कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगामी आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि भए राजनीतिबाट सन्यास लिने सांसद देवको घोषणा 

बजेट सुकिला मुकिलाका लागि मात्रै ल्याइयो : सांसद देव

काठमाडौँ — राष्ट्रिय सभामा कांग्रेस सांसद जितेन्द्रनारायण देवले सरकारले जनतालाई ढाँटेर वास्तविक धरातललाई अनदेखा गरेर आगामी आर्थिक वर्षको लक्ष्य तय गरिएको बताएका छन् ।

आगामी आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि भए राजनीतिबाट सन्यास लिने सांसद देवको घोषणा 

सरकारले आगामी आर्थिक वर्षका लागि ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएकोमा चर्को आलोचना गर्दै उनले त्यो हासिल भएमा आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए । आइतबारको बैठकमा बजेटबारे धारणा राख्दै उनले सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएकोबारे वास्तविकता नबुझेर उक्त लक्ष्य बजेटमा राखिएको बताएका हुन् ।

आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि भए राजनीतिबाट सन्यास लिने सांसद देवले बताएका हुन् । ‘अहिले सबभन्दा ठूलो चुनौती भनेको देशमा आर्थिक क्रियाकलापलाई अगाडि बढाउनु हो,' उनले भने, 'एउटा आर्थिक पुर्नउत्थानको कामलाई अगाडि बढाउनुपर्ने हो । मेरो चुनौति छ नेपाल सरकार र अर्थमन्त्रीलाई, यदि ७ प्रतिशतको जीडीपीको ग्रोथ रेट २०७७-०७८ मा भयो भने म राजनीति छोडिदिन्छु ।’

उनले अन्तर्राष्ट्रिय आर्थिक संगठनले १ प्रतिशतको आर्थिक वृद्धि गर्न मुस्किल पर्ने अवस्थामा सरकारले ढाँटेर ७ प्रतिशतको लक्ष्य बजेटमा राखेको आरोप लगाए । सरकारले सवेद झुट बोलेको उनको भनाइ थियो । पर्यटन, उद्योग, कृषिको अवस्था नाजुक रहेकोलाई ख्याल नगरेको तथा ती आर्थिक क्षेत्रलाई माथि उकास्नका लागि कुनै योजना नल्याएको उनको भनाइ छ ।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले समाजको तल्लो तहका मानिसलाई केही नदिने पनि उनले बताएका छन् ।

बजेटको कुन वर्गका व्यक्तिलाई लक्षित गरेर ल्याइएको हो भनेर उनले प्रश्न गरेका थिए । ‘यो समाजको सुकिला मुकिलाहरूको मात्रै बजेट हो ? यो समाजका सुट र टाई लगाउने वर्गको मात्रै बजेट हो ? यो समाजमा मुस्ताङी स्याउ जस्ता राताराता गाला भएकाहरूको मात्रै बजेट हो की ?,’ उनका प्रश्न थिए ।

बजेटमा सिमान्तकृत, विपन्न र गरिब नागरिकलाई नसमेटिएको उनको भनाइ थियो । धेरै ठाउँमा जनता खाना नपाएर भोकले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै उनले भने, ‘लकडाउनका कारण आज सप्तरी जिल्लामा मलर सदाले खान नपाएर भोकभोकै प्राण त्याग गर्यो । खान नपाएर भोकभोकै कीर्तिपुरको रोडमा सुर्यबहादुर तामाङले दाम्लो र डोको छातिमा राखेर प्राण त्याग गर्यो । आज हजारौं लाखौं मलर सदा र सुर्यबहादुर तामाङ यो मुलुकमा छन् । त्यसको लागि राहत, त्यसको लागि सहयोग, त्यसको लागि बजेट खोइ ? कहाँ बजेट विनियोजन भएको छ त्यसको लागि ? के त्यसको लागि बजेट विनियोजन हुनुहुँदैन थियो ?’

सांसद देवले संसदमा प्रस्तुत भएको बजेटलाई गरिबमाराको संज्ञा दिए । कोरोना नियन्त्रण गर्न जारी गरिएको लकडाउनको कारण आपूर्ति शून्य भएकाले कलोबजारी र विचौलियाको संख्या बढेको र कृतिम अभाव तथा महंगीलाई रोक्ने खालको बजेट नआएको उनको भनाइ थियो ।कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा पनि सरकारले ६ अर्ब मात्रै बजेट छुट्याएको भन्दै आपत्ति जनाए । पीसीआर परीक्षण गर्नसमेत नपुग्ने बजेट आएको उल्लेख गर्दै उनले कोरोना रोकथामका लागि अझै बजेट बढाउनुपर्ने बताए ।

कृषि क्षेत्रमा गतवर्ष भन्दा केही बजेट बढाइएको भएपनि मलखादमा ५ प्रतिशत र विउविजनमा १५ प्रतिशत कर बढाएर कृषि क्रान्ति नहुने उनले बताए ।

प्रकाशित : जेष्ठ १८, २०७७ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?