चितवन — कर्मचारीले नै सामानहरु ओसार्दै गरेको भिडियो सार्वजनिक भएपछि भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाको टोलीले छापा मारेको छ ।
मंगलबार दिउँसो तीन बजेतिर अख्तियारको टोली अस्पताल परिसर छिरेर विभिन्न विषयमा सोधपुछ सुरु गरेको हो । यस विषयमा अख्तियारले थप विवरणहरु बाहिर ल्याएको भने छैन ।
चैत ७ गतेदेखि सञ्चालनमा आएको सो अस्पताल भरतपुर महानगरपालिकाको तत्वधानमा तयार भएको थियो । चैत २१ गते सो अस्थायी अस्पताल पनि भरतपुरको सरकारी अस्पताल मातहत सञ्चालन हुने निर्णय भएको थियो । सरकारी अस्पतालले बैशाख १ गतेदेखि त्यहाँको व्यवस्थापन सम्हालेको हो । कर्मचारीहरुले सामानहरु ओसारेको भिडियो सोमबार र्साजनिक भएको थियो । अस्पताल पक्षले भने सामान चोरी भएको नभई प्रकृयाअनुरुप सामानहरु ओसारेको दाबी गर्दै आएको छ । बुझबुजारथका क्रममा भएको सामान ओसारपसारको भिडियो दृश्यलाई ‘नियतवस अतिरञ्जित तरिका’ले सार्वजनिक गरिएको अस्पताल व्यवस्थापनले दावी गरेको छ ।
अस्पतालको सामानहरु ओसारेको दृश्य सञ्चारमाध्यमहरुमा आएपछि सत्यतथ्य छानबिन हुनु पर्ने माग उठेको थियो । नेपाली कांग्रेस चितवनले यस्तो माग गर्दै मंगलबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको छ ।
भरतपुर अस्पतालका कर्मचारी फणिन्द्र खानाल र सञ्जय बराल तथा भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले समानहरु प्याक गरेको र बाहिर लगेको दृश्य भिडियोमा कैद भएको छ । ‘हामीले दिनरात खटेर काम गरेको हो । काम गर्नु पर्ने निश्चित समय थिएन । कार्यदलले केही सामाग्रीहरु लैजानु भनेपछि हामीले रातमा पनि निकालेर सम्बन्धित ठाउँसम्म पुर्याएको हौं,’ अधिकृत सूर्य तिवारीले भने ।
अस्पताल सञ्चालनमा आएसँगै कोरोना नियन्त्रण कार्यादल निर्माण भएको थियो । कार्यादलका सदस्यसचिवको आदेशअनुसार नै आफूहरुले काम गरेको तिवारीले बताए । कार्यादलका सदस्यसचिव एवं भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले पनि कोरोना अस्पतालमा रहेका केही सामाग्रीहरु कार्यदलमार्फत् प्रयोगमा आउने गरेर बाहिर राखेको बताए ।
‘अस्थायी अस्पतालमा भएका सामाग्रीहरुमध्ये ३० प्रतिशत झिकेर भरतपुरको कोराना नियन्त्रण कार्यादलमार्फत् आवश्यक परेको ठाउँमा दिने भन्ने निर्णय अनुसार केही सामानहरु झिकिएका हुन्,’ डा.अधिकारीले भने । सिसिटिभीको फुटेजमा देखिएको समान ओसारेको दृश्य त्यही भएको उनको दाबी छ ।
कोरोना नियन्त्रण कार्यादलले पनि मंगलबार प्रेस विज्ञप्ति निकालेर यही कुरा भनेको छ । ‘कार्यदलका सामाग्री ओसारपसार र स्टोर गर्ने समय प्रकृयाको सिसिटिभी फुटेज लिक भएको हो,’ विज्ञप्तिमा भनिएको छ । कार्यादलको बैठकमा यो विषयमा कुरा उठेपछि छानबिन गर्न भन्दै तीन सदस्यीय छानबिन टोली पनि बनाएको विज्ञप्तिमा जनाइएको छ ।
नेपाली कांग्रेस चितवनले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई बुझाएको ज्ञापनपत्रमा सर्वपक्षीय अधिकार सम्पन्न छानबिन समिति गठन गर्न माग गरिएको छ । कांग्रेसले अधिकार सम्पन्न समिति बनाएर अस्पतालको हालसम्मको खर्च विवरणहरुको पनि छानबिन गर्न माग गरेको छ ।
भिडियोमा देखिएका कर्मचारीहरु निलम्बन हुनु पर्ने पनि कांग्रेसले माग गरेको छ । कार्यदलको सोमबारको बैठकमा चैत महिनासम्म एक करोड २६ लाख रुपैयाँ खर्च भएको विवरण पेश गरिएको थियो ।
