सचिवालयमा प्रधानमन्त्रीले अध्यादेशको आवश्यकताबारे ब्रिफिङ गर्नुभयो : प्रवक्ता श्रेष्ठ
काठमाडौँ — नेकपाको सचिवालय बैठक सकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।
सोमबार मन्त्रिपरिषद बैठकले गरेको निर्णयका बारेमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो ।
मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त प्रस्ताव बालुवाटारमा सचिवालय बैठक बसिरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारी जारी गरेकी छन् ।
उक्त अध्यादेशले नेकपामा ठूलै हलचल ल्याएपछि सचिवालय बैठक बोलाईएको थियो ।
सचिवालय बैठकमा संवैधानिक परिषद्को नियुक्तिहरु अड्किएको र अरु पनि त्यस्तै विषय भएकाले यसलाई ठूलो रुपमा लिनु हुँदैन भन्ने ब्रिफिङ प्रधानमन्त्रीले गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार अध्यादेशबारे अन्य कोणबाट पनि गम्भीर छलफल भएको बताए । सरकारले आज जारी गरेको अध्यादेशबारे बैठकमा प्रधानमन्त्रीले औचित्य पुष्टि गर्ने कोशिस गरेका थिए । त्यो अध्यादेशको विषय गम्भीर राजनीतिक महत्व भएकाले जारी हुनपूर्व पार्टीमा छलफल नभएकाले बैठक बसेको प्रवक्ता श्रेष्ठले बताए ।
बैठकमा सचिवालयका सबै सदस्यले गम्भीरतापूर्वक आफ्ना विचार राखेको र महत्वका साथ छलफल भएको श्रेष्ठले बताए । यस्तै बैठकले यस्ता महत्वपूर्ण निर्णय गर्नुपूर्व पार्टीमा छलफल गर्नुपर्ने निष्कर्श निकालेको पनि उनले बताए ।
