिल्ली शर्माले सरकारले बेलैमा तयारी नगर्दा समस्या उत्पन्न भएको बताए । ‘छिमेकी मुलुकमा सलह आइसक्दा पनि यहाँ तयारी देखिएन,’ उनले भने, ‘बढी झुन्ड देखिएको क्षेत्रमा भोलि/पर्सि नै विषादी छर्किनुपर्छ । किसानले बाजा बजाएर, थाल ठोकेर कीरा भगाउनुपर्छ ।’

केन्द्रका अनुसार भारतबाट सलहको थप झुन्ड प्रवेश गर्ने सम्भावना देखिएको छ । राजस्थानमा जन्मेका सलहको ८/१० वटा झुन्ड छन् । एक झुन्डमा ३/४ करोड हुन्छन् । ‘हावाका कारण दिल्ली हुँदै बिहार र त्यहाँबाट नेपाल आउने सम्भावना छ । ठूलो झुन्ड नेपाल आए धेरै समस्या हुन सक्छ,’ केन्द्र प्रमुख हुमागाईंले भने । उक्त झुन्ड नियन्त्रण गर्न भारत पनि सक्रिय रूपमा लागिपरेको उनले बताए । जानकारका अनुसार थप सलह नेपाल आउने/नआउने भन्ने मौसम र हावाको बहावले निर्धारण गर्छ ।

सलह नियन्त्रणबारे संघ र प्रदेश सरकारले कार्यायोजना पेस गरेको जनाइएको छ । केन्द्रले सकटलाई ख्याल गर्दै तयारी अवस्थामा रहन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ । ‘विषादी र स्प्रेयर तयारी अवस्थामा राख्न परिपत्र गर्दै छौं । एउटा निकायको प्रयासले मात्रै नियन्त्रण सम्भव हुँदैन,’ केन्द्र प्रमुख हुमागाईंले भने ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले सलह नियन्त्रण गर्न भारत, पाकिस्तान र नेपालका विज्ञहरूसँग छलफल भइरहेको जानकारी दिए । स्थानीय तह, प्रदेशको भूमिका बढी हुने भएकाले विषयगत रूपमा अनुरोध गरिएको उनले बताए । ‘प्रत्येक प्रदेशमा रेस्पोन्स टिम खटाएका छौं । सलहको प्रकोप, उपस्थितिबारे सबैलाई सचेत गराएका छौं,’ प्रवक्ता केसीले भने । उनका अनुसार सलह नियन्त्रण/व्यवस्थापन गर्ने एक मात्र विकल्प विषादी हो । विषादीको मौज्दात र सुनिश्चितता कायम गर्न सबै प्रदेश र स्थानीय सरकारलाई जानकारी गराइएको केसीले बताए । यसका लागि ५ प्रकारका विषादी सिफारिस गरिएको छ ।

मन्त्रालयले सलह सूचना केन्द्रसमेत स्थापना गरेको जनाएको छ । सूचना केन्द्रले सलहको प्रकोप अध्ययन र विवरण संकलन गर्नेछ । ‘अहिले सानो/सानो झुन्ड छ । ठूलो आयो भने गृहमा रहेको विपत् व्यवस्थापन समन्वय समितिसँग सहकार्य गर्छौं । सेनाको पनि सहयोग लिन सकिन्छ,’ प्रवक्ता केसीले भने, ‘त्यसका लागि तयारी भइरहेको छ ।’

दमकल र ड्रोनबाट औषधि छर्किन सिफारिस

सलह कीरा नियन्त्रण गर्न दमकल र ड्रोनबाट विषादी छर्किन सिफारिस गरिएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको अध्यक्षतामा आइतबार भएको छलफलमा तालुक निकायका अधिकारी, विज्ञहरूले उक्त सिफारिस गरेका हुन् । ‘छलफलमा तत्काल एक्सनमा जाने निर्णय भएको छ । सलह नियन्त्रण गर्न संघले प्रदेशलाई विषादी, औजार उपलब्ध गराउने र प्रदेशले स्थानीय तहलाई जानकारी गराउने निर्णय भयो,’ बैठकमा सहभागी प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका पूर्वमहानिर्देशक डिल्ली शर्माले भने, ‘बढी झुन्ड देखिएको ठाउँमा दमकल, ड्रोनलगायत प्रयोग गर्ने निर्णय भयो ।’

प्रकाशित : असार १५, २०७७ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?