कोरोना प्रकोप : अमेरिकामा राष्ट्रिय संकटकाल

चैत्र १, २०७६

प्रतिमा बाँस्कोटा

क्यालिफोर्निया — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण बढ्दै गएपछि राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । शुक्रबार वासिङ्टन डीसीस्थित ह्वाइट हाउसबाट उनले राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।

धेरै सर्वसाधारणको जीवनमा सुरक्षामा हानी हुन पुग्ने अवस्था आएको अवस्थामा राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गरेर संकटकाल लगाउन सक्ने व्यवस्था छ । अमेरिकी समाचार संस्था फक्स न्युजका अनुसार राष्ट्रपतिले संकटकाल घोषणा गरेसँगै विपद् सहायता र आपत्‌कालीन सहयोगमार्फत राष्ट्रपतिले संघीय र राज्य स्तरमा सहायता उपलब्ध गराउन सक्नेछन् ।

अमेरिकी राष्ट्रिय संकटकाल ऐनअनुसार संकटकाल घोषणासँगै ५० मिलियन डलर खर्च गर्न पाउने अधिकार दिन्छ । त्यही रकमबाट कोरोना संकटविरुद्ध लड्न राज्य र स्थानीय सरकारलाई रकम वितरण गरिन्छ ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरस रोकथामका लागि अमेरिकी सरकार मिहेनतका साथ लडिरहेको बताए । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट २ हजार ४ सय ६६ जना संक्रमित  र ५० जनाको मृत्यु भएको छ ।

घरबाटै काम गर्न आग्रह

क्यालिर्फोर्नियास्थित ठूला आईटी कम्पनीहरु एप्पल, फेसबुक, गुगललगायतले आफ्ना कर्मचारीलाई घरबाट काम गर्न भनेको छ । कोही यदि कार्यालय आउन चाहे उसले सम्पूर्ण स्वास्थ्यजाँच गरेर मात्र जान पाउने व्यवस्था गरेको त्यहाँ कार्यरत कर्मचारी बताउँछन् । ‘कम्पनीको भर्चुअल प्राइभेट नेटवर्क’ प्रयोग गरेर घरबाट काम गर्न भनेको छ । कम्पनीका धेरैजसो बैठकसमेत त्यसरी नै भइरहेका छन् ।

घरबाट काम गर्न नमिल्ने कर्मचारीलाई पनि तलब सुविधा दिएर छुट्टी दिइएको छ । यस क्षेत्रका विद्यालयहरु तीन हप्ताका लागि बन्द गरिएको छ । सपिङ मलहरुमा सर्वसाधारणको एकाएक भीड बढेको छ ।

कोरोना भाइरस

प्रतिमा

Link copied successfully