होमस्टे चलाए ५० हजार जरिवाना

चैत्र १५, २०७६

लमजुङ — क्व्होलासोंथर गाउँपालिकाले स्मार्ट भिलेज घलेगाउँका स्थानीयले होमस्टेमा पर्यटक राखे ५० हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । 

गाउँमा आएका पर्यटकलाई फर्काउन अटेर गरी होमस्टेमा राखेमा २० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना पर्यटन व्यवस्थापन समितिले तोकेको हो । लकडाउनका बेला सहरमा समय बिताउन गाह्रो भएको भन्दै केही पर्यटक जिप र मोटरसाइकल चढेर बुधबार घलेगाउँ पुगेका थिए । गाउँ नजिकै पुगेका पर्यटकलाई स्थानीयले फिर्ता पठाएका थिए । उनीहरुलाई फिर्ता पठाएर गाउँका होमस्टेमा वैशाख १ गतेसम्म कोही पर्यटक नराख्न उर्दी गरिएको र २० हजारदेखि ५० हजारसम्म जरिवाना तोकेको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले बताए ।


स्थानीयका अनुसार बुधबार दिउँसो केही युवा मोटरसाइकलमा घलेगाउँ पुगेका थिए । साँझपख २ वटा जिप चढेर पर्यटक घलेगाउँ आएका थिए । उनीहरुलाई फिर्ता पठाएको पर्यटन व्यवस्थापन समितिले जनाएको छ । त्यसपछि होमस्टेलाई पर्यटक नराख्न चेतावनी दिइएको हो । ‘जति बन्द भने पनि पर्यटक आउने क्रम रोकिएन । हामीले पर्यटक नराख्ने निर्णय गर्‍यौं । जरिवाना पनि बढी नै तोक्यौं । यति भएपछि पर्यटक जाँदैनन् । होमस्टेले पर्यटकलाई  राख्दैन,’ अध्यक्ष घलेले भने । 


२०५७ देखि १० घरबाट होमस्टे सुरु गरिएको घलेगाउँमा अहिले ३७ घरमा होमस्टे रहेको समितिका सचिव उमलबहादुर विकले बताए । नआउन आग्रह गर्दा पनि आउने पर्यटकलाई फिर्ता पठाएको उनले बताए । द्वन्द्वकालमा समेत कुनै दिन पर्यटक नटुटेको घलेगाउँमा कोरोना भाइरस (कोभिड १९) संक्रमण जोखिमलाई मध्यनजर राखेर आन्तरिक पर्यटकलाई समेत आवतजावतमा बन्द गराएको क्व्होलासोंथर गाउँपालिका अध्यक्षसमेत रहेका प्रेम घलेले बताए ।

कोरोना भाइरस

Link copied successfully