कोरोनाबाट मृत्यु हुने महिला बस्ने घर र मामाघर सिल

जेष्ठ ४, २०७७

मकर श्रेष्ठ

काठमाडौँ — प्रहरी र टोखा नगरपालिकाले कोरोनाका कारण धुलिखेलमा मृत्यु भएकी महिला भाडामा बस्ने घर र मामाघर सिल गरेको छ । उनीहरु काठमाडौंको टोखा नगरपालिका-९ स्थित बुद्धमार्गमा बस्थे । 

टोखा नगरपालिकाको वडा नम्बर ९ का वडा अध्यक्ष जोगप्रसाद नेपालले मृतक महिला बसेको घर र उनीहरु बस्ने नजिकैको मामा घरमा पनि सिल गरिएको बताए । ‘दुवै ठाउँमा आउजाउ  बन्द गरेका छौं । घरका मान्छेलाई हिजो रातीदेखि नै बाहिर निस्कन दिएका छैनौैं,’ उनले भने ।

ती महिला काभ्रे डेरीदेखि अरुण डेरीसम्मको बाटोमा पर्ने आफन्तको घरमा बसेको भन्ने जानकारी आएकोले सो वरपरका क्षेत्र सिल गरिएको जानकारी टोखाका मेयर प्रकाश अधिकारीले जानकारी दिए ।

ती महिला बस्ने घरका १२ जना र मामा घरका ५ जनाको स्वाब परीक्षण गर्न स्वास्थ्य टोली मगाएको उनले बताए । चार तले घरको दोस्रो तलमा उनको परिवार बस्थ्यो ।  अस्पतालबाट डिस्चार्ज हुनुअघि बिरामीलाई खाना र कपडा लिन आउजाउ भएकोले घरमा बस्नेको स्वाब लिन लागिएको वडाध्यक्ष नेपालले बताए । ती महिलाले घर नजिकै तरकारी पसल गर्ने भए पनि गर्भवती भएको केही महिनापछि छाडेको पाइएको वडाध्यक्ष नेपालले बताए । श्रीमान भने नेपाल सेनाबाट अवकाश पाएपछि सुरक्षागार्डमा काम गर्ने गरेको उनले बताए ।

सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको कोरोनाको कारण मृत्यु भएपछि श्रीमान्, आमा, नन्द र १२ दिनको बच्चालाई अस्पतालको आइसोलेसनमा राखिएको छ । अस्पतालले उनीहरुको पनि स्वाब निकालेर परीक्षण गरिरहेको छ । उनीहरुको नतिजा आउन बाँकी छ ।

सम्बन्धित समाचार

कोरोना भाइरसबाट पहिलो पटक नेपालमा एक जनाको मृत्यु, स्वास्थ्य मन्त्रालयद्वारा औपचारिक पुष्टि

जो निसंकोच कोभिड–१९ ले मृत्यु भएकी महिलाको मलामी गए

मकर विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका श्रेष्ठ शिक्षा, संसदीय मामिला र सुशासनका विषयमा लेख्छन्।

Link copied successfully