मिनी संसदमा ‘रावल–ज्ञवाली’ टकराव 

वैशाख २८, २०७७

जगदीश्वर पाण्डे

काठमाडौँ — आफ्नो पार्टीको सरकारले गलत काम गरे पनि ‘ठीक हो’ भन्दै संसदमा समर्थन र बचाउ गर्नु हाम्रो संसदीय पद्दतीको नजिर हो । पूर्ण संसद होस् या मिनी संसद अर्थात् संसदीय समितिहरुमा सरकारले गरेका गलत कामलाई औंल्याएर ठीक बाटोमा हिँडाउने जिम्मेवारी सांसदहरुको हो । तर, संसद र मिनी संसद सरकारको छायाँजस्तै बन्ने गरेका छन् । 

त्यसको पछिल्लो उदाहरण हो, संसदको बजेट अधिवेशन सुरु हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई दिएको निर्देशन । उनले आफ्ना पार्टी नेकपाका संसदहरुलाई संसदमा सरकारको बचाउन गर्नु भन्ने निर्देशन दिएका थिए । 

आइतबारको संसदीय समितिको बैठक भने ओलीले दिएको निर्देशन र चाहेको वातावरणअनुसार चलेन । प्रसंग हो, प्रतिनिधि सभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको । जहाँ सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सत्तारुढ नेकपाकै नेता तथा पूर्व उपप्रधानमन्त्रीबीचको वैचारिक टकराव भयो । 

समितिले बिहान साढे ८ बजे भारतीय पक्षबाट नेपालको भूभाग दार्चुलामा निर्माण भएको सडकको विषयमा छलफल गर्न बैठक बोलाएको थियो । ११ बजे प्रतिनिधि सभाको बैठकमा पुगिसक्नु पर्ने कारणले गर्दा १० बजेसम्म बैठक सक्नु पर्ने समितिकी सभापति पवित्रा निरौला खरेलले जनाएकी थिइन् । उनले सांसदहरुलाई छोटोमा आफ्ना भनाईहरु राख्न पनि बताएकी थिइन् ।

बैंठकको सुरुमै सभापतिले समय दिएपछि मन्त्री ज्ञवालीले अहिलेसम्म भएका गतिविधिको बारेमा जानकारी गराए ।

त्यसपछि सांसदहरुले बोल्न क्रम सुरु भयो । कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी र जनता समाजवादी पार्टीकी सांसद सरिता गिरिले आफ्नो भनाईहरु तीन मिनेटभन्दा बढीमा राखे । उनीहरु बोलिरहँदा सभापति निरौलाले सांसदहरुलाई छोटोमा आफ्ना कुरा राख्न आग्रह गरिन् । यति गम्भीर विषयलाई छोटो समयमा छलफल गर्न नसक्ने र फेरि पनि बैठक बोलाउन राजभण्डारीले सभापतिलाई आग्रह गरे । 

सभापति निरौलाले ‘समय मिलाएर छिटै बैठक बोलाउने’ भनेकी थिइन् । त्यसपछि भीम रावलले हात उठाउँदै सभापति निरौलालाई सुझाव दिए, ‘यति गम्भीर विषयमा कहिले बैठक गर्ने भन्ने के कुरा गर्नु भएको सभापति जी । राष्ट्रिय अखण्डताभन्दा अन्य ठूलो विषय र काम के हुन सक्छ, मलाई जवाफ दिनुस् त ?’ 

छिटै बैठक गर्छु मात्र भनेकी सभापति निरौलाले रावलको सुझावपछि भनिन्, ‘माननीयी मैले मन्त्रीजीसँग कुरा गरेर बैठकको टुङ्गो लगाउँला । अहिले बैठकको टुंगो लगाउन सकिन्न ।’ 

केही समय बैठक चल्यो । 

मन्त्री ज्ञवालीले जवाफ दिनुअघि अन्तिम वक्ताका रुपमा सांसद दीपकप्रकाश भट्टले एक मिनेटमा सुदूरपश्चिमको भारतीय सीमानामा रहेका नेपालीहरुको उद्धार गर्न आग्रह गरेका थिए । त्यत्तिकैमा कांग्रेसकी सांसद उमा रेग्मीले सभापति निरौलालाई सोधिन्, ‘सभापति ज्यू, अब बैठक कहिले बस्छ त ?’ सभापति निरौलाले जवाफ दिइन्, ‘बैठकको विषयमा अहिले भन्न सकिन्नँ । मन्त्रीजीसँग सल्लाह गर्छु, उहाँले जहिले समय दिनु हुन्छ त्यहीबेला बैठक बोलाउँछौं ।’ रेग्मीले बैठकको मिती यही बैठकमा तोक्नुपर्ने सभापतिसँग आग्रह गरिन् । 

सभापतिको जवाफ सुनेपछि बैठकमा समय कम भएको कारण बोल्नसमेत समय नपाएका रावलले भने, ‘सभापति ज्यू, पहिलो कुरा त मलाई बैठकमा बोल्नको लागि समय पनि दिनु भएन । अर्को कुरा मन्त्रीजीको समय मिलाउने भन्न खोजेको कुरा के हो ? उहाँको योभन्दा महत्वपूर्ण काम अरु के हुन सक्छ ? मन्त्री नआए पनि यो बैठक हुनु पर्छ । यो देशको राष्ट्रिय स्वाधिनता र राष्ट्रिय अखण्डताको कुरा हो ।’ 

रावलले थपे, ‘यदि यस्तो महत्वपूर्ण छलफलमा कुनै मन्त्री उपस्थित हुँदैन भने त्यो उसको गैरजिम्मेवारी हो, त्यसमा हामीले के भन्नु पर्छ त्यही बेलामा भनौंला ।’ 

सभापति निरौलाले बैठकको विषयमा टुंगो लगाएर भनिहाल्ने उल्लेख गर्दै रावललाई रोकिन आग्रह गरिन् । तर, रावलले परराष्ट्र मन्त्रीलाई आफ्ना केही प्रश्नहरु रहेको उल्लेख गर्दै भने, ‘म प्रश्न गर्न चाहन्छु, परराष्ट्रले जारी गरेको विज्ञप्तिमा कुनै व्यक्तिको हस्ताक्षर किन छैन ? अरु देशले वक्तव्य जारी गर्दा आफ्ना प्रवक्ता मार्फत् सञ्चार माध्यमलाई जानकारी दिन्छन् । यस्तो बेवारिसे वक्तव्य जारी गरेर गर्ने अनि भोलि बैठकमा आउँदिन भन्न मिल्छ ?’ 

सभापति निरौलाले त्यसैको बीचैमा ‘मन्त्रीजी राखेरमात्र बैठक हुने’ बताइन् । 

रावलले भोलि बैठक बस्नु पर्ने र अहिले नै उक्त निर्णय हुनु पर्ने बताए ।  त्यसै बीचमा अर्का सांसद भट्टले भोली बिहान यही समय ८ः ३० बजे बैठक बस्दा हुने सुझाव दिए । 

त्यसपछि फेरि रावलले भने, ‘मन्त्रीजीले बहाना बनाउन पाइँदैन ।’

त्यसपछि समय पाएका मन्त्री ज्ञवाली केही आक्रोशित देखिए । ‘मन्त्रीको इन्ट्रिगिटीमाथि प्रश्न गर्न पाइँदैन,’ उनले भने, ‘आज राज्य व्यवस्था र यो समिति दुवैले निमन्त्रणा गरेका थिए । बीचमा दुवै समितिमा संयुक्त बैठक गर्ने भन्ने कुरा पनि आयो । तर, अन्त्यमा बैंठक छुट्टा–छट्टै भए ।’ 

उनले ‘मन्त्रीको के काम छ र ?’ भन्न नमिल्ने बताए । उनले आफ्नो व्यक्तिगत कामको लागि नभई अन्य कामको लागि व्यस्त भएको बताए । ‘विदेशमा रहेका नेपालीहरु समस्यामा छन् । संसदका अन्य समितिहरु पनि छन् । उनीहरुले पनि बोलाएका छन् । संसदका सबै समितिहरु समान हुन् । एउटामा जाने र अर्कोमा नजाने भन्ने होइन,’ उनले भने, ‘अन्य कामसँग तालमेल मिलाएर आउनु पर्छ ।’ 

मन्त्री ज्ञवालीले अहिलेको सरकार र आफूले कुनै पनि कुरामा आत्मसर्मपण नगर्ने उल्लेख गर्दै त्यस्ता शब्द असंसदीय भाषा भएको पनि बताए । ज्ञवाली बोलिरहँदा सांसद रेणुका गुरुङले सरकारले आत्मसमरपण गर्न खोजेको त होइन भन्ने प्रश्न गरेकी थिइन् । 

ज्ञवालीले रावलको प्रश्नमाथि फेरि जवाफ दिदै भने, ‘परराष्ट्रको विज्ञप्ति सबैभन्दा माथिल्ला तहबाट निकालिएको हो । यो कुनै प्रवक्ता, सचिव वा कुनै डिभिजनको मात्र भनाई होइन । यो परराष्ट्र मन्त्रालयको धारणा हो । भारतले पनि यस्तै विज्ञप्ति निकालेको छ । माननीयजीहरु जो मलाई गुगल गरेर बाहिरको देशको हेर्नुहोस् भन्दै छन्, म उनीहरुलाई अन्य देशमा के गर्छन् भन्ने विषयमा गुगल गरेर हेर्नुहोस् भन्न चाहन्छु ।’ 

ज्ञवाली बोलिसकेपछि अन्त्यमा फेरि रावलले आफूलाई छोटो समय चाहियो भन्दै बोले, ‘मन्त्री आए पनि नआए पनि बैठक हुन्छ । मन्त्री जिम्मेवार भए आउँछन् नभए आउँदैनन् । यो राष्ट्रियताको विषय हो । समितिको बैठक भोलि बस्नु पर्छ र बस्छ ।’ 

त्यसैबीच मन्त्री ज्ञवालीको बायाँपट्टी बसेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले साढे दुई घन्टापछि मुख खोले, ‘अन्य काम छ भने मन्त्री त्यो कामलाई सकेर अलिकति ढिला आए पनि हुन्छ । परराष्ट्रका सचिव र सहसचिवहरुलाई चाहि सुरुमै पठाए हुन्छ ।’ 

अन्त्यमा सभापति निरौलालले बैठक सोमबार बिहान ८ः३० बजे बस्ने निर्णय सुनाइन् र बैठक सकियो । 

...  

रावल र ज्ञवाली पूर्व एमालेमा पनि फरक गुटमा थिए । ज्ञवाली ओली खेमाका हुन् भने रावल माधव नेपाल पक्षधर हुन् । एमालेमा जसरी नै  नेकपामा पनि ओली र नेपाल गुटबीच सम्बन्ध धेरै मधुर छैन । अध्यादेश र प्रधानमन्त्री ओलीको राजीनामा माग प्रकरणले यसलाई तिक्तता झनै बढाएको जानकारहरु बताउँछन् । 

रावल र ज्ञवालीको राय बाझिएको यो पहिलोपटक भने होइन । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदबाट पारित गर्नु पर्ने भन्ने ज्ञवालीको धारणा छ भने रावल उक्त सम्झौता अमेरिकाले ल्याएको इन्डो प्यासिफिक रणनीति भित्र नरहेको भन्ने कुरामाथि विश्वस्त भएमात्र अगाडि बढाउन सकिने मान्छन् । 

रावलको नेतृत्वमा स्थायी समिति बैठकमा एमसीसी सम्झौताको धुँवाधार विरोध भएपछि नेकपाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा कार्यदल बनाएको थियो । जसमा रावल र ज्ञवाली सदस्य थिए । उच्च स्रोतका अनुसार उक्त तीन सदस्य कार्यदलको बैठकमा रावल र ज्ञवाली खनालको दायाँ र बायाँ बस्थें । बैठकमा प्रायः रावल र ज्ञवालीको वादविवाद हुन्थ्यो । खनालको काम त्यसलाई सुन्ने हुन्थ्यो । पार्टीमा ज्ञवालीभन्दा सिनियर नेता रावल प्रष्ट र खरो व्यक्तिका रुपमा प्रस्तुत हुन्छन् भने ज्ञवाली नरम भाषामा आफ्नो कुरालाई कुटनीतिक शैलीमा राख्छन् । 

एकै पार्टीका यी दुई खेमाका नेताहरुबीच आइतबारको बैठकमा देखिएको प्रश्न–उत्तर वा सवाल…–जवाफ कुनै पनि संसदमा सत्तापक्ष र प्रतिपक्षका नेताहरु बीच हुने टकराव भन्दा कम थिएन । 

लिपुलेक

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully