काभ्रेमा कोरोना संक्रमित नै छैनन्, मन्त्रालयको तथ्यांक नै गलत !

जेष्ठ २१, २०७७

नगेन्द्र अधिकारी

काभ्रे — काभ्रे जिल्लामा कोरोना संक्रमित नै नदेखिए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काभ्रेलाई कोरोना संक्रमित जिल्लाको सूचीमा राखेपछि जिल्लावासीमा ‘मनोवैज्ञानिक त्रास’ देखिएको छ ।

जिल्लामा रहेको प्रयोगशालामा संक्रमण पुष्टी भएका काठमाडौंका एकजनालाई काभ्रेको सूचीमा राख्दै मन्त्रालयले विवरण सार्वजनिक गर्दै आएको छ ।

महोत्तरीमा नेपाली सेनामा कार्यरत उनी काठमाडौं काँडाघारीका स्थायी बासिन्दा हुन् । नमूना संकलनको क्रममा भुलवश काभ्रे उल्लेख भएपछि गलत विवरण प्रस्तुत हुँदै आएको छ ।

‘गलत विवरणका आधारमा स्वास्थ्य मन्त्रालयले काभ्रेलाई रेड जोनमा राख्दै आएको छ,’ कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण, व्यवस्थापन जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन रहेका वरिष्ठ स्वास्थ्यक प्रशासक डा. नरेन्द्र्रकुमार झाले भने, ‘काभ्रेमा संक्रमित नै भेटिँदैन भन्ने त हैन तर, संक्रमण नै नभेटिकन जिल्लालाई रेड जोनमा राख्दा स्थानीयमा मनोवैज्ञानिक त्रास छ ।’

जिल्लाका सरकारी निकायले पटक–पटक गलत विवरण सच्याउन अनुरोध गरेपनि वेवास्ता हुँदै आएको छ । प्रमुख जिल्ला अधिकारी संयोजक रहने संकट व्यवस्थापन केन्द्रले २०७७ जेष्ठ ८ गते गलत तथ्याकं सच्याउन अनुरोध गरेको थियो । स्वास्थ्य कार्यालय काभ्रेले २०७७ जेष्ठ १८ गते प्रदेशको सामाजिक विकास मन्त्रालयलाई रेकर्ड सच्याईदिन अनुरोध गरी पत्र लेखेको छ ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रले २०७७ जेष्ठ ३ गते प्रकाशन गरेको सूचना गलत भएकाले सच्च्याउन अनुरोध गरेपनि वेववास्ता भएको बताए । ‘गलत विवरण भयो भनेर सच्याउन धेरैले अनुरोध र दबाब दिदै आएका छन्,’ प्रजिअ तिमल्सिनाले भने, ‘मौखिक र लिखित रुपमा नै सच्याउन अनुरोध गरेपनि भएको छैन ।’

जिल्ला प्रशासन कार्यालय काभ्रेले जेष्ठ ११ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपतकालिन कार्य संचालन केन्द्रलाई पत्र लेखेको थियो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले स्वाव संकलनको समयमा उल्लेखित विवरणका आधारमा सार्वजनिक भएको भन्दै त्यो ‘ठूलो इस्यु’ नभएको बताए ।
‘संक्रमित पुष्टी भएको स्वावको विवरण अनुसार सार्वजनिक गरेका हौं, सच्याउनको लागि पत्रचार भएको सत्य हो,’ उनले भने, ‘तत्काल सच्याइहाल्नुपर्छ भन्ने हैन । त्यत्रो जनसंख्या भएको जिल्लामा कोरोना संक्रमित भेटिहाल्छ भनेर सच्याउने आवश्यकता ठानेनौं, आत्तिनुपर्ने कुनै अवस्था छैन ।’

धुलिखेल अस्पतालमा रहेको प्रयोगशालमा विभिन्न स्थानमा संकलन भएका स्वावका नमुना परिक्षण हुँदै आएको छ । जिल्लामा स्वाव संकलन गरिएका ४ सय ६२ जना समेत हालसम्म २ हजार ९ सय २२ जनाको परिक्षण भएकोमा १ सय १४ जनाको मात्रै पोजिटिभ देखिएको छ । ती सबै अन्य जिल्लाका हुन् । ८४ जनाको नमूना परिक्षणको क्रममा छ ।

नगेन्द्र

Link copied successfully