युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रकम
काठमाडौँ — युवा तथा खेलकुद क्षेत्रका लागि २ अर्ब ३६ करोड रकम विनियोजन भएको छ । उक्त रकमले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि खर्च गरिने अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
संघीय संसदको संयुक्त बैठकमा बिहीबार आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै मन्त्री खतिवडाले उक्त बजेटबाट खेलकुद संरचना तथा प्रतियोगिता सञ्चालन गरिने बताए । कर्णाली प्रदेशमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता सञ्चालन गर्न सकिने संरचना निर्माण गर्न बजेट विनियोजन गरिएको छ ।
'कर्णाली प्रदेशमा राष्ट्रिय स्तरको खेदकुद प्रतियोगिता सञ्चालन हुनसक्ने खेलकुद पूर्वाधार निर्माण गरिनेछ । उच्च पर्वतीय खेलकुद तालिम स्थापना गर्न र थप कबर्ड हल निर्माण गर्नका लागि बजेट व्यवस्था गरेको छु,' मन्त्री खतिवडाले भने ।
आगामी वर्षका लागि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको मन्त्री खतिवडाले बताए । नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गरेर संरचना निर्माणका लागि बजेट विनियोजन गरिएको उनले बताए ।
युवा तथा खेलकुद क्षेत्रमा विनियोजन गरिएको रकमबाट विभिन्न निकायको सहयोगमा कोरोनाविरुद्ध युवालाई परिचालन गर्नमा खर्च गरिने मन्त्री खतिवडाले बताए ।
