अध्यादेशले राजनीतिक अस्थिरता र बाह्य चलखेल निम्त्याउँछ : नेता रावल

वैशाख ८, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले सरकारले ल्याएका अध्यादेशले राजनीतिक अस्थिरता ल्याउने भन्दै खारेज गर्न माग गरेका छन् । मन्त्रिपरिषद्बाट पास भएर राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि नेता रावलको प्रतिक्रिया आएको हो । 

नेता रावलले विधेयकलाई अनिष्टकारीको संज्ञा दिएका छन् । उनले भनेका छन्, 'कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकताबद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषद्‌मा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्नेगरी अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकारी हो ।'

राजनीतिक स्थिरता भएको र बाह्य चलखेल बन्द गर्ने राजनीतिक दलसम्बन्धी कानुनलाई सरकारले चलाउनु दुखद्  रहेको रावलको भनाइ छ । 'देशमा राजनीतिक स्थायित्व कायम गरी बाह्य चलखेल बन्द गर्ने ध्येयले राजनीतिक दलहरूका बीच निकै लामो छलफल र परामर्श पछि सहजै पार्टी फुटाउन नसकिने गरी राजनीतिक दलसम्बन्धी कानुन ल्याइएको थियो,' उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, 'तत्कालीन नेकपा एमालेको निकै ठूलो प्रयासपछि संवैधानिक परिषद्मा विपक्षी दलको नेता रहने धारणाले संविधानमा स्थान पाएको थियो । यसकाविरुद्ध ल्याइएका यी दुवै अध्यादेशले देशलाई पुनः राजनीतिक अस्थिरता र बाह्य चलखेलको चरणतर्फ धकेल्ने खतरा उत्नपन्न भएको छ । यस्ता अनिष्टकारी अध्यादेश खारेज हुनुपर्छ ।'

सम्बन्धित समाचारः

कान्तिपुर

Link copied successfully