दार्चुलाको घाँटीबगरमा गोरेटो बाटो निर्माण गर्न पुग्यो नेपाली सेना 

असारसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ : सैनिक प्रवक्ता पाण्डे 
असारपछि लिपुलेक र तिंकर जान भारतीय भूमि प्रयोग गर्नु नपर्ने

काठमाडौँ — महाकाली करिडोर (दार्चुला–तिंकर सड्क योजना) सडकखण्डअन्तर्गत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर–२ स्थित घाँटीबगर इलाकामा नेपाली सेनाको टोली खटिएको छ ।

दार्चुलाको घाँटीबगरमा गोरेटो बाटो निर्माण गर्न पुग्यो नेपाली सेना 

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार उक्त क्षेत्रमा बाटो निर्माणको लागि शुक्रबारै काठमाडौबाट प्राविधिक तथा इन्जिनियरको टोली दार्चुलाको सदरमुकाम खलंगा गएको थियो । त्यसबाट बिहीबार एक प्लाटुन (करिब ४५ जना) को सैनिक टोली घाँटीबगर पुगेको हो ।

घाँटीबगर इलाकामा करिब दुई मिटर चौडाइको ४५० मिटर गोरेटो बाटो निर्माण कार्यको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको निमित्त सेनाको एक सेक्सन प्लस फौज तैनाथ भएको सेनाले जनाएको छ । साथै बाटो निर्माण कार्यका लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक नफ्रिको फौज, उपकरण एवं अन्य सामग्रीहरु सहितको टोली शुक्रबारबाट खटिएको छ ।

नेपाल सरकारको मन्त्रिपरिषदको वैशाख १४ को निर्णयअनुसार महाकाली करिडोर (दार्चुला–तिंकर सड्क योजना) अन्तर्गत उत्तरतर्फ रहेको ८७ किलोमिटर सडकखण्ड नेपाली सेनामार्फत् निर्माण गराउने निर्णय भएको छ ।

चीन र भारतको सीमा नाकासमेत पर्ने दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नम्बर–१ मा पर्ने छाङरु र तिंकर गाउँका करिब १८२ घर परिवारको करिब एक हजार २ सय जना स्थानीयलाई जिल्ला सदरमुकाम खलङ्गा आवतजावत गर्नका लागि सोही गाउँपालिकाको वडा नम्बर–२ मा पर्ने मौरीभिरमा ठूलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरोसमेत गएकोले आवतजावत गर्न समस्या भएको छ । उक्त समस्याको कारणले हालसम्म स्थानीय बासिन्दाले नेपालको माथिल्लो भागबाट तल्ला भागमा आउन र तल्लो भागबाट माथिल्ला भागमा जानु पर्दा भारततर्फ रहेको बाटो प्रयोग गर्दै आउने पर्ने बाध्यता छ ।

घाँटीबगर र मौरीभिर इलाकामा पर्ने चार सय ५० मिटर सडक खण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भएबमोजिम सडकखण्ड निर्माणका लागि सेनाको प्रावधिक जनशक्तिसहित फौज घाँटीबगरको थी इलाकामा तैनाथ गर्ने योजना अनुसार बिहीबार फौजलाई खटाइएको सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता पाण्डेले उक्त खण्डको बाटो असार मसान्त भित्रमै बनाइसक्ने सेनाको योजना रहेको र त्यसपछि नेपालीहरुले दार्चुलाको सदरमुकामबाट माथिल्लो क्षेत्रमा जानको लागि भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यता नभएको बताए ।

सम्बन्धित समाचार

असारपछि लिपुलेक र तिंकर जान भारतको भूमि प्रयोग गर्नु नपर्ने

प्रकाशित : जेष्ठ ९, २०७७ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?