तत्काल लकडाउन खुकुलो बनाउने परिस्थिति नभएको उच्चस्तरीय समितिको निष्कर्ष, उडानको प्रतिबन्ध जेठ २ सम्म

लकडाउनको मोडालिटी तयार गर्ने जिम्मा मुख्सचिव नेतृत्वको कार्यदललाई

वैशाख १३, २०७७

बिनु सुवेदी

काठमाडौँ — कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको छ । देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको समितिले निष्कर्ष निकालेको हो । 

केहीबेरअघि सिंहदरबारमा सकिएको बैठक लकडाउन घटाउने वा जारी राख्ने भन्नेबारे ठोस निश्कर्षमा भने नपुगेको समितिका एक सदस्यले बताए । वैशाख १५ गते लकडाउनको अवधि सकिदैछ । यसबारे निर्णय गर्न आइतबार मन्त्रिपरिषद् बैठक बस्दैछ ।  

'केही जिल्लामा खासगरी हिमाली क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसँग सल्लाह गरी ती जिल्लाका लागिमात्रै केही निर्णय गर्न सकिन्छ कि भन्ने पनि कुरा भएको छ,' उनले भने । 

शुक्रबारको मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटीबारे छलफल गरेर सिफारिस गर्न निर्देशन दिएका थिए । समितिले त्यसअनुसार मोडालिटी तयार पार्ने जिम्मा मुख्यसचिवको नेतृत्वमा रहेको सचिवहरु सम्मिलित कार्यदललाई दिएको छ । समितिमा भएका छलफलका आधारमा यो कार्यदलले मोडालिटी तयार पार्नेछ । यसको अन्तिम टुंगो मन्त्रिपरिषद्‍ले लगाउनेछ । 

हवाई उडानको प्रतिबन्ध जेठ २ गतेसम्म

लकडाउनसँगै सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध जेठ २ गतेसम्म कायम गर्न समितिले सिफारिस गरेको छ । सरकारले वैशाख १८ गतेसम्म हवाई उडानमा प्रतिबन्ध लगाएको छ । 

उच्चस्तरीय समितिका सदस्य सचिव तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडानको प्रतिबन्ध जेठ २ गतेसम्म कायम गर्ने निर्णय समितिले गरेको बताए । 

लकडाउनकोरोना भाइरस

बिनु

Link copied successfully