अपि नाम्पा संरक्षित क्षेत्रमा सेना पठाउन विभागले थाल्यो पहल 

मुलुकका विभिन्न निकुञ्‍ज, आरक्ष र सिकार आरक्षमा अहिलेसम्म कुल ९ हजार सेना परिचालन भएका छन् ।
अब्दुल्लाह मियाँ

काठमाडौँ — हालै नेपालको नक्सामा समेटिएको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत पर्ने अपि नाम्पा संरक्षण क्षेत्रमा सेना परिचालन गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले छलफल अघि बढाएको छ ।

विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले उक्त क्षेत्रमा सेना पठाउनेबारे नेपाली सेनाको निकुञ्ज तथा आरक्ष निर्देशनालयलगायतसँगसमेत छलफल सुरु गरेको जानकारी दिए । ‘विगतमा भएका वन्यजन्तु संरक्षणसम्वन्धि वैठकमा पनि उक्त क्षेत्रमा सेना पठाउनेबारे छलफल भएको रहेछ,’ कँडेलले कान्तिपुरसित भने, ‘त्यो क्षेत्र सामरिक हिसाबले पनि महत्वपूर्ण र वन्यजन्तुको चोरी सिकारका हिसाबले संवेदनशील भएकाले सेना पठाउनेबारे छलफल सुरु भएको छ ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ३ को ख (१) मा राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रको सुरक्षाका लागि सरकारले आवश्यक व्यवस्था मिलाउन सक्ने उल्लेख छ । निकुञ्ज र आरक्षमा अहिलेसम्म करिब ९ हजार सेनालाई संरक्षणका लागि खटाइएको छ । नेपालमा निकुञ्ज, आरक्ष, सिकार आरक्ष र संरक्षण क्षेत्र गरी २० वटा संरक्षण क्षेत्र छन् । त्यसले कुल क्षेत्रफलको २३.३९ प्रतिशत भुभाग ओगटेको छ ।

२०६६ सालको मंसिर १९ मा सगरमाथा आधार शिविरमा माधवकुमार नेपाल नेतृत्वको सरकारका बेला बसेको मन्त्रिपरिषद बैठकले बाँके निकुञ्जसँगै अपि नाम्पा संरक्षण क्षेत्र र गौरीशंकर संरक्षण क्षेत्र घोषणा गरेको थियो । यो संरक्षण क्षेत्र १९०३ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ ।

अपि नाम्पा संरक्षण क्षेत्रमा रहेको चरन क्षेत्र तस्बिर : सुरेश घिमिरे


निकुञ्ज ऐनको दफा ३ (१) मा सरकारले आवश्यक ठानेमा कुनै क्षेत्रलाई त्यसको चार किल्लासमेत खोलिएको सूचना राजपत्रमा प्रकाशित गरी निकुञ्ज, आरक्ष र संरक्षण क्षेत्र घोषणा गर्नसक्ने व्यवस्था छ ।

दार्चुला जिल्लामा पर्ने अपि नाम्पा सरंक्षण क्षेत्रको पूर्वमा बझाङ जिल्ला, पश्चिममा महाकाली नदी, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लास्कु खोला र नौगाड खोला छन् ।

वातावरण सुधारमा उल्लेखनीय योगदान पुऱ्याउने, प्राकृतिक स्रोत र जडीबुटीको संरक्षण तथा उपयोग गर्ने र पर्या–पर्यटन विकास गरी विकासका दृष्टिकोणले पछि परेको दार्चुला जिल्लाको उत्तरी क्षेत्रका साबिकका २१ गाविसको विकास गर्ने उद्देश्यले संरक्षण क्षेत्रको स्थापना गरिएको हो ।

भारत सरकारले अपि नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत मिचेर मानसरोवर जोड्ने सडक शिलान्यास गरेपछि नेपालले मिचिएको उक्त क्षेत्रलाई समेटेर बुधवार मात्र औपचारिक नयाँ नक्सा सार्वजनिक गरेको छ ।

अपि नाम्पा संरक्षण क्षेत्र तस्बिर : प्रद्युम्‍न राणा

केही दिनअघि सरकारले छाङरुमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बीओपी) स्थापना गरेको छ । अपि नाम्पा संरक्षण क्षेत्रमै पर्ने तिंकर नाका वन्यजन्तुका अंगप्रत्यंगको तस्करी हुने पुरानो नाकाअन्तर्गत पर्छ ।

अपि-नाम्पा संरक्षित क्षेत्रमा खटिन तयार छौं : सेना

जैविक विविधता र वन्यजन्तुका अगंहरुको अवैध तस्करी रोक्ने उद्देश्यले नै सरकारले उक्त क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरेको हो । संरक्षण क्षेत्रको मुख्यालय भने सदरमुकाम खलंगामा छ । सरकारले २०६७ असार २८ गते राजपत्रमा सूचना प्रकाशित गरी अपि नाम्पा संरक्षण क्षेत्रको औपचारिक सुरुवात गरेको हो ।

अपि नाम्पा संरक्षण क्षेत्रमा पर्ने चमेलिया नदी तस्बिर : प्रद्युम्‍न राणा

उक्त क्षेत्रमा सेना पठाउन सकिए जैविक विविधताका साथै भुगोलको समेत संरक्षण हुने भएकाले सेना पठाउनेबारे आफूले छलफल अघि बढाएको कँडेलको तर्क छ । कँडेलले भने, ‘यही बेलामा त्यहाँ स्थायी रुपमा सेना राख्न सकियो भने भूमि रक्षाका साथै चोरी निकासी रोक्न ठूलो बल पुग्दछ ।’ त्यसरी स्थापना गरिएका सेनाले गस्ती गर्ने भएकाले सीमा र जैविक विविधताको सुरक्षा हुने उनको तर्क छ ।

बर्दिया निकुञ्ज र भारतकै कतिपय निकुञ्जमा मारिएका बाघ, चितुवालगायतका वन्यजन्तुका छाला र अन्य अंग दार्चुलाको तिंकर भञ्ज्याङ हुँदै तिब्बतको ताक्लाकोट निकासी हुने गरेको छ । विगतमा यही क्षेत्रबाट धेरै तस्करसमेत पक्राउ परेका छन् । सेना परिचालन गर्ने निर्णय भने वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले गर्नुपर्ने हुन्छ ।

नेपाली सेनाको निकुञ्ज तथा आरक्ष निर्देशनालयमा लामो समय काम गरेका पूर्व सहायक रथी बाबुकृष्ण कार्की सेनाको रेञ्जर बटालियनलाई लिपुलेक मात्र होइन लिम्पियाधुरासम्मै तैनाथ गर्न सुझाउँछन् ।

के–के छन् अपि नाम्पामा ?

यो संरक्षण क्षेत्र जैविक विविधताका दृष्टिले अत्यन्तै महत्वपूर्ण र भरिपूर्ण छ । बहूमुल्य जटिबुटी यार्चागुम्बुका लागि पनि यो क्षेत्र प्रख्यात छ । यस क्षेत्रमा अपि हिमाल (७,१३२ मि), नम्पा हिमाल (६,७५७ मि), व्यास हिमाल (६,६७० मि) लगायत धेरै उच्च हिम श्रृंखलाहरू छन् ।

यस संरक्षण क्षेत्रको उचाइ समुद्री सतहबाट ५ सय ३९ देखि ७ हजार १ सय ३२ मिटरसम्म छ । भारत महादेश (इन्डियन प्लेट) र उत्तरी किनारा तिब्बत महादेश (चिनियाँ प्लेट) सँग ठोकिने क्रम अझै पनि जारी भएकाले यहाँका भू–भागहरू भिराला र गतिशील छन् ।

अपि नाम्पा संरक्षण क्षेत्रमा पाइने इजिप्सियन गिद्ध तस्बिर : मुकेश चालिसे

यहाँ सिस्ट, चुनढुंगा र सेडिमेण्टजस्ता चट्टानहरू हुनाले वर्षातको समयमा पहिरो जाने सम्भावना बढी हुन्छ । उक्त क्षेत्रमा ग्रेनाइट, पेगमेटाइट, फाइलाइट र क्वारजाइट चटृान पनि पाइन्छ । वन्यजन्तुका लागि पनि उक्त क्षेत्र प्रख्यात छ । विश्वमै दुर्लभ हिउँ चितुवा, ध्वाँसे चितुवा, कस्तुरी मृग, हाब्रे, रतुवा, घोरल, नाउर, झारल, चितुवा, बाँदर, हिमाली कालो र खैरो भालु, स्याल, दुम्सी, ब्वाँसो, लंगुर, थारलगायतका वन्यजन्त पाइन्छन् ।

यस्तै डाँफे, चीर, चिल, च्याखुरा, हलसे, भ्याकुरलगायत २ सयभन्दा बढी प्रजातिका चराको समेत आश्रयस्थल हो अपि नाम्पा । तल्लो क्षेत्रमा साल, खयर, सिसौ, उत्तिस, बाँझ छ माथिल्लो क्षेत्रमा गुराँस, गोब्रे सल्ला, कोलिनियल खश्रुलगायत वनले यो संरक्षण क्षेत्र रमणीय बनेको छ । प्रकाशित : जेष्ठ ९, २०७७ १४:२१

प्रतिक्रिया
पठाउनुहोस्

कर्णालीका हिमाली जिल्लामा २२ सयको पीसीआर

राजबहादुर शाही

मुगु — कर्णालीका हिमाली जिल्लामा परीक्षण गरिएका २ हजार २ सय ५४ जनाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाले मुगु, जुम्ला, कालिकोट, डोल्पा र हुम्लामा चिकित्सकको टोली परिचालन गरी स्थानीयको स्वाब संकलन गरेको थियो ।

नमुना संकलन गरी परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बताए । मुगुको खत्याड गाउँपालिकाकी एक युवतीको आरडीटी रिपोर्ट पोजेटिभ देखिए पनि पीसीआर परीक्षणको क्रममा नेगेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।

भारत तथा जिल्ला बाहिरबाट आएका व्यक्तिको स्वाब संकलन गर्न प्रतिष्ठानले साबिक कर्णालीका ५ जिल्लामा टोली खटाएको छ । ‘मजदुरीका लागि भारत गएकाहरू घर फर्कने क्रम बढेपछि गाउँमा कोरोना संक्रमणको जोखिम देखियो,’ उनले भने, ‘सबैको तथ्यांक संकलन गरी स्वाब परीक्षणलाई तीव्रता दिएका छौं ।’

प्रकाशित : जेष्ठ ९, २०७७ १४:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×