बाँकी ३५ जनाको स्वास्थ्य अवस्था सामान्य
काठमाडौँ — नेपालमा कोरोना संक्रमण पुष्टि भएका मध्ये १६ जना निको भएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङका क्रममा कोरोना संक्रमणपछि निको हुनेको संख्या १६ पुगेको जनाएको हो ।
आइतबार थप ४ जना निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १६ पुगेको हो ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नारायणी अस्पतालमा उपचाररत रौटहटका १९ वर्षीय युवक १२ औँ दिनमा र भारतीय धर्म प्रचारक जमाती समूहका ३ जना पुरुष १५ औँ दिनमा निको भएर घर फर्किएको बताए ।
यस्तै,आइतबार थप २ जना नयाँ संक्रमित भेटिएपछि कोरोना संक्रमितको संख्या मुलुकभर ५१ पुगेको छ ।
संक्रमतिमध्ये धनगढीमा १ जना, वीरगन्जमा ३ जना, भरतपुरमा १ जना र विराटनगरमा ३० जना उपचाररत रहेका छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै शनिबारसम्म नेपालमा आरडीटी विधिबाट ४१ हजार ४ सय ३६ नमुना परीक्षण भएका छन् भने पीसीआर विधिबाट ९ हजार ९ सय ३१ परीक्षणहरु भएका छन् । कुल दुवै विधिबाट ५१ हजार ३ सय ६७ वटा परीक्षणहरु भएका छन् ।
हाल मुलुकभर आइसोलेसनमा ११० जना रहेको मन्त्रालयले जनाएको छ । काठमाडौँमा ६ जना आइसोलेसनमा छन् भने उपत्यका बाहिर १०४ जना रहेका छन् । क्वारेन्टाइनमा १७ हजार २५ जना रहेको मन्त्रालयले बताएको छ ।
