भुल्केका थप ८ जनामा कोरोना संक्रमणको पुष्टि, उदयपुर जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भुल्केका थप ८ जनामा कोरोना संक्रमणको पुष्टि, उदयपुर जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय

उदयपुरमा संक्रमित हुनेको संख्या २२, संक्रमित हुनेमा ११ भारतीय र ११ नेपाली
देवनारायण साह

(मोरङ) — उदयपुरको भुल्केमा थप ८ जनामा कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएसँगै प्रदेश सरकारले मंगलबारबाट पुरै जिल्लालाई चारैतिरबाट सिल गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि यस्तो निर्णय गरेको हो ।

कोसी अञ्चल अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेनन्‍ट संगीता मिश्रले ८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइन् । कोसी अस्‍पतालमा स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि परीक्षण गरिएको थियो । मंगलबार गरिएको पुन: परीक्षणमा पनि पोजिटिभ देखिएको मिश्रले बताइन् ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा उदयपुरबाट अन्य जिल्लामा पनि संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउनका साथै सिल गर्ने निर्णय गरिएको बताए ।

‘उदयपुर जिल्लाभित्र पूर्ण रुपमा लकडाउन गर्ने र जिल्लाको सबै नाका सिल गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘जिल्ला सुरक्षा समितिको निर्णय गरी सर्वदलीय संयन्त्रको साथ सहयोगमा जिल्लालाई पूर्ण लकडाउन र सिल गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छौं ।’

स्थानीय प्रशासनले जिल्लाभरी लकडाउन गरिसकेको र जिल्ला पनि सिल गर्ने तयारी गरिररहेको जानकारी आएको मन्त्री कार्कीले बताए ।

मस्जिदमा बसेका १२ जनामा संक्रमण देखिएसँगै मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी ६९ जनाको थ्रोट स्वाबको नमुना शनिबार संकलन गरिएको थियो ।

कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको र ८ जनामा कोरोना संक्रमण देखिएको थियो । एकजनाको रिपोर्ट आउन बाँकी छ ।

थप यकिन गर्न आठजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्दासमेत संक्रमण देखिएको पुष्टि भएको प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

यससँगै भुल्केमा संक्रमितको संख्या २२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ र विराटनगर–१७ का एकजनामा शुक्रबार नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । विराटनगरका एकजनामा शनिबार संक्रमण भेटिएको थियो ।

नेपाली सेनाको सहयोगमा मस्जिद भएको बस्ती वरपरका २ सय ५१ जनाको थ्रोट स्वाबको नमुना संकलन गरी परीक्षणका काठमाडौं लगिएकोमध्ये एकजनामा संक्रमण भेटिएको छ ।

मन्त्री घिमिरेले अब भुल्केका प्रत्येक व्यक्तिको स्वाब नमुना परीक्षण गर्ने नीति लिएको बताए । ‘कन्ट्याक्ट ट्रेसिङमा नुरी मस्जिदमा आएका अनय मस्जिदका ३५ जना धर्म गुरु बसेका अन्य ६ मस्जिद भएको बस्तीको समेत स्वाब नमूना परीक्षण गर्ने अवस्था आएको छ,’ उनले भने, ‘मस्जिद भएको बस्तीबाट अन्य बस्तीमा कोरोनाको संक्रमण फैलिन नदिन पहिले पूर्णरुपमा लकडाउन र सिल गर्ने नीति लिएका छौं ।’ लकडाउन र सीलपछि क्रमिक रुपमा थ्रोट स्वाबको नमुना संकलन गरी परीक्षण गर्ने उनको भनाइ थियो ।

उनले भुल्केमा लकडाउन हुनु एक हप्ता अगाडिदेखि को-को कहाँ गएको र को को कहाँबाट आएको तथ्यांक लिने काम भइरहेको बताए । उक्त तथ्यांकका आधारमा स्वाब परीक्षण गरेर संक्रमण फैलिने कारण र व्यक्ति पत्ता लगाउने नीति लिएको घिमिरेले जानकारी दिए ।

प्रकाशित : वैशाख ९, २०७७ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्

सुदूरपश्चिमका पहिलो संक्रमित पनि डिस्चार्ज

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित ३४ युवक मंगलबार साँझ सञ्चो भएर अस्पतालबाट घर फर्किएका छन् । 

धनगढी उपमहानगरपालिका–५ घर भएका उनी ३० दिनअघि अस्पताल भर्ना भएका थिए । लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरेको अस्पतालका प्रवक्ता डा जगदीश जोशीले बताए । दुबईबाट आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए । चैत १४ गते कोरोना पुष्टि भएको थियो ।

यसअघि तीनपटक परीक्षण गर्दासम्म पोजिटिभ देखिएको भए पनि चौथो पटकदेखि नेगेटिभ रिपोर्ट आएको हो । उनीसहित पाँच जना संक्रमितको उपचार भइरहेको सेतीबाट आइतबार लम्कीका २१ वर्षीय युवक पनि निको भएर डिस्चार्ज भएका थिए । अन्य तीन जना संक्रमितको भने उपचार भइरहेको छ । तीमध्ये आइतबार डिस्चार्ज भएका युवाकी भाउजुको भने उपचार भइरहेको छ ।

प्रकाशित : वैशाख ९, २०७७ १८:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×