दक्षिण कोरियाले दियो ५० हजार पीसीआर किट

असार ४, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिण कोरियाले नेपाललाई ५० हजार आरटी–पीसीआर परीक्षण किट सहयोग गरेको छ । नेपालस्थित दक्षिण कोरियाको दूतावासले ४० हजार र कोरियाकै गैरसहकारी संस्था गुड नेबर्स इन्टरनेसनल (जीएनआई) ले १० हजार किट उपलब्ध गराएका हुन् । उक्त सामग्रीको मूल्य करिब साढे ९ करोड नेपाली रुपैयाँ (७ लाख ६५ हजार डलर) रहेको छ ।

नेपालका लागि कार्यवाहक राजदूत सुन चिल क्वानले उक्त सामग्री स्वास्थ्य मन्त्रालयका स्वास्थ्य संयोजक शाखाका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेललाई त्रिभुवन विमानस्थलमा हस्तान्तरण गरे । दूतावासले परीक्षण किट कोरियन अन्तर्राष्ट्रिय सहयोगी नियोग (कोइका) मार्फत उपलब्ध गराएको हो । कोइकाका अनुसार आधा परीक्षण किट काठमाडौं ल्याइसकेको छ भने बाँकी जुन २० मा आइपुग्नेछन् ।

केही दिनअघि कोइकाले कोरियाली सरकारको सहयोगमा निर्मित तीन सरकारी अस्पताल र एक सामुदायिक अस्पताललाई करिब ७७ हजार अमेरिकी डलर (करिब ९३ लाख ७७ हजार रुपैयाँ) को पीपीई, मास्क, सर्जिकल ग्लब्स र सेनिटाइजर सहयोग गरेको थियो ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully