काठमाडौँ — पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबैको आजबाट स्वास्थ्य परीक्षण सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार मन्त्रालयले फेसबुक पेजमार्फत सो अपार्टमेन्टमा बस्दै आएका दुई जनामा कोरोेना पुष्टि भएपछि निजहरुको सम्पर्कमा आएका व्यक्तिको तथ्य संकलन गरिरहेको जनाएको हो ।
लण्डनबाट चैत ४ गते आएका एकै परिवारका ३ जनामा कोभिड १९ को आरडीटी विधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । त्यसैगरी पीसीआर विधिबाट पनि परीक्षण गर्दा ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलामा कोरोना पोजिटिभ देखिएको हो । बाँकी एक जनाको भने पुन: पीसीआर परीक्षण गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
अपार्टमेन्टमा बस्ने २ जनामा पीसीआर परीक्षणबाटै कोरोना पुष्टि भएपछि उक्त अपार्टमेन्ट अहिले सिल गरिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार मूलपानीस्थित नगर अस्पतालमा विदेशबाट आएका ३६ जनाको परीक्षण गर्दा ३ जना रिपोर्ट पोजिटिभ आएको हो। नगरप्रमुख कृष्णहरि थापाका अनुसार पनि चैत ४ गते राति १ बजे बेलायतबाट दोहा हुँदै काठमाडौं आएर क्वारेन्टाइनमा बसेका तीन जनाको आरडीटी किटबाट गरिएको परीक्षणको नतिजा पोजिटिभ आएको थियो। पाटन अस्पताल भर्ना गरिएका तीनै जनाको स्वास्थ्य सामान्य छ ।
