कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

जेष्ठ २१, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप एकजनाको मृत्यु भइ कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले दोलखाको ७६ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको पुष्टि गरे । उनका अनुसार जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगल भर्नामा भएका उनलाई हेमोराइजिक स्ट्रोक भएको थियो । 

उनको अपरेसन गरिएको थियो । जेठ १५ गते स्वाबको परीक्षण पश्चात उनमाा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनलाई थप उपचारका लागि  त्रिवि शिक्षण अस्पताल लगिएको र बुधबार निधन भएको हो । उनी आईसीयूमा उपचाररत थिए । 

हालसम्म कोरोना संक्रमणबाट  सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ९ जनाको मृत्यु भएको छ ।

कान्तिपुर

Link copied successfully