१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नयाँ नक्सा प्रचलनमा ल्याउन सबै कार्यालयलाई परिपत्र

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रचलनमा ल्याउन राज्यका सबै कार्यालयलाई आइतबार परिपत्र गरेको छ । 

नयाँ नक्सा प्रचलनमा ल्याउन सबै कार्यालयलाई परिपत्र

मन्त्रालयका सहसचिव एवं प्रवक्ता जनकराज जोशीले नयाँ नक्सा छापिएको राजपत्र र नापी विभागद्वारा प्रकाशित नयाँ नक्सासमेत राखेर सबै कार्यालयलाई पत्र पठाइएको जानकारी दिए ।

जोशीका अनुसार सबै मन्त्रालय र संवैधानिक निकाय तथा मातहतका कार्यालयलाई भूमि व्यवस्था मन्त्रालय आफैंले पत्र पठाएको हो । सात प्रदेशलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र ७ सय ५३ स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्र पठाई नयाँ जक्सा प्रचलनमा आग्रह गरिएको छ ।

‘जेठ ५ मा बसेको मन्त्रिपरिषद बैठकबाट स्वीकृत नेपालको नयाँ नक्साबारे राज्यका सबै निकायलाई जानकारी गराई प्रचलन र कार्यान्वयनमा ल्याउन आइतबार पत्राचार गरेका हौं’ जोशीले कान्तिपुरसित भने ।

मन्त्रालयले पत्रमा देशभरका सबै कार्यालयमा पुरानो नक्साका ठाउँमा नयाँ नक्सा राख्नसमेत आग्रह गरेको छ । पत्रमा सबै कार्यालयलाई भूमि व्यवस्था मन्त्रालय मन्त्रालय र नापी विभागको वेबसाइटमा रहेको नयाँ नक्सा प्रिन्ट गरी कार्याृलयमा राख्नसमेत आग्रह गरिएको छ ।

मन्त्रिपरिषदको जेठ ५ मा बसेको बैठकले भूमि व्यवस्था मन्त्रालयको प्रस्तावमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरेको थियो । भूमि व्यवस्था मन्त्रालयले बुधबार नयाँ नक्सासमेत सार्वजनिक गरिसकेको छ । मन्त्रालयले शुक्रबार राजत्रपमा नयाँ नक्सा प्रकाशनसमेत गरिसकेको छ भने नापी विभागले नयाँ जक्सा छापी कार्यालयहरूलाई वितरण गर्न थालिसकेको छ ।

प्रकाशित : जेष्ठ ११, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?