पूर्वी नाकामा चासो कम, नेपाल–भारत बस बन्द गर्ने तयारी, बैतडीमा चार घाट बन्द
काठमाडौँ — भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपाल–भारत सीमा नाकामा सतर्कता अपनाउने भनिए पनि जनशक्ति र स्रोतसाधन अभाव देखिएको छ । पूर्वी नाकामा औपचारिकता मात्रै देखिएको छ ।
सुदूरपश्चिमका मुख्य नाकाहरूमा हेल्थ डेस्क सञ्चालन गरिए पनि जिल्लाका भित्री नाकामा भने जाँचमा कडाइ हुन सकेको छैन । पूर्वका नाकामा जनशक्ति र साधन नहुँदा आउजाउ गर्नेलाई जाँच गर्न असहज भएको छ । प्रदेश २ का १८ नाकामा हेल्थ डेस्क राखिए पनि स्रोतसाधनको अभाव छ ।
बर्दिया जिल्ला प्रशासनले मुख्य नाकाबाहेक सबै सीमा बन्द गर्ने तयारी गरेको छ । पर्यटकीय क्षेत्र ठाकुरद्वारामा आइतबार बस्ने भारतको बहराइच, बलरामपुर र श्रवास्ती जिल्लाका डीएमसहित सुरक्षा अधिकारीको बैठकले उक्त निर्णय गर्ने भएको हो । बैठकमा बर्दिया, बाँके र दाङका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुख सहभागी हुनेछन् । राजापुर र गुलरियाको मुख्य नाकाबाहेक सबै सीमा सिल गर्ने तयारी छ ।
कपिलवस्तुको मुख्य नाका कृष्णनगरमा उच्च सतर्कता छ । सीमा वारिपारि निगरानी सुरु छ । कृष्णनगर, मर्यादपुर र चाकलचौडा नाकामा हेल्थ डेस्क छन् । शंकास्पद बिरामी फेला परेका छैनन् । जनशक्ति अभावमा डेस्क व्यवस्थापन गर्न गाह्रो परेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । पश्चिम नवलपरासीका महेशपुर मूल भन्सार र भुजहवा नाकामा पनि छ । दाङको तुलसीपुर उपमहानगरपालिकाले शुक्रबार दमारगाउँ र टारीगाउँ विमानस्थलमा हेल्थ डेस्क स्थापना गरेको छ । घोराहीले भने प्रवेश गर्ने मुख्य नाका भएर भित्रिने पशुपक्षीको जाँचमा कडाइ गर्ने नगर प्रमुख नरुलाल चौधरीले बताए ।
भारतीय सिमानाको कोइलावास नाकामा एक सातादेखि हेल्थ डेस्क सञ्चालनमा छ । गढवा गाउँपालिका–८ कोइलाबासमा चार जनाको स्वास्थ्य टोली र उपकरणसहित गत बिहीबारदेखि खटिरहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुनीता पौडेलले बताइन् । ‘दाङमा भारतसँग सीमा जोडिएका २७ नाका छन्, सबैमा तत्कालै हेल्थ डेस्क राख्न सम्भव भएन,’ उनले भनिन् । नेपालगन्ज सीमाबाट आवतजावत गर्नेको तथ्यांक राख्न थालिएको छ । सीमास्थित अध्यागमन कार्यालयको सहकार्यमा दक्षिण कोरियाबाट आएका पर्यटकलाई फिर्ता पठाइएको छ ।
गाडी रोक्ने तयारी
प्रदेश ५ सरकारले संक्रमणको जोखिम कम गर्न भारतीय धार्मिक पर्यटक र सिधा सञ्चालनमा रहेका अन्तरदेशीय सेवाका बस रोक्ने तयारी गरेको छ । संक्रमित भेटिएका भारतीय सहरमा प्रदेशका विभिन्न जिल्लाबाट बस सञ्चालनमा छन् । बेलहिया नाका हुँदै दैनिक ३४ बस आउजाउ गर्छन् । बसमा कम्तीमा १ हजार ५ सय यात्रु ओहोरदोहोर गर्छन् ।
सुदूरका मूल नाकामा मात्रै कडाइ
कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टा नाकामा हेल्थ डेस्क सञ्चालनमा छ । नेपाल भित्रिनेको चेकजाँच गरिएको भए पनि जिल्लाका भित्री नाकामा भने कडाइ छैन । कञ्चनपुरको ब्रह्मदेव, गड्डाचौकी र दोधारा–चाँदनीलगायतमा हेल्थ डेस्क राखिएका छन् । ‘चेकजाँच भइरहेको ठाउँभन्दा अन्यत्रबाट आउन खोज्नेहरू बढी छन्,’ सशस्त्र प्रहरीको ३५ नं. गणका प्रमुख एसपी वीरसिंह साहुले भने । कैलालीमा भारतसँगको १०१ किमि सीमा खुला छ । धनगढीस्थित सशस्त्र प्रहरी गणका गणपति कमल तिमिल्सिनाका अनुसार लालबोझी र हसुलियाबाट बाक्लो संख्यामा निर्बाध वारिपारि हुने गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमा शुक्रबार भएको मन्त्रीस्तरीय बैठकले हेल्प डेस्कहरू थप व्यवस्थित गर्ने, प्रादेशिक अस्पतालको आईसीयू कक्षलाई भेन्टिलेटरयुक्त बनाउने निर्णय गरेको छ । महेन्द्रनगरबाट सञ्चालित मैत्री बस पनि बन्द हुने भएका छन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाका अनुसार बस सेवा बन्द गर्न गृह मन्त्रालय र यातायात व्यवस्था विभागमा पत्राचार गरिएको छ । महेन्द्रनगरबाट भारतको दिल्ली र देहरादुन एक दर्जन बस चल्छन् ।
बैतडीका चार घाट बन्द
नेपाल–भारतका सीमावर्ती क्षेत्रमा आवतजावत गरिने बैतडीका चारवटा घाट बन्द गरिएका छन् । महाकाली नदीमा डुंगा र ट्युबबाट तरेर पारि जानुपर्ने तत्लो स्वराड क्षेत्रका घाट बन्द गरिएका हुन् । शिवनाथ गाउँपालिकाको सुल्लेखानमा बिहीबार बसेको तल्लो स्वराड क्षेत्रका शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, जिल्ला समन्वय समिति र स्वास्थ्य कार्यालयका पदाधिकारीहरूको बैठकले पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका घाटहरू बन्द गर्ने निर्णय गरेको हो । बैतडी नजिकको नाका झुलाघाटमा हेल्थ डेस्कमार्फत् नेपाल फर्कनेको स्वास्थ्य परीक्षण भइरहेको छ ।
जाँचका नाममा खेलाँची
प्रदेश २ मा आठ जिल्लामा भारतसँग १८ नाका यस्ता छन्, जहाँबाट वारिपारि आउजाउ धेरै हुन्छ । संक्रमण जाँचका लागि हेल्थ डेस्क राखिए पनि अधिकांशको अवस्था बिजोग छ । साँझ ५ बजेपछि हेल्थ डेस्कमा सुरक्षाकर्मीमात्रै हुन्छन्, कतिपयमा तालिमबिनै स्वास्थ्यकर्मी खटाइएका छन् ।
भारतको रक्सौलबाट वीरगन्ज आइरहेको भारतीय नम्बर प्लेटको बसलाई सीमामा सशस्त्र प्रहरीका जवानले रोके । मास्क लगाएका स्वास्थ्यकर्मी इन्फ्रारेड थर्मोमिटर (ज्वरो नाप्ने मेसिन) लिएर माथि उक्लिए । यात्रुहरूको ज्वरो जाँचे । त्यही बेला अर्को बस चेकजाँचका लागि नरोक्दै वीरगन्ज भन्सारतर्फ बढ्यो । वीरगन्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले शंकराचार्य गेटनजिकै रहेको अध्यागमन विभागको पुरानो भवनमा कोरोना भाइरस चेकजाँचका लागि हेल्थ डेस्क राखेको छ । डेस्कमा दुई जनामात्रै स्वास्थ्यकर्मी खटाइएका छन् । पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, इन्फ्रारेड थर्मोमिटर, मास्क आदि सामग्री अभाव छ । स्वास्थ्य कार्यालय पर्साले एक साताअघि स्वास्थ्य सेवा विभागसँग आवश्यक जनशक्तिसँगै सामान मागेको थियो । विभागले न जनशक्ति दियो, न त सामान नै पठायो । सर्लाहीको मलंगवा नाकाको पनि बिजोग छ । एउटा थर्मोमिटरको भरमा दुई स्वास्थ्यकर्मी सडकमा बसेका छन् ।
रौतहटको गौरस्थित भन्सार नाकामा आउजाउ गर्नेलाई जाँच्न दुई जना स्वास्थ्यकर्मी आलोपालो बसेका छन् । शंकास्पद बिरामी फेला परे अस्पतालसम्म लैजान एम्बुलेन्स पनि छैन । सिरहा नाकामा भने थर्मल स्क्यानरसहित स्वास्थ्यकर्मीको टोली राखिएको छ । बरियारपट्टी नाकामा खटिएका सिनियर अहेब पशुपति दासले भारतबाट आउनेको जाँच गर्ने गरिएको बताए । अन्नपूर्णका पर्यटकको
स्वास्थ्य जाँच
लमजुङ– चक्रीय अन्नपूर्ण पदमार्ग पर्यटकको स्वास्थ्य जाँच सुरु गरिएको छ । कोभिड–१९ को संक्रमणविरुद्ध सतर्कताका लागि मनाङको तल्लो क्षेत्र धारापानीमा स्थापना गरिएको हेल्थ डेस्कमा जाँच थालिएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को चेकपोस्टमा आएका पर्यटकले अनिवार्य रूपमा चेकपोस्टमा आफ्नो विवरण फाराम भर्नुपर्छ । काठमाडौं, पोखरा र बेंसीसहरस्थित एक्यापका पोस्टबाट भ्रमण अनुमति नलिएका पर्यटकका लागि धारापानीमा दोब्बर दस्तुर तिरेर लिन पाइने सुविधा छ ।
पूर्वी नाकामा छैन पर्याप्त सतर्कता
पूर्वका नाकाहरूमा सतर्कता औपचारिक मात्र देखिएको छ । पर्याप्त जनशक्ति र साधन नहुँदा आउजाउ गर्नेलाई जाँच गर्न सहज देखिएको छैन । पारि भारततिर भने उच्च सतर्कता अपनाएको पाइएको छ । झापाको काँकडभिट्टा नाकामा गत साता नेपालतर्फ हेल्थ डेस्क राखिएको छ । भारततिर पानीट्यांकी प्रवेश गर्नुअघि नाकामै हेल्थ डेस्क राखेर नेपालबाट प्रवेश गर्ने यात्रुलाई निरन्तर निगरानी गरिन्छ । भारतको बाघडोगरा एयरपोर्टमा महिनाअघिदेखि नै उच्च सतर्कता अपनाइएको छ ।
