रौतहटका थप दुई जनामा कोरोना संक्रमण

एक जना क्वारेन्टाइनबाट घर गइसकेका थिए

वैशाख १६, २०७७

रौतहट — रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको वृन्दावन नगरपालिकाका २४ वर्षीय युवक र देबाही गोनाही नगरपालिकाका ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गौरले जानकारी दिएको छ ।

जनकपुरको ल्याबबाट नेगेटिभ रिपोर्टका आएको भन्दै वृन्दावनका संक्रमित वैशाख ६ गते घर गइसकेका थिए । भारतको दिल्लीमा काम गरेर चैत १७ गते नेपाल आएका उनी २२ गते चन्द्रपुर–६ स्थित महिला फुटबल एकेडेमीमा स्थापना गरिएको क्वारेन्टाइनमा बसेका थिए । ४ दिनपछि उनको स्वाब टेस्टका लागि जनकपुर पठाइएको थियो । त्यहाँबाट २९ गते नेगेटिभ रिपोर्ट आएको चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मातृका चालिसेले बताए ।

‘त्यही आधारमा हामीले उनलाई छाड्यौं । पीसीआर रिपोर्टकै भरमा वैशाख ६ गते घर पठायौं,’ उनले भने, ‘काठमाडौंबाट फेरि पोजिटिभ रिपोर्ट आएको छ ।’ दुई साता क्वारेन्टाइनमा बसेका युवकलाई जनकपुरकै रिपोर्टको भरमा घर पठाइएको थियो । 

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा  गरिएको पीसीआर परीक्षणमा दुवैमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय गौरका अधिकृत महेश साहले दुवै जनाको पछिल्लो रिपोर्ट पोजिटिभ आएको पुष्टि गरे । 

देवाही गोनाहीस्थित क्वारेन्टाइनमा बसेका करुनियाका संक्रमित ३५ वर्षीय पुरुष भने भारतको कोलकाताबाट लकडाउनकै क्रममा चोरबाटो हुँदै वैशाख ६ गते नेपाल आएका थिए । त्यही दिन उनलाई क्वारेन्टाइनमा राखिएको हो । तीन दिनअघि उनको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो । त्यहाँ गरिएको पीसीआर परीक्षणमा नतिजा पोजिटिभ आएको हो । ७ जनाको समूहमा रहेका उनीहरुमध्ये उनको मात्र रिपोर्ट पोजिटिभ देखिएको हो ।

देबाहीका स्वास्थ्य शाखा प्रमुख नागेन्द्र कुशवाहाले सर्लाहीका १४ वर्षीय एक किशोरसँगै उनीहरु दिल्लीबाट नेपाल आएको बताए ।  यसअघि कोरोना संक्रमण पुष्टि भएका रौतहटका १९ वर्षीय युवक वीरगन्जस्थित नारायणी अस्पतालमा उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यसरी आए नेपाल

वृन्दावन–९ स्थित भुसाहा गाउँका २४ वर्षीय पुरुष भारतको दिल्लीमा झोला कारखानामा काम गर्थे । भारतका विभिन्न सहरहरुमा कोभिड–१९ को संक्रमण फैलिएपछि उनी घर फर्कने जमर्को गरे । तर भारतमा पनि लकडाउन भएकाले खाद्यान्न बोक्ने ट्रयाक्टर र केही स्थानमा पैदल हिँडेर सीमामा आए । त्यहाँको चोरबाटो हुँदै चैत १७ गते नेपाल प्रवेश गरे । उनीसँगै अन्य चारजना थिए । ४ दिन घर बसेपछि स्थानीयले थाहा पाएर उनीहरुलाई वैशाख २२ गते चन्द्रनिगाहपुर क्वारेन्टाइनमा ल्याएका थिए ।

देबाही गोहनीका ३५ वर्षीय पुरुष पनि दिल्लीमै झोला कारखानामा काम गर्थे । उनी दिल्लीबाट एम्बुलेन्समा सहयोग मागेर चैत १८ गते बिहारको ढाका आई केही समय त्यहीँ लुकेर बसेका थिए । त्यसपछि हिँडेर वशाख ५ गते नेपाल प्रवेश गरेका थिए । उनको ससुराली करुनिया भएकाले त्यतैतिर लाग्ने क्रममा लालबकैया नदीको किनारमा बसेका बेला त्यहाँका वडाअध्यक्ष सेख निरुल्लाहले देखेर सोधपुछ गरेपछि क्वारेन्टाईनमा ल्याइएको थियो । उनी १० दिनदेखि क्वारेन्टाइनमै बसेका छन् । स्थानीय प्रशासनले संक्रमित दुवैलाई आइसोलेसनमा लैजाने तयारी गरिरहेको छ । 

यससँगै नेपालमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै अहिलेसम्म १६ जना निको भएर घर फर्किसकेका छन् । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस

Link copied successfully