विराटनगर — दुईजना निको भएर अस्पतालबाट डिस्चार्ज भएकै दिन नेपालमा थप एकमा कोभिड १९ (कोरोना भाइरस) संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।
उदयपुरको त्रियुगास्थित एक मस्जिदबाट ल्याइएकामध्ये थप एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएका व्यक्ति विराटनगरका ६५ वर्षीय वृद्ध रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
विराटनगरस्थित कोसी अस्पतालमा गरिएको पीसीआर विधिको परीक्षणबाट संक्रमण पुष्टि भएको हो । उदयपुरबाट शुक्रबार मध्यराति ल्याइएका १६ मध्ये संक्रमण पुष्टि भइसकेका १२ जनालाई कोभिड १९ उपचार केन्द्रमा राखिएको थियो । उनीहरुसँगै बसेका ४ जनालाई भने मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको थियो ।ती चार जनामध्ये एकजनाको रिपोर्टमा शंका लागेर पुनः नमुना परीक्षण गर्दा कोरोना पोजिटिभ पाइएको कोसी अस्पताल स्रोतले जनाएको छ । ती संक्रमितलाई शनिबार क्वारेन्टाइनमै सुरक्षित राख्न भनिएको छ ।
आइतबार उनलाई विराटनगरको कोभिड उपचार केन्द्रमा राखिएको आइसोलेसन वार्डमा भर्ना गरी उपचार गरिने जनाइएको छ । यसअघि शुक्रबार संक्रमण पुष्टि भएकामा ११ जना भारतीय र एकजना नेपाली नागरिक थिए ।
आज शनिबार नै काठमाडौंको टेकु अस्पतालबाट एक र बाग्लुगङस्थित धौलागिरि अञ्चल अस्पतालबाट एकजना निको भएर डिस्चार्ज भएका छन् ।
