काठमाडौँ — नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघले मुलुकभरका क्वारेन्टाइनमा रहेका महिलाहरु मध्ये १ हजार ६ सय ८४ जनामाथि हिंसा भएको दाबी गरेको छ ।
संघले आफ्नो जिल्लास्थित संयन्त्रमार्फत संकलन गरेको विवरण अनुसार हिंसामा परेका धेरैजसो घटना गोप्य राखिएको बताइएको छ ।
संघले कैलाली जिल्लाको लम्कीचुवा क्वारेन्टाइनमा राति सुतिरहेकी महिलामाथि भएको बलात्कारको घटनाले पनि क्वारेन्टाइन महिला हिंसाको खाडल भएको कुरा पुष्टि भएको उल्लेख गरेको छ । संघकी अध्यक्ष उमा रेग्मीले बुधबार प्रेस विज्ञप्ति मार्फत् सरकारको अव्यवस्था, अकर्मण्यता, असक्षमता र नालायकपनका कारण यस्ता घट्ना दिनानुदिन बढ्दै गएको उल्लेख गरेकी छन ।
‘सरकार केवल रमिते बनेर बसेको छ । पुरै दण्डहिन्ताको अवस्था छ । सरकार कोरोना महामारीको यस्तो अवस्थामा पनि नागरिकहरुको सुरक्षा गर्ने, रोग र भोकबाट बचाउन कम्मर कसेर लाग्नु पर्नेमा केवल आफनो दुनो सोझ्याउनतर्फ मात्र केन्द्रीत देखिन्छ’ विज्ञप्तिमा उल्लेख छ,‘पीडितलाई न्याय र क्षतिपूर्तिको व्यवस्था गर्न र अपराधीहरुलाई कडा भन्दा कडा काररबाही गर्न संघ सरकारसँग जोडदार माग गर्दछ ।’
