संशोधन फिर्ता गर्न गिरीलाई समाजवादीको फेरि निर्देशन, गिरीको जवाफ- सोचेर निर्णय लिन्छु

सरकारले ल्याएको विधेयकको पक्षमा मतदान गर्न समाजवादीको ह्वीप

जेष्ठ ३१, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — समाजवादी पार्टीको संसदीय दलको बैठकले आफ्नो दलकी सांसद सरिता गिरीलाई संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन फेरि निर्देशन दिएको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले सरकारले ल्याएको विधेयकको पक्षमा मतदान गर्न ह्वीप जारी गर्दै गिरीलाई संशोधन फिर्ता लिन निर्देशन दिएको हो । 

समाजवादीका एक सांसदका अनुसार गिरी भने संसदीय दलको बैठकबाट बाहिरिएकी छन् । दलले ह्वीप जारी गरेर संशोधन फिर्ता गर्न निर्देशन दिएलगत्तै 'म सोच्छु' भनेर बाहिरिएको सांसद प्रदीप यादवले जानकारी दिए।

सकरारले संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको निसान छापमा रहेको नेपालको नक्सालाई कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर जारी गरिएको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा राख्नका लागि संविधान संशोधन विधेयक ल्याएको थियो । सांसद गिरीले सरकारको विधेयक गलत भन्दै संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् । 

पार्टीले यसअघि पनि गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो । फिर्ता नलिएमा कारबाही गर्ने चेतावनी पनि दिएको थियो । तर, उनले अझैसम्म उक्त निर्देशन मानेकी छैनन् । 

संघीय संसद प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दैछ । उक्त बैठले संविधान संशोधन विधेयकलाई पास गर्ने कार्यसूची छ । उनको संशोधन नियमविपरित भएकाले सभामुखले खारेज गर्न सक्ने कानुविद्हरुले बताएका छन् । 

कान्तिपुर

Link copied successfully