‘पानी पर्नाले सलह निष्क्रिय हुँदा कृषि बालीमा बढी क्षति भइहालेको छैन’
काठमाडौँ — करिब दुई दर्जन जिल्लामा सलह फैलिइसक्दा पनि नियन्त्रणमा सरकार अझै अलमलमा देखिएको छ । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलह प्राय: ५० देखि सय वटाको समूहमा देखिएको छ । ‘ठूलो झुन्ड नभए पनि सलहको विस्तार बढ्दै गएको छ,’ केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले भने ।
केन्द्रका अनुसार सलहको ठूलो झुन्ड शनिबार रूपन्देही छिरेको थियो । बारा र सर्लाहीबाट पनि सलहको झुन्ड पसेको थियो । तिनै झुन्ड छुट्टिएर विभिन्न जिल्ला पुगेका हुन् । वर्षाका कारण सलहले ठूलो क्षति भने गरेको छैन । सलह गर्मी/उज्यालोमा मात्रै सक्रिय हुन्छ । ‘आइतबार ठूलो पानी परेपछि सलह उड्न पाएन । घाम लागेपछि केही बालीमा क्षति गरेको छ,’ सूचना अधिकारी सुवेदीले भने, ‘बेलुका भएपछि ती जंगल गए ।’ उनले सोमबारको मौसम हेरेर यसको असरबारे थप भन्न सकिने बताए ।
बुटवलको सैनामैना र मकवानपुरको बतासे डाँडामा मकैबालीमा क्षति गरेको तथा पाल्पाका केही खेतबारीमा सलह पसेको बाहेक अन्यत्रबाट गुनासो नआएको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सहदेव हुमागाईंले बालीमा बसे पनि सलहले २/३ घण्टामै ठाउँ फेरेको पाइएको जानकारी दिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा हुमागाईंले भने, ‘पानी पर्दा सलह कीरा सक्रिय भएन । जसले गर्दा क्षति हुनबाट बचेको छ ।’
किसानलाई मौसमले साथ दिए पनि सरकारले नियन्त्रणको योजना भने बनाएको छैन । लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका पूर्वमहानिर्देशक डिल्ली शर्माले सरकारले बेलैमा तयारी नगर्दा समस्या उत्पन्न भएको बताए । ‘छिमेकी मुलुकमा सलह आइसक्दा पनि यहाँ तयारी देखिएन,’ उनले भने, ‘बढी झुन्ड देखिएको क्षेत्रमा भोलि/पर्सि नै विषादी छर्किनुपर्छ । किसानले बाजा बजाएर, थाल ठोकेर कीरा भगाउनुपर्छ ।’
केन्द्रका अनुसार भारतबाट सलहको थप झुन्ड प्रवेश गर्ने सम्भावना देखिएको छ । राजस्थानमा जन्मेका सलहको ८/१० वटा झुन्ड छन् । एक झुन्डमा ३/४ करोड हुन्छन् । ‘हावाका कारण दिल्ली हुँदै बिहार र त्यहाँबाट नेपाल आउने सम्भावना छ । ठूलो झुन्ड नेपाल आए धेरै समस्या हुन सक्छ,’ केन्द्र प्रमुख हुमागाईंले भने । उक्त झुन्ड नियन्त्रण गर्न भारत पनि सक्रिय रूपमा लागिपरेको उनले बताए । जानकारका अनुसार थप सलह नेपाल आउने/नआउने भन्ने मौसम र हावाको बहावले निर्धारण गर्छ ।
सलह नियन्त्रणबारे संघ र प्रदेश सरकारले कार्यायोजना पेस गरेको जनाइएको छ । केन्द्रले सकटलाई ख्याल गर्दै तयारी अवस्थामा रहन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ । ‘विषादी र स्प्रेयर तयारी अवस्थामा राख्न परिपत्र गर्दै छौं । एउटा निकायको प्रयासले मात्रै नियन्त्रण सम्भव हुँदैन,’ केन्द्र प्रमुख हुमागाईंले भने ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले सलह नियन्त्रण गर्न भारत, पाकिस्तान र नेपालका विज्ञहरूसँग छलफल भइरहेको जानकारी दिए । स्थानीय तह, प्रदेशको भूमिका बढी हुने भएकाले विषयगत रूपमा अनुरोध गरिएको उनले बताए । ‘प्रत्येक प्रदेशमा रेस्पोन्स टिम खटाएका छौं । सलहको प्रकोप, उपस्थितिबारे सबैलाई सचेत गराएका छौं,’ प्रवक्ता केसीले भने । उनका अनुसार सलह नियन्त्रण/व्यवस्थापन गर्ने एक मात्र विकल्प विषादी हो । विषादीको मौज्दात र सुनिश्चितता कायम गर्न सबै प्रदेश र स्थानीय सरकारलाई जानकारी गराइएको केसीले बताए । यसका लागि ५ प्रकारका विषादी सिफारिस गरिएको छ ।
मन्त्रालयले सलह सूचना केन्द्रसमेत स्थापना गरेको जनाएको छ । सूचना केन्द्रले सलहको प्रकोप अध्ययन र विवरण संकलन गर्नेछ । ‘अहिले सानो/सानो झुन्ड छ । ठूलो आयो भने गृहमा रहेको विपत् व्यवस्थापन समन्वय समितिसँग सहकार्य गर्छौं । सेनाको पनि सहयोग लिन सकिन्छ,’ प्रवक्ता केसीले भने, ‘त्यसका लागि तयारी भइरहेको छ ।’
दमकल र ड्रोनबाट औषधि छर्किन सिफारिस
सलह कीरा नियन्त्रण गर्न दमकल र ड्रोनबाट विषादी छर्किन सिफारिस गरिएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालको अध्यक्षतामा आइतबार भएको छलफलमा तालुक निकायका अधिकारी, विज्ञहरूले उक्त सिफारिस गरेका हुन् । ‘छलफलमा तत्काल एक्सनमा जाने निर्णय भएको छ । सलह नियन्त्रण गर्न संघले प्रदेशलाई विषादी, औजार उपलब्ध गराउने र प्रदेशले स्थानीय तहलाई जानकारी गराउने निर्णय भयो,’ बैठकमा सहभागी प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका पूर्वमहानिर्देशक डिल्ली शर्माले भने, ‘बढी झुन्ड देखिएको ठाउँमा दमकल, ड्रोनलगायत प्रयोग गर्ने निर्णय भयो ।’
