विदेशमा रहेका नेपालीलाई नआत्तिन र चिन्तित नहुन प्रधानमन्‍त्रीको आग्रह

चैत्र ७, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्‍त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीका कारण स्वदेश फर्कन नपाएका नेपालीहरुलाई नआत्तिन र चिन्तित नहुन आग्रह गरेका छन् । शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै ओलीले मुलुक फर्किन केही असुविधा परेको आफूलाई जानकारीमा रहेको बताए । 

'मुलुक बाहिर ठूलो संख्यामा नेपाली दिदीबहिनी तथा दाजुभाइहरु रहँदै आउनु भएको छ । कोरोना भाइरसको महामारीका कारण तपाईहरुलाई मुलुक फर्किन केही असुविधा परेको मेरो जानकारीमा छ', प्रधानमन्‍त्री ओलीले सम्बोधनमा भने, 'यस घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवस्यक पर्दा आफू रहेको देशको कूटनीतिक नियोगमा सम्पर्क राख्नु हुन आग्रह गर्दछु ।'

उनले विभिन्‍न नियोगहरुमार्फत प्रवासमा रहेका नेपालीहरुको समस्या हल गर्न सक्दो सहयोग गर्ने पनि जानकारी गराएका छन् । 


कोभिड १९ को संभावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न सरकारले चैत ९ देखि १८ गतेसम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिसकेको  छ । प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु चैत ९ देखि १८ गतेसम्मको लागि स्थगित गरिएको बताए ।


यस्तै, सरकारले छिमेकी राष्ट्रहरुसँग समन्वय गरी सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षाको व्यवस्थासहित आवागमनको व्यवस्था गरेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

कोरोना भाइरसप्रधानमन्‍त्रीको सम्बोधन

कान्तिपुर

Link copied successfully