कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आपत्‌मा सघाउँदै आविष्कार केन्द्र

स्वास्थ्य सामग्री किन्नसमेत नपाइएका बेला राष्ट्रिय आविष्कार केन्द्रले एरोसोल बक्स, कोरोना बुथ र इमर्जेन्सी भेन्टिलेटर बनाएर अस्पतालहरूलाई नि:शुल्क वितरण गरिरहेको छ ।
सरकारी अस्पतालमा बिग्रिएर थन्किएको भेन्टिलेटरसमेत बनाएको छ । संक्रमित बिरामी भएको ठाउँसम्म औषधि र खानेकुरा पठाउने रोबोट निर्माण पनि अन्तिम चरणमा पुर्‍याएको छ ।
मकर श्रेष्ठ

काठमाडौँ — मनमोहन मेमोरियल अस्पतालका एक कर्मचारी कोरोना बुथ चाहियो भन्दै बिहीबार बिहान साढे ११ बजे राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुर पुगे । तयार हुन बाँकी रहेको भन्दै केन्द्रका कर्मचारीले फर्काउन खोजे तर ती कर्मचारी फर्केनन् । कति बेला तयार हुन्छ, त्यतिन्जेल बस्छु र लिएरै जान्छु भने । अस्पतालका कर्मचारीको अड्डीका अगाडि केन्द्रका कर्मचारीको केही लागेन, ४ बजे आउन भने । अनि ती कर्मचारी फर्किए ।

आपत्‌मा सघाउँदै आविष्कार केन्द्र

केन्द्रमा पीपीई माग्न आउने एम्बुलेन्स चालक पनि उत्तिकै थिए । केन्द्रले अस्पतालको चिठीबिनै लाइसेन्सको फोटोकपी, एम्बुलेन्स नम्बर र संस्थाको नाम टिपाएकै आधारमा पीपीई उपलब्ध गराउने गरेको छ । ‘बिनाझन्झट पैसा नतिरी पीपीई पायौं,’ आनन्द वन अस्पतालका एम्बुलेन्स चालकले भने, ‘किन्नसमेत नपाइने यस्तो सामान पायौं, अब अलि सुरक्षित हुने भइयो ।’

केन्द्रका अनुसार मुलुकभरका ३ सयभन्दा बढी एम्बुलेन्स चालकलाई पीपीई वितरण गरिसकिएको छ । केन्द्रले चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई समेत पीपीई उपलब्ध गराउँदै आएको छ । केन्द्रको पछिल्लो उत्पादन कोरोना बुथ हो । यसबाहेक पीपीई, एरोसोले बक्ससमेत बनाएर अस्पताललाई नि:शुल्क वितरण गरिरहेको छ । वर्षौं बिग्रिएर थन्किएको सरकारी अस्पतालको भेन्टिलेटरसमेत बनाइसकेको केन्द्रका बायोमेडिकल इन्जिनियर सञ्जयबहादुर सिंहले बताए ।

केन्द्रका प्राविधिकहरू कोरोना संक्रमित बिरामी भएको ठाउँसम्म औषधि र खानेकुरा पठाउने रोबोट बनाउने प्रयासलाई पनि अन्तिम रूप दिइरहेका छन् । चिकित्सक र स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यकता के हो, त्यही बनाइरहेका छौं,’ मेकानिकल इन्जिनियर रितेश देवले भने, ‘संक्रमित बिरामीबाट उहाँहरूलाई सुरक्षित बनाउने हाम्रो प्रयास हो ।’

केन्द्रले कोरोना (कोभिड–१९) भए/नभएको पत्ता लगाउन बिरामीको स्वाब परीक्षण गर्ने चिकित्सकलाई सुरक्षित राख्न केन्द्रले बुथ निर्माण गरेको छ । जुन बुथ मागअनुसार बनाउन हम्मेहम्मे परेको केन्द्रका मेकानिकल इन्जिनियर देवले बताए । केन्द्रका प्राविधिकले दुई वटा बुथ तयार गरिरहेका छन् । यस्ता बुथ १६ वटा बनाएर वितरण गरिसकेको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख महावीर पुनका अनुसार सैनिक, एपीएफ, वीर, टिचिङ, भक्तपुर, काठमाडौं मोडल र टेकु अस्पतालमा बुथ पठाइएको छ । यसबाहेक मेची अस्पतालका साथै दमक, इटहरी, विराटनगर, धरान, वीरगन्ज, बुटवल, सुर्खेत, धनगढी, पोखरा र बागलुङका अस्पताललाई पनि बुथ दिइसकेको उनले बताए ।

कोभिड क्राइसिसमा आवश्यक उपकरण बनाउने प्रयास जारी रहेको जुनियर साइन्टिस्ट एवं मेकानिकल इन्जिनियर गौरवकुमार दासले बताए । उनको टिमले बनाएको सब्जी कोठी पनि यही बेला उपयोगी भएको छ । केन्द्रमा उनीहरूले तरकारी र फलफूल १० देखि ४० दिनसम्म कुहिनबाट जोगाउन सकिने उपकरण बनाएका छन् । केन्द्रमा बिहीबार बायोमेडिकल इन्जिनियर सिंहको टोलीले एरोसोल बक्स बनाइरहेको थियो । जुन बक्समा कोरोनाका बिरामीको टाउको छिराएर चिकित्सकले जाँच्न सक्छन् । बिरामीले हाच्छिउँ गर्दा चिकित्सकसम्म आइपुग्दैन । त्यस्तै बिरामीले सास फेर्दा पनि चिकित्सकसम्म नपुग्ने दाबी गरिएको छ । केन्द्रमा यस्तो बाकस ५ वटा तयार भइसकेको छ भने एउटा बन्दै छ । ‘अहिलेसम्म पीपीई, कोरोना बुथ र एरोसोल बक्सको माग बढी छ,’ पुनले भने, ‘कति दिन सकिन्छ, हेरौं ।’

मुलुकमा कोरोना संक्रमित देखिएसँगै पीपीईको माग भएको थियो । सरकारले समेत उपलब्ध गराउन नसकेका बेला केन्द्रले कपडा किनेर पीपीई बनाएको हो । अस्पतालमा पीपीईको माग पूरा गर्न पुनले वैशाख ११ मा फेसबुकमार्फत टेलरको खोजी गरेका थिए । ‘पीपीईबाट सुरु भएको मेरो यात्रा कोरोना बुथ र अस्पतालको भेन्टिलेटर बनाउनेसम्म पुगेको छ,’ पुनले भने, ‘अरू पनि थप केही गर्न सकिन्छ कि योजना बनाइरहेका छौं ।’ केन्द्रका अनुसार मुलुकभरका दुई सय अस्पताललाई नि:शुल्क पीपीई उपलब्ध गराइसकिएको छ ।

केन्द्रले कोरोनाको उपचारमा आवश्यक पर्ने सरकारी अस्पतालका भेन्टिलेटरसमेत मर्मत गरिरहेको छ । केन्द्रका अनुसार ट्रमा सेन्टरका ७, वीरका ५, गंगालालका ३, टिचिङका ४ वटा तथा कान्ति, भक्तपुर र सैनिक अस्पतालका बिग्रिएका भेन्टिलेटर भने मर्मत गरिसकेको छ । ‘बिग्रिएर स्टोरमा थन्किएका ७ वटा भेन्टिलेटर अस्पतालले खर्च नगरी केन्द्रले बनाइदियो,’ ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले भने, ‘केन्द्रले यो बेला पीपीई उपलब्ध गराएको छ । भेन्टिलेटर निर्माण र बुथ उपलब्ध गराएर चिकित्सक र स्वास्थ्यकर्मीलाई गुन लगाएको छ ।’ पैसा लिन आग्रह गर्दा पनि नलिएको उनले बताए ।

केन्द्रमा बिहीबार क्षेत्रपाटीको एक संस्थाले पनि बिग्रिएको भेन्टिलेटर मर्मतका लागि ल्याएका छन् । ‘कोरोनाका बिरामीलाई भेन्टिलेटर आवश्यक पर्ने भएकाले बिग्रिएकालाई कति बनाउन सकिन्छ भनेर सुरु गर्‍यौं । सरकारी अस्पतालका प्राय: सबै बनाउन सफल भयौं,’ बायोमेडिकल इन्जिनियर सञ्जयबहादुर सिंहले भने ।

पीपीई, कोरोना बुथ र एरोसोल बक्स वितरण गर्दा सरकारी, सामुदायिक र प्राइभेट, ठूलो र सानो, धनी र गरिब सबै अस्पताललाई भेदभाव नगरी वितरण गरेको दाबी केन्द्रको छ । पीपीई वितरण गर्दा ठूला अस्पताललाई बढीमा २५ वटा, अन्य अस्पताललाई १० देखि १५ वटा, गाउँको प्राथमिक केन्द्रलाई ६ वटा र हेल्थपोस्टलाई ३ वटाको दरले दिएको पुनले बताए । यस्ता सामान लिनका लागि भनसुन र चिठी नल्याउन पुनले फेसबुकमा लेखेका थिए । फोन गरेर नाम र फोन नम्बर टिपाए मात्रै पुग्ने व्यवस्था मिलाएका थिए । केन्द्रका अनुसार तीन हजार पीपीई बनाएको मध्ये २ हजार ५ सय वितरण गरिसकिएको छ ।

नि:शुल्क वितरण

‘सबै सामान पैसा नलिईकन वितरण गरेका छौं तर कोही व्यक्ति, अस्पताल र संस्थाले स्वेच्छाले पैसा दिन चाहेमा केन्द्रको खातामा जम्मा गर्न भनेका छांै,’ पुनले भने, ‘अहिलेसम्म जे जति काम गर्‍यौं सबै नि:शुल्क गरिरहेका छौं ।’ ७० देखि ८० हजार पर्ने कोरोना बुथसमेत कुनै अस्पतालबाट पैसा नलिई सित्तैमा वितरण गरेको केन्द्रले जनाएको छ । एरोसोल बक्स बनाउन आठ हजार खर्च हुने उनले बताए ।

केन्द्रले इमर्जेन्सी भेन्टिलेटरसमेत तयार गरेको छ । कोरोनाले ग्रस्त बिरामीलाई सास फेर्न सहज बनाउन यो भेन्टिलेटरको नमुुना तयार गरिएको हो । ‘आवश्यक परेका बेला यस्तै इमर्जेन्सी भेन्टिलेटरहरू तयार गर्न सकिन्छ,’ पुनले भने, ‘अमेरिकामा अनुसन्धानकर्ताहरूले विकास गरेर खुला रूपमा उपलब्ध गराएको नमुनाका आधारमा बनाइएको हो ।’ केन्द्रले कोरोनाका बिरामीलाई खाना र औषधि पठाउने रोबोटसमेत निर्माण गरिरहेको छ । संक्रमितको कोठामा मान्छेबिनै सामान पठाउन बनाइरहेको रोबोटलाई अन्तिम रूप दिइरहेको मेकानिकल इन्जिनियर रितेश देवले बताए ।

खर्च व्यवस्थापन

संक्रमित बिरामीबाट चिकित्सकलाई सुरक्षित राख्ने मेडिकल सामग्री निर्माण र मर्मत गर्न ४५ लाख रुपैयाँ खर्च भइसकेको केन्द्रले जनाएको छ । ‘सबै सहयोगबाट चलाइरहेका छौं,’ केन्द्रका प्रमुख महावीर पुनले भने, ‘२० लाख सहयोग उठेको छ । १८ लाख सापट लिएको छु । अझ धेरै काम उधारोमा गरेको छु ।’ उपत्यकाबाहिरको बुथ उधारोमा बनाएको उनले बताए ।

कति जनशक्ति छन् ?

चिकित्सकको सुरक्षाको सामग्री बनाउन केन्द्रका १५ जना प्राविधिक खटिने गरेका छन् । १० जना भने १६ घण्टा खटिने गरेका छन् । केन्द्रमा मेकानिकल, इलेक्ट्रोनिकल, बायोमेडिकल इन्जिनियर छन् । उनीहरूका लागि केन्द्रमा सुत्ने र खाने व्यवस्था गरिएको छ । ‘हामी राति १२ बजेसम्म काम गर्छौं,’ इन्जिनियर देवले भने, ‘बिहान ८ बजेदेखि फेरि काममा घोटिन्छौं ।’

अस्पताल र स्वास्थ्यकर्मीको मागका आधारमा जनशक्ति र सामग्री बनाउन आवश्यक पर्ने कच्चा पदार्थको खोजीसमेत पुनले फेसबुकमार्फत गर्ने गरेका छन् । पीपीई बनाउने गार्मेन्टदेखि भेन्टिलेटर मर्मत गर्ने बायोमेडिकल र इलेक्ट्रोनिक इन्जिनियरसमेत उनले फेसबुकबाटै भेट्टाएका हुन् ।

प्रकाशित : वैशाख ५, २०७७ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?