कोरोना संक्रमितको संख्या ५१ पुग्यो, वीरगन्जमा थप २ जनामा संक्रमण पुष्टि

वैशाख १४, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५१ पुगेको छ । आइतबार पर्सामा दुई जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या ५१ पुगेको हो ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्साको वीरगन्ज निवासी दुई जना ५० वर्षीय पुरुषहरुमा संक्रमण देखिएको हो । उनीहरुको स्वास्थ्‍य अवस्था सामान्‍य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमण पुष्टि भएका दुवै जना वीरगन्ज महानगरपालिका छपकैयाका बासिन्दा हुन् । छपकैयाको मस्जिदमा बसेका तीनजना भारतीय संक्रमितको सम्पर्कमा आएकाहरुको स्वाब लिइ पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा दुईजनामा पोजिटिभ देखिएको हो । 

दुवैजनालाई नारायणी अस्पतालको आइसोलेसनमा ल्याइएको छ । यीमध्ये एकजना महानगरका सफाइ कर्मचारी हुन् । अर्का व्यक्तिलाई सिद्धार्थ माविको क्वारेन्टाइनबाट आइसोलेसनमा ल्याइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

अस्पतालबाट आजै चारजना संक्रमितलाई डिस्चार्ज गर्ने तयारी भइरहेको छ, जसमा तीनजना जमाती छन् ।

संक्रमितमध्‍ये हालसम्म १२ जना निको भएर घर फर्किएको पनि मन्त्रालयका सह-प्रवक्ता अधिकारीले जानकारी दिएका छन् । 

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully