२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बजेट संशोधनका लागि तयार हुन अर्थमन्त्रीलाई सांसद चौधरीको आग्रह

'उद्योगहरू बन्द छन् । ठूलाठूला ऋण लिएर सञ्चालन भएका हाईड्रो, सिमेण्टलगायतका परियोजनाहरू, नीजी क्षेत्रका र सरकारीसमेत पनि लगभग बन्द छन् । होटल, स्कुल बन्द छन् । हस्पिटल पनि लगभग बन्द छन् । महल, रियल स्टेट सबै बन्द छन् । चालु छ भने केबल ब्याजको मिटर । बत्तिको मिटर ।'

काठमाडौँ — सांसद विनोद चौधरीले बजेट संशोधन गर्न माग गरेका छन् । अर्थमन्त्री युवराज खतिवडालाई कोरोनाका कारण अर्थतन्त्र र उद्योग क्षेत्रमा उत्पन्न समस्या समाधान गर्नका लागि बजेट संशोधन गर्न उद्योगीसमेत रहेका कांग्रेस सांसद चौधरीले माग गरेका हुन् । 

बजेट संशोधनका लागि तयार हुन अर्थमन्त्रीलाई सांसद चौधरीको आग्रह

'तत्कालका कुराहरूलाई सम्बोधन गर्नका लागि बजेटले संशोधन खोजेको छ । यसमा अर्थमन्त्रीको ध्यान जाओस्,' प्रतिनिधिसभाको आइतबारको बैठकमा चौधरीले भने । ठूलो रोजगारी सिर्जना गर्न सक्ने क्षेत्र कृषि भएकाले भारत र चीनका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने गरी आवश्यक बजारीकरण र पूर्वाधारको विकास गरी बेरोजगारलाई सीपसँग जोडेर पुँजीको रूपमा बदल्ने काम गर्न अत्यन्त आवश्यक भएकाले बजेट संशोधनका लागि तयार हुन सांसद चौधरीले सरकारलाई आग्रह गरेका हुन् ।

आगामी वर्ष सरकारले अपेक्षा गरेअनुसारको राजश्व उठ्न नसक्ने चौधरीको भनाइ छ । सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभामा धारणा राख्दै उनले १० खर्बको राजश्व संकलन हुने सरकारको प्रक्षेपण सफल नहुने बताए ।

सरकारको आगामी आर्थिक वर्षको बजेटमा ‘चालु आर्थिक वर्षमा ८ खर्ब राजश्व उठाएको भएपनि आगामी वर्ष १० खर्बको राजश्व प्रक्षेपण’ गरिएको उल्लेख गर्दे चौधरीले बजेटमा अपेक्षा गरिएअनुसार राजश्‍व संकलन हुन नसक्ने दाबी गरे । कोरोना संक्रम नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण उद्योग व्यवसाय ठप्प रहेको अवस्थामा मुलुकको अर्थतन्त्रको यथार्थ धरातल बिर्सेर राजश्व संकलनको अपेक्षा मात्रै बढाउनु व्यवहारिक नभएको तर्क उनको थियो ।

'यो बजेट प्रक्षेपणको आधार नै उच्च आशावादी हुनु हो । आशावादी हुनुपर्छ । स्वप्नदर्शी, हुनुपर्छ तर त्यसको धरातललाई बिर्सनु हुँदैन,' चौधरीले भने ।

आगामी दिनहरू अत्यन्तै कठिन बन्ने र रेमिट्यान्समा आधा भन्दा बढी कमी आउने उनले बताए । रोजगारी गुमेकाको जिविकोपार्जनलाई नै सरकारले पहिलो आवश्यकता र प्राथमिकतामा राख्नुपर्ने उनले सुझाव दिए । उनले भने, 'सानातिना काम गर्नेहरूको खल्ती सुकिसकेको, उद्योगहरू बन्द छन् । र ठूलाठूला ऋण लिएर सञ्चालन भएका हाइड्रो,सिमेन्टलगायतका परियोजनाहरू, नीजी क्षेत्रका र सरकारीसमेत पनि लगभग बन्द छन् । होटल, स्कुल बन्द छन् । हस्पिटल पनि लगभग बन्द छन् । महल, रियल स्टेट सबै बन्द छन् । चालु छ भने केबल ब्याजको मिटर । बत्तिको मिटर ।'

कोरोनाबाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि आफूहरूले २ सय ५० अर्बको अनुदान दिन सरकार समक्ष प्रस्ताव राखेको स्मरण गराउँदै चौधरीले सरकारले घोषणा गरेको राहत कार्यक्रममा यातयात, शिक्षण, निर्माण र ठूला आयोजना समावेश नभएकाले ती क्षेत्र धरासायी बनेमा त्यसको प्रभाव बैंकिङ क्षेत्रमा पनि पर्ने तर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले बजार बन्द, यातायात बन्द, भएकाले उत्पादन बजार पुर्याउन नसकिएको अवस्थामा उत्पादन र बजारको श्रृंखलालाई कायम गर्न नसक्दा भविष्यमा लुटपाट जस्ता विकृति देखा पर्नसक्ने चेतावनी दिए ।

प्रकाशित : जेष्ठ १८, २०७७ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?