निजी विद्यालयको सामाजिक उत्तरदायित्वको रकम कोष बनाएर परिचालन गरिने 

जेष्ठ २७, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — सामुदायिक विद्यालयको शैक्षिक सुधारको जिम्मा निजी क्षेत्रलाई दिने भन्ने बजेटको बुँदा नम्बर १६६ मा संसदमा व्यापक विवाद पछि उक्त नीति परिवर्तन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उक्त विषयमा सांसदहरूले विरोध गरेपछि नीजि क्षेत्रको त्यस्तो रकम कोषमा राखिने बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्रालयका योजना र बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा शिक्षामन्त्री पोखरेलले भने, 'बजेटको बुँदा नम्बर १६६ मा समेटिएको विषयमा सांसदहरूले उठाएका प्रश्नलाई गम्भीरतापूर्वक लिएको छु । यस विषयमा अर्थमन्त्रीले पनि माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुने र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको जिम्मा निजीलाई दिने आशय नभएको प्रष्ट पारिसक्नुभएको छ ।' 

शिक्षामन्त्रीले निजी क्षेत्रका विद्यालयले योगदान गर्ने भनिएपनि सामुदायिक विद्यालयको जिम्मेवारी दिन नसकिने स्पष्ट पारे । 'संविधान र नीति विपरीत सार्वजनिक विद्यालयको जिम्मेवारी कुनै पनि जिम्मेवारी निजी विद्यालयलाई दिइने छैन,' उनले भने, 'सामाजिक उत्तरदायित्व अन्तर्गत निजी विद्यालयले गर्ने योगदानलाई एउटा कोषमा जम्मा गर्ने र त्यो रकम आवश्यक प्रक्रिया पूरा गरी सार्वजनिक विद्यालयको भौतिक विकासमा खर्च गर्न सकिनेछ ।'

निजी क्षेत्रबाट संचालित विद्यालयले नाफाको १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्नुपर्ने व्यवस्था छ । उक्त रकमबाट निजी विद्यालयरहरूले आफूले चाहेका सामुदायिक विद्यालयमा लगानी गर्नका लागि बजेटमा बाटो खुलाइएको भन्दै सांसदहरूले चर्को विरोध गरेका थिए । 

सांसदहरूले निजी क्षेत्रबाट संचालित विद्यालयलाई कर लगाउन माग गरेका थिए । उनीहरूले संविधान विपरीत सामुदायिक विद्यालयको शिक्षालाई तहसनहस पार्नेगरी निजी क्षेत्रलाई घुसाउन नहुने धारणा राखेका थिए । 

त्यस्तै, शिक्षामन्त्री पोखरेलले एसईई, कक्षा ११ र १२ लगायतका परीक्षाबारे केही दिनमै निर्णय लिइने बताएका छन् । सांसदहरूले एसईई परीक्षा खारेज गर्नुपर्ने र विद्यालय संचालनमा विकल्प खोज्नुपर्ने प्रश्नको जवाफ दिँदै परीक्षाबारे विद्यार्थीमा रहेको अन्योलता तोड्ने उनले बताए । कोरोना भाइरसका कारण शैक्षिक क्षेत्रमा हुने क्षति न्यून गर्ने उपायसहित गृहकार्य भइरहेको मन्त्री पोखरेलले जानकारी दिए । 

कान्तिपुर

Link copied successfully