१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

मृत्युपछि कोरोना पुष्टि भएका वृद्धको गाउँ सिल, आफन्त भन्छन्- 'अस्पतालको लापर्बाही'

मृतकका छोराका अनुसार चिकित्सकले कोरोना जाँचको विषयमा केही भनेका थिएनन् । स्वाब लिए/नलिएको बारे पनि जानकारी गराइएको थिएन ।
लक्ष्मी साह

बारा — दाहसंस्कार गरिसकिएका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि प्रहरीले बाराको करैयामाई गाउँपालिका–७ उम्जन गाउँ सोमबार सिल गरेको छ । नेसनल मेडिकल कलेज वीरगन्जमा जेठ २ गते उपचारका लागि भर्ना गरिएकै दिन वृद्धको स्वाब परीक्षणका लागि लगिएको थियो ।

मृत्युपछि कोरोना पुष्टि भएका वृद्धको गाउँ सिल, आफन्त भन्छन्- 'अस्पतालको लापर्बाही'

आईसीयूमा उपचाररत उनको जेठ ४ गते मृत्यु भयो । त्यही दिन अस्पतालले मृतकलाई परिवारको जिम्मा लगाएपछि एम्बुलेन्सबाट लगेर दाहसंस्कार गरिएको थियो ।

दाहसंस्कारमा ७० भन्दा बढी मानिस सहभागी थिए । मृत्युअघि नै निकालिएको स्वाबको रिपोर्ट भने सोमबार (आज) आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी गौतम मिश्रले बताए । उनका अनुसार मृतकको कोरोना रिपोर्ट पोजिटिभ आएको छ । 'रिपोर्टअघि नै दाहसंस्कार गरिएको रहेछ,’ उनले भने, 'त्यसैले मृतकको गाउँ वरिपरि तारबार गरी सिल गरेका हौं ।’

गाउँ नजिकैको खोला गरिएको दाहसंस्कारमा सहभागी मलामी, मृतकका परिवार लगायतका गाउँलेलाई घरमै बस्न निर्देशन दिइएको उनले बताए । प्रहरीले कसैलाई बाहिर आउजाउ गर्न दिएको छैन । उनका अनुसार मृतकको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’ भइरहेको छ ।

ज्वरोले सिकिस्त भएपछि परिवारले उनलाई कोल्हवी बजारबाट एम्बुलेन्समार्फत जेठ २ गते नेसनल मेडिकल कलेज लगेका थिए । ‘चिकित्सकले कोरोना जाँचको विषयमा केही भनेनन्,’ मृतकका छोराले भने, ‘अस्पतालले दाहिने ‘लङ्ग्स डिस्ट्रोए’ (फोक्सोमा खराबी) भएर निमोनिया भएको भन्दै उपचार गर्न थाले, उपचारकै क्रममा बुवाको मृत्यु भएपछि हामीलाई जिम्म्मा लगाए ।’

स्वाब लिए/नलिएको पनि आफूहरुलाई जानकारी नदिइएको छोराको भनाइ छ । अस्पतालको लापरबाहीले परिवारले दुःख भोग्नु परिरहेको उनले बताए । ‘बुवा गाउँकै स्वास्थ्यचौकीबाट धेरै वर्षपहिले रिटायर्ड स्वास्थ्यकर्मी हुनुहुन्थ्यो, अहिले पनि हट्टाकट्टा नै हुनुहुन्थ्यो,’ उनले भने, ‘घरको भर्‍याङबाट लड्दा घुँडामा चोट लाग्यो, त्यसपछि ज्वरो र खोकी आएको थियो ।'

सम्बन्धित समाचार

८ दिनअघि मृत्यु भएका बाराका एक व्यक्तिमा कोरोना पोजिटिभ

प्रकाशित : जेष्ठ १२, २०७७ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?