भारतले नेपालसँग माग्यो अत्यावश्यक औषधिको सूची

फाल्गुन २२, २०७६

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतले कोरोना भाइरस ‘कोभिड १९’ संक्रमण बढ्न सक्ने आँकलन गर्दै अत्यावश्यक औषधीको निर्यातमा भारतले लगाएको रोक फिर्ता गराउन नेपालले पहल सुरु गरेको छ । नेपालले भारतसमक्ष अनौपचारिक रुपमा औषधिको आपूर्ति नरोक्‍न आग्रहसमेत गरिसकेको छ ।

नेपालको आग्रहको जवाफमा भारतले आवश्यक औषधिहरुको सूची माग गरेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि पुष्टि गरेका छन् । बिहीबार काठमाडौंमा बसेको कोरोना भाइरस रोग नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले अत्यावश्यक औषधिको माग गरेमा भारतले नेपाल सरकारलाई आपूर्ति गर्ने खबर पठाएको बताएका छन् । उनले औषधिको अभाव नहुने पनि प्रतिबद्धता पनि जनाए । 


भारतले मंगलबार मात्र २६ वटा अत्यावश्यकीय औषधिहरुको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । जसमा पारासिटामोललगायतका अत्यावश्यक औषधि समेत छन् । भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै २६ वटा औषधिमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि ती औषधिको निर्यात गर्नका लागि सरकारको इजाजत लिनुपर्ने भएको छ । 

औषधि निर्यात नरोक्‍न भारतलाई नेपालको आग्रह

भारतका तर्फबाट त्यस्तो निर्णय आएलगत्तै नै पुनर्विचार गर्न नेपालले पहल थालेको हो । स्रोतका अनुसार भारतसमक्ष निर्यात खुला गर्न अनौपचारिक रुपमा अनुरोध भइसकेको छ । नेपालबाट गरिएको त्यस्तो आग्रहलाई भारतीय विदेश मन्त्रालयले सकारात्मक लिएको बुझिएको छ । तर, सबै औषधिहरुको निर्यात भने खुला गर्न नसकिने बरु नेपालले अत्यावश्यक ठानेका सिटामोल लगायतका औषधिहरुमा भने पुनर्विचार गर्न सकिने जवाफ भारतले दिएको स्रोतको भनाइ छ । ‘सबै औषधिहरु त खुल्ला गर्न नसकिने तर, नेपाललाई धेरै परिमाणमा नचाहिने भएकाले अत्यावश्यक औषधिहरुमा निर्यात खुल्ला गर्न भारत सकारात्मक देखिएको छ,’ स्रोतले भने । तर, त्यसका लागि भारतको विदेश मन्त्रालयले निर्यात खुला गर्नुपर्ने औषधिहरुको परिणाम र सूची पठाउनसमेत आग्रह गरेको स्रोतले जनाएको छ । 


भारतको उक्त निर्णय सार्वजनिक भएलगत्तै नेपालको वाणिज्य मन्त्रालयका उच्च अधिकारीहरुले पनि भारतीय समकक्षीसँग त्यससम्बन्धमा चासो व्यक्त गरेको बुझिएको छ । र, भारतीय अधिकारीहरुले पनि सकारात्मक जवाफ दिएको एक नेपाली उच्च अधिकारीले कान्तिपुरलाई बताए । ‘भारतीय पक्षसँग कुरा भएको थियो र उनीहरुले नेपालको हकमा पुनर्विचार गर्न सकिने सकारात्मक जवाफ दिएका थिए,’ ती अधिकारीले भने । 


यसैबीच बुधबार मुख्य सचिव लोकदर्शन रेग्मीको नेतृत्वमा प्रधानमन्त्री कार्यालयमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव, औषधि विभागका महानिर्देशकलगायतका सरोकारवाला निकायका उच्च अधिकारीहरुबीचको बैठकमा पनि भारतको पछिल्लो निर्णयका सम्बन्धमा छलफल भएको छ । उक्त बैठकमा नेपालमा ती औषधिहरुको विद्यमान सञ्चिती र उत्पादनको अवस्थाका सम्बन्धमा विस्तृत छलफल भारतलाई निर्यात खुल्ला गर्न आग्रह गर्ने निर्णय गरिएको स्रोतको भनाइ छ । तर, बैठकमा भारतलाई निर्यात खुला गर्न आग्रह गर्ने सम्बन्धमा भने कुनै औपचारिक निर्णय भने भएन । ‘एक दुई दिनपछि औपचारिक आग्रह पनि हुनसक्छ,’ एक उच्च अधिकारीले भने । 


भारतको निर्णयपछि औषधि विभागले पनि सरोकारवालाहरुसँग छलफल सुरु गरेको छ । बुधबार मात्र विभागले औषधि उत्पादक कम्पनीका प्रतिनिधिहरुसँग अत्यावश्यक औषधिको उत्पादन र आपूर्ति अवस्थाको बारेमा जानकारी लिएको थियो । साथै बैठकमा अत्यावश्यक औषधिका लागि चाहिने कच्चा पदार्थको वर्तमान अवस्था र भारतको प्रतिबन्धका कारण पर्न सक्ने असरका बारेमा पनि छलफल भएको स्रोतले बताएको छ । 


विभागमा बसेको उक्त बैठकका सहभागीहरुले नेपालमा पनि कोरोनाको संक्रमण बढ्दै गएको खण्डमा बजारमा अस्वाभाविक रुपमा माग बढ्ने भएकाले अहिल देखि नै भारतको निर्यातमा रोक लगाउने निर्णयमा पुनर्विचार गर्नका लागि आग्रह गर्नुपर्ने सुझाव दिएका थिए । ‘अहिले केही समस्या नभए पनि माग अस्वाभाविक ढंगले बढ्न सक्ने कुरालाई पनि मध्यनजर गर्दै अहिलेदेखि नै पहल गर्नुपर्छ भन्ने धारणा आएको थियो,’ छलफलका एक सहभागीले भने । कोभिड–१९ को संक्रमण विश्वव्यापी बन्दै गएपछि भारतले करिब एक महिनाअघि नै मास्क र स्यानिटाइजरको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो । 

कोरोना भाइरस

सुरेशराज दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका न्यौपाने कान्तिपुरका समाचार संयोजक हुन् ।

Link copied successfully