सोल — दक्षिण कोरियामा रहेका नेपाली स्वदेश फर्कन चाहिरहेका छन् । कोभिड–१९ त्रासका कारण उनीहरू नेपाल फर्कन खोजिरहेका हुन् । रोजगार अनुमति प्रणाली ईपीएसमार्फत कोरिया आएका नेपाली कम्पनीले घर बिदा वा कम्पनी छोड्ने अनुमति नदिएसम्म देश फर्कन पाउँदैनन् ।
कम्पनीको स्वीकृतिबिना नेपाल फर्किए फेरि आउन पाइँदैन । यस्तो अवस्थामा नेपाली दूतावासले केही समाधान खोजिदिए हुन्थ्यो भन्ने चाहना नेपाली कामदारले राखे पनि दूतावासले न कुनै जवाफ दिएको छ न नै कूटनीतिक पहल गरेको छ ।
दूतावासमा राजदूत नभएको डेढ वर्ष पुग्नै लाग्यो । नेपाली कांग्रेसले पठाएका राजदूत अर्जुन जंगबहादुर सिंहलाई वर्तमान सरकारले फिर्ता बोलाएपछि उनको ठाउँमा कसैलाई पठाइएको छैन । ‘हामी कर्मचारी भनेको दूतावासको कार्यसम्पादनका लागि हौं । हाम्रो पहुँच कोरियाली सरकारको माथिल्लो तहसम्म हुँदैन,’ नेपाली दूतावासका कार्यवाहक राजदूत रामसिंह थापाले भने, ‘यो जटिल समयमा राजदूत नहुँदा हामीले विभिन्न खालका समस्या भोगिरहेका छौं । हामीले चाहेर पनि राजदूतको भएको बेलामा जसरी काम गर्न सक्दैनौं । कूटनीतिक मर्यादा पनि हुन्छ ।’
