७ वर्षीया संक्रमितका बाबु भन्छन्- 'छोरी रोइरहन्छे, म सुन्‍नै सक्दिनँ'

मधु शाही

नेपालगन्ज — बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा सात वर्षीया बालिकादेखि ६० वर्ष उमेरका संक्रमितको उपचार भइरहेको छ । सात वर्षीयाका बाबु पनि संक्रमित छन् । उनी पनि आइसोलेसनमै छन् ।

आफ्नी सानी छोरीसँग छुट्टिएर अलग्गै बस्नुको पीडा उनले कान्तिपुरकी मधु शाहीलाई यसरी सुनाए :

आइतबार थ्रोट स्वाब परीक्षण गर्दा म र मेरी सात वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टि भयो । त्यसपछि हामी १५ जनालाई राति साढे १० बजेतिर एउटै एम्बुलेन्समा राखेर यहाँ ल्याइयो । त्यतिबेलासम्म छोरी मेरो काखमै थिई । ‘बाबा हामी कहाँ जाने ?’ उसले सोधिरहेकी थिई । मैले केही उत्तर दिन सकिरहेको थिइनँ । ऊ अझै डराइरहेकी छ ।

अस्पतालमा ल्याएपछि छोरीलाई र मलाई फरक कोठामा राखियो । छोरीले औंला छोड्न मानेकी थिइनँ । ऊ रुँदै कोठाभित्र गई । एउटै भवनमा विपरीत दिशाका कोठामा हामीलाई राखिएको छ । उसलाई एउटी महिलासँग राखिएको छ । छोरीले त्यो कोठाबाट बोलिरहेको, कराइरहेको, बाबा, अम्मी भन्दै चिच्याइरहेको सुन्छु । आइतबार राति १२ बजेतिर मलाई बोलाएकी थिई । छोरीको चिच्याहट सुनेर रातभरि सुत्न सकिनँ । छोरी चुलबुले स्वभावकी छे । खेल्न, खान, कार्टुन हेर्न मन पराउँछे ।

आजसम्म कहिल्यै आमाको काख छोडेर बसेकी छैन । घरमा एक्लै कहिल्यै बसिन । राति मेरो अँगालोमा निदाउने बानी थियो । अहिले त्यो कोठामा कसरी बसेकी होला, कोरोनाले भन्दा छोरीको चिन्ताले पिर लागेको छ ।

उता पत्नीले पटकपटक फोन गरेर छोरीको आवाज सुनाइदिनु भन्छे । म आफैं सम्पर्कमा छैन, सुतिरहेकी छ भन्दै झूटो बोल्छु । न छोरीको कोठामा खेलौना छ, न केही खाने कुरा । घरमा फलफूल, बिस्कुट, चक्लेट निकै खान्थी । आज (सोमबार) बिहान बिस्कुट चाहियो भन्दै कराइरहेको सुनेँ तर नर्स र कुरुवाले खासै वास्ता गरेनन् । मैले कुरुवासँग छोरीलाई बिस्कुट ल्याइदिनु भन्दा विवाद नै भयो । धेरै कराएपछि बिस्कुट र केही चक्लेट ल्याइदिए । उसलाई खेल्ने, रमाइलो गर्ने बालमैत्री वातावरण छैन । हिजैदेखि इन्टरनेट छैन ।

कम्तीमा टेलिभिजन या इन्टरनेट भएको भए ऊ कार्टुन हेरेर भुलिने थिई । रातभरि मच्छडले टोक्छ । यहाँ झुलसमेत छैन । म बस्ने कोठाको मूलढोका भाँच्चिएको छ । छोरी एकातिर, म अर्कोतिर । घरमा पत्नी एक्लै । छोरीलाई मसँगै राखिदिए पनि सम्झाउन पाउँथें । अभिभावकको साथमा हुँदा ढुक्क हुन्थी । आइसोलेसन हाम्रा लागि जेलजस्तै छ । ऊ चित्र भएका किताब हेर्न खुब मन पराउँछे तर यहाँ उसको मन भुलाउने न किताब छ, न खेलौना ।

आइसोलेसनमा राखिसकेपछि नागरिकले पाउनुपर्ने सबै सुविधा उपलब्ध गराउनुपर्ने हो । हामीलाई ज्वरो पनि आएको छैन । बिरामीको कुनै लक्षण छैन । संक्रमित टोल भएकाले आशंका लागेका व्यक्तिको थ्रोट स्वाब परीक्षण भइरहेको थियो । म पनि दुविधामा रहनुभन्दा जाँच गरिहालौं भनेर आफैं स्वाब दिन गएको थिएँ । गत शुक्रबार भेटिएका संक्रमितसँग मेरी छोरी कहिल्यै सम्पर्कमा आएकी थिइन, मैले पनि भेट गरेको थिइनँ । तर, रिपोर्ट पोजेटिभ देखियो ।

प्रकाशित : वैशाख २३, २०७७ १०:१३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कश्मीरी फोटोपत्रकारहरुलाई पुलित्जर पुरस्कार

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतका तीन जना फोटोपत्रकार विश्वकै प्रतिष्ठित पुलित्जर पुरस्कारबाट सम्मानित भएका छन् । भारत सरकारको गत वर्ष ५ अगस्टमा जम्मू–कश्मीरको विशेषाधिकारसँग सम्बन्धित संविधानको धारा ३७० खारेज गर्ने निर्णयपछि कश्मीर उपत्यकामा सिर्जित परिस्थितिमा आधारित उत्कृष्ट तस्बिरहरुका लागि उनीहरुलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत तीनै जना फोटोपत्रकार यासीन डार, मुख्तार खान र चन्नी आनन्द जम्मू–कश्मीर निवासी हुन् । उनीहरु तीनै जना अमेरिकी समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी)मा आबद्ध छन् । पुरस्कार सोमबार राति घोषणा गरिएको हो ।

भारत-पाकिस्तान सीमाबाट गतिविधि नियाल्दै बीएसफ जवान तस्बिर : चन्‍नी आनन्द/एपी

भारतको केन्द्र सरकारले धारा ३७० खारेज गर्नुका साथै उक्त राज्यलाई जम्मू–कश्मीर र लद्दाख गरी दुईवटा केन्द्र शासित प्रदेश (यूटी) मा टुक्राउने निर्णय गरेको थियो । धारा ३७० खारेजीको विरोधमा कश्मीर उपत्यकामा प्रदर्शन भएका थिए । त्यसो त सरकारले सम्भावित विरोध प्रदर्शनलाई रोक्न धारा ३७० खारेज हुनुअघि नै राज्यमा कफ्र्युमा लगाउने र स्थानीय राजनीतिज्ञहरुलाई पक्राउ गर्ने र नजरबन्दमा राखेको थियो । त्यसका बाबजुद पनि स्थानीयहरु प्रदर्शनमा उत्रिएका थिए । स्थानीय प्रशासनले महिनौंसम्म कफ्र्यु लगाएको थियो । र, टेलिफोन र इन्टरनेट सेवा समेत बन्द गरिएको थियो ।

गत डिसेम्बर ९ मा श्रीनगरमा प्रार्थना गर्दै स्थानीय तस्बिर मुख्तार खान/एपी

कतिपय प्रदर्शनमा हिंसात्मक झडप पनि भएका थिए । त्यस्तो तनावपूर्ण परिस्थितिमा पनि त्यहाँ रहेका सीमित पत्रकार र फोटोपत्रकारहरुले समाचार र तस्बिरहरु विभिन्न सन्चारमाध्यमका लागि सम्प्रेषण गरेका थिए । र, ती सामग्रीलाई भारतीय मात्र नभएर अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले पनि उच्च प्राथमिकता दिएका थिए । र, त्यस्ता सामग्री पस्किने कुरामा पुरस्कृत फोटोपत्रकारहरुका अग्रमोर्चामा थिए ।

मास्क लगाएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रहरीको गाडीमा तोडफोड गर्दै तस्बिर : डार यासिन/एपी

उनीहरुका तस्बिरहरु धारा ३७० खारेजीपछिको कश्मीर उपत्यका र त्यहाँको जनजीवनमा आधारित थिए । सन् १९१७ मा स्थापना गरिएको पुलित्जर पुरस्कार हरेक वर्ष विश्वभरका पत्रकारिता, नाटक र संगीतको क्षेत्रमा योगदान पुऱ्याए प्रदान गरिँदै आएको छ ।

प्रकाशित : वैशाख २३, २०७७ १०:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×