कोरोना संक्रमण पुष्टि भएकाहरु एकै गाउँका भएकाले आफूहरुको समेत स्वाब संकलन तत्काल गर्न छिमेकीहरुले माग गरेका छन्।
मोरङ — आफूहरुको स्वाब संकलन नगरिएको भन्दै उदयपुरको भुल्केका बासिन्दाले गुनासो गरेका छन्। गाउँमा तीन दिन स्वाब संकलन गरिए पनि तीनैदिन लाइनमा बस्दा पनि स्वाब नलिएको त्रियुगा नगरपालिका-३ भुल्केका नन्दराज धामीले बताए।
‘परिवारमा जम्मा दुई सदस्य भए पनि किन स्वाब परीक्षण हुन सकेको छैन?’ उनले भने, ‘हामी कोरोना भाइरसको अति उच्च जोखिममा छौं।’ छिमेकीहरुको स्वाब परीक्षण गरिए पनि बीचमा घर भएको आफूहरुको परीक्षण नगरिएको धामीको भनाइ छ।
स्थानीय विष्णु थापाको पनि हालसम्म स्वाब परीक्षण हुन सकेको छैन। ‘हालसम्म फेला परेका संक्रमितहरु एकै गाउँठाउँका भएकाले रातदिन सँगै हुन्थ्यौं,’ उनले भने, ‘सँगै बस्नेहरु संक्रमित भएकाले हामी पनि संक्रमणको उच्च जोखिममा परेका छौं। तर स्वाब परीक्षण गराइदिन माग गरे पनि सुनुवाइ हुन सकेको छैन।’
उनीहरु जस्तै भुल्केका स्वाब परीक्षण गराउन नपाएका परिवारका सदस्य तनावमा छन्। संक्रमित फेला परेदेखि नै स्थानीय प्रशासनले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त सुरक्षा टोली परिचालन गरेर भुल्केलाई सिल गरेको छ। गाउँभित्र एक घरबाट अर्को घर जान नपाउने व्यवस्था गरिएको छ।
वैशाख ५ गते गाउँकै नुरी मस्जिदमा बसेका ११ जना भारतीय र १ एकजना विराटनगरवासीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि प्रदेश १ सरकारले स्वाब संकलनका लागि टोली पठाएको थियो। उक्त टोलीले संक्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा ६० जना स्थानीय र ९ जना कर्मचारीको स्वाब संकलन गरेको थियो। बैसाख ७ र ८ नेपाली सेनाको सहयोगमा थप २ सय ५१ जनाको स्वाब संकलन गरियो।
स्वाब संकलन गरिएमध्ये हालसम्म २ महिलासहित २८ जना संक्रमित भएको पुष्टि भइसकेको छ।
स्थानीय मुस्लिम टोल विकास समितिका सचिव मोहम्मद अनिस राइनले मस्जिद भएको टोलस्थित ५३ मुस्लिम घरधुरीमा २ सय ८२ जना रहेको बताए। ‘२ सय ८२ मध्ये रोजगारीका लागि बाहिर गएका ३५ जना र १० वर्षमुनिका २४ बालबालिकाबाहेक २ सय ५ जनाको स्वाब संकलन गरी परिक्षण भइरहेको छ,’ उनले भने, ‘गाउँका हिन्दु समुदायबाट पनि १ सय ६ जनाको स्वाब परीक्षण भएको तर अझै धेरै परिवारको परीक्षण गर्न बाँकी छ।’
स्थानीय यदुनाथ दाहालले गाउँमा तीन दिन गरिएको स्वाब संकलन पहुँचका आधारमा भएको आरोप लगाए। ‘प्रत्येक परिवारबाट एकएक जनाको मात्रै स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीहरुले सुनाएका थिए,’ उनले भने, ‘छिमेकी नै संक्रमित भएकाले परिवारका प्रत्येक सदस्यको स्वाब परीक्षण गराइदिन भने पनि छोरीको हालसम्म हुन सकेको छैन।’
संक्रमित भएकाहरु गाईघाट बजारस्थित घरघरमा तरकारी पुर्याएर बिक्री गर्दै आएकाले बजारवासीसमेत त्रासमा छन्। ‘भुल्केका संक्रमित परिवारका महिलाहरु गाईघाट लगायतका छिमेकी गाउमामा घुमेर चुरा, लहठी बेच्दै आएकाले उनीहरु पनि तनावमा छन्,’ गाईघाटका वसन्त बस्नेतले भने, ‘भुल्केका प्रत्येक व्यक्तिको र गाईघाटलगायत वरिपरिका गाउँमा स्वाब परीक्षण गरिदिए तनावमुक्त भइन्थ्यो।’
त्रियुगा नगरपालिका-३ का अध्यक्ष अवधेशकुमार चौधरीले ३ सय घरधुरी रहेको भुल्केमा कुल १५ सय जनसंख्या रहेको बताए। ‘हालसम्म ३ सय हाराहारीमात्रै स्वाब संकलन हुन सकेको छ,’ उनले भने, ‘गाउँका प्रत्येक व्यक्तिको स्वाब परीक्षण भइदिए हामी निश्चिन्त हुन थियौं।’ भीटीएम अभावमा स्वाब संकलनको काम रोकिएकाले पहल भइरहेको उनले दाबी गरे।
जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले भुल्केवासी, नुरी मस्जिदमा आउनेहरु, गाईघाट र वरिपरिका गाउँका करिब ३ हजार व्यक्तिको स्वाब परीक्षण तत्काल आवश्यक रहेको बताए। ‘स्वाब संकलन गर्नुपर्ने संख्या ३ हजार छ तर मुख्यमन्त्रीज्युले शनिबार हेलिकप्टरमा आएर ९५ वटा भीटीएम दिएर जानुभयो,’ उनले भने।
संघीय सरकारले प्रदान गरेको भीटीएम लगायतका उपकरण प्रदेश १ भरि वितरण गर्ने जिम्मा प्रदेश १ प्रयोगशालाका निर्देशक जयबेन्द्र यादवलाई दिइएको छ। शनिबार प्रदेश १ मा १ हजार भीटीएम प्राप्त भएको यादवले बताए। ‘१ हजारबाट मधेसका जिल्लालाई १/१ सयका दरले र पहाडी जिल्लामा २०/२५ वटाका दरले उपलब्ध गराएका छौं,’ उनले भने, ‘बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालको पीसीआर ल्याबमा स्वाब परीक्षण भइरहेकाले ती दुई ठाउँमा पनि भीटीएम पठाएका छौं।’
भीटीएमको आवश्यकता धेरै रहेको तर आपूर्ति थोरै रहेकाले समस्या भएको यादवको भनाइ छ।
शनिबार भुल्के पुगेका प्रदेश १ का प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले तत्काल भीटीएमको व्यवस्था गरी स्वाब परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
