१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कोरोना प्रभावित देशमा श्रम स्वीकृति स्थगनबारे श्रममन्त्रीको बोली फेरियो

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले कोरोना भाइरस (कोभिड-१९) प्रभावित मुलुकमा जाने कामदारका लागि दिइने श्रम स्वीकृति स्थगन गरेको हो कि होइन भन्ने विषयमा सरोकारवाला मन्त्रीको भनाइले अन्योल उत्पन्न भएको छ ।

कोरोना प्रभावित देशमा श्रम स्वीकृति स्थगनबारे श्रममन्त्रीको बोली फेरियो

खाडी मुलुक तथा जापान र दक्षिण कोरियालगायतका गन्तव्य मुलुकमा कोभिड-१९ को संक्रमण बढ्दै गएको अवस्थामा ती देशहरुमा जाने नेपाली कामदारहरूलाई रोक्ने कि नरोक्ने भन्ने विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवको दोहोरो अभिव्यक्तिले अन्योल सिर्जना भएको हो ।

मन्त्री यादवले कोभिड-१९ को उच्च जोखिम भएका मुलुकमा तत्कालका लागि श्रम स्वीकृति स्थगित गरिएको भनेर मंगलबार दिउँसो सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिलाई बताएका थिए । उनले कोभिड–१९ को सन्त्रास कम नभएसम्म श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको जानकारी दिएका थिए ।

अत्यावश्यक परेको अवस्थामा बाहेक विदेश नजान भनेर सरकारले आग्रह गरेकोले संक्रमण जोखिम रहेका मुलुकमा नपठाइने उनले बताएका थिए । 'सरकारले पनि अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको छ, सर्वोच्च अदालतले पनि प्रभावित मुलुकसँगको हवाई उडान स्थगन गर्न आदेश दिएको छ', मन्त्री यादवले भनेका थिए, 'त्यही कारण हामीले केही समयका लागि श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेकै हो ।'

मन्त्री यादवको यो भनाइमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेको भनाइले पनि मेल खाएको थियो । मन्त्रीले भनेको विषय के हो ? यसबारेमा औपचारिक निर्णय भएको हो कि होइन भन्ने प्रश्नमा घिमिरेको जवाफ थियो, 'तत्काललाई जोखिम बढेको हुनाले स्थगनको विषयमा उच्च तहमा छलफल भइरहेको छ । हिजो अदालतले पनि पाँचवटा देशमा आउजाउ नगर्ने भनेर अन्तरिम आदेश दिएको थियो । (श्रम स्वीकृति दिन रोक्नेबारे) प्रस्ताव भएको छ, निर्णय भएको कुरा जानकारीमा आइसकेको छैन । रोक्ने भन्ने प्रस्ताव भएको छ ।'

मंगलबार साँझ नहुँदै मन्त्री यादवले आफ्नो बोली फेरेका छन् । उनले ‍औपचारिक रूपमा कुनै निर्णय नभएको बारम्बार बताएका थिए । उनले राससको समाचारप्रति भने कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

त्यस्तै बीबीसी नेपालीलाई पनि मन्त्री यादवले कोभिड-१९ प्रभावित मुलुकमा जाने कामदारका लागि केही समय श्रम स्वीकृति नदिने बताएका थिए । बीबीसीसँगको कुराकानीमा उनले जुनजुन देशमा संक्रमण फैलिएको छ, ती देशका लागि श्रम स्वीकृति दिने काम स्थगित गरिएको बताएका थिए ।

मन्त्रीको भनाइमा आधारित रहेर सरकारी समाचार एजेन्सीबाटै समाचार आइसकेपछि वैदेशिक रोजगार व्यवसायी संघले रोजगारदाता मुलुकले कामदार लिन बन्द नगरेसम्म नेपालले श्रम स्वीकृति रोक्न नहुने बताएका थिए । संघका अध्यक्ष विष्णु गैरेले भनेका थिए, 'अहिलेसम्म रोजगारदाता मुलुकले नेपालबाट कामदार लिइरहेको छ । नियमित काम भइरहेको छ । अहिले नै हतारिएर कामदार पठाउन बन्द गरिहाल्नुपर्ने अवस्था होइन ।’

बहराइनले ३० जना नेपालीलाई फिर्ता पठाएको नेपालीका कारण नभइ इरानी यात्रुका कारण भएको दाबी गर्दै उनले गैरेले कान्तिपुरलाई भनेका थिए, 'इरानबाट फर्केका बहराइनमा काम गर्ने एकजना इरानी यात्रु दुबईमा यात्रा गरेको रहेछ । त्यो जहाजमा यात्रा गरेको ३० नेपालीसहित अन्य यात्रुलाई बहराइनले फिर्ता पठाएको हो ।' उनले ती नेपालीलाई पठाउने व्यक्तिको खोजी भइरहेको भन्ने खोजी भइरहेको पनि जानकारी दिएका थिए ।

वैदेशिक रोजगार व्यवसायी संघको प्रतिक्रिया आएपछि मन्त्री यादवको बोली फेरिएको हो । उनले राससमा आएको समाचारबारे जिज्ञासा राख्दा जवाफ दिएका थिए, 'निर्णय औपचारिक रूपमा भएको छैन । हामी परामर्शमा छौं, परामर्शबाट जे निर्णय हुन्छ कार्यान्वयन गरौंला ।'

कोरोना नियन्त्रणका लागि आवश्यक कदम चाल्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

मन्त्री यादवले संक्रमण फैलिएका देशमा कामदार पठाएर जोखिम लिने कि नलिने भन्नेमा आफूहरु गम्भीर परामर्श गरिरहेको उल्लेख गर्दै भने, 'कन्सल्टेसनमा छौं, अहिले संक्रमित देशहरूमा रिस्क लिने कि नलिने (कामदार पठाएर)भन्ने छलफलमा छौं । गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय, परराष्ट्र मन्त्रालय, नागरिक उड्ययन सबैमा हामी कन्सल्ट गरेर एउटा निर्णयमा पुग्‍छौं । सकभर अहिलेको परिस्थिलाई डिस्करेज (श्रम स्वीकृति रोकेर वैदेशिक रोजगारमा जान रोकौं) गरौं । रिसेड्यूल (कामदार पठाउने काम रोकेर पछि पठाउने) गर्नुपर्ने पर्नसक्छ । औपचारिक रूपमा निर्णय भएको छैन ।'

मन्त्री यादवले बारम्बार 'औपचारिक निर्णय भइसकेको छैन' भन्ने जवाफ दिइरहेका छन् । उनले सर्वोच्च अदालतको अन्तरिम आदेशअनुसार पनि ती मुलुकहरूमा कामदार पठाउन रोक्नुपर्ने आशयको अभिव्यक्ति दिइरहेका छन् । उता वैदेशिक रोजगार व्यवसायी भने कामदार लिने देशहरूले अस्वीकार नगरेसम्म पठाइरहनुपर्ने बताइरहेका छन् ।

नेपालले कामदार पठाउने देशमा कोरोनाको प्रकोप कस्तो छ ?

डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड-१९ को संक्रमण अहिले विश्वका ७७ देशमा फैलिइसकेको छ । मंगलबार साँझसम्म कोभिड-१९ का कारण ३ हजार १ सय ६४ जनाको मृत्यु भइसकेको छ भने ९२ हजारभन्दा बढी संक्रमित भएका छन् ।

कोरोनाले तर्सिएको खाडी

खाडी मुलुक, जापान र दक्षिण कोरियामा संक्रमण बढ्दै गएपछि त्यहाँ रहेका नेपाली र रोजगारीका लागि जाने तर्खरमा रहेकाहरु चिन्तित बनेका छ । दक्षिण कोरिया चीनपछि सबैभन्दा बढी संक्रमण फैलिएको देश हो । मंगलबार साँझसम्म दक्षिण कोरियामा ५ हजार १ सय ८६ जनामा संक्रमण देखिएको छ भने ३२ जनाको मृत्यु भएको छ ।

त्यस्तै जापानमा ९ सय ९९ जनामा संक्रमण देखिएको छ भने १२ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो समय सबै खाडी मुलुकमा कोभिड-१९ को संक्रमण देखिएको छ । कुवेतमा ५६, बहराइनमा ४९, यूएईमा २१, ओमानमा १२, कतारमा ८ तथा साउदी अरबमा एक जनामा संक्रमण देखिएको छ । खाडी मुलुकमा अहिलेसम्म कोभिड-१९ को संक्रमणबाट मृत्यु भने भएको छैन तर छिमेकी देश इरानमा संक्रमण र मृतकको संख्या बढ्दै गइरहेकाले खाडी क्षेत्र उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । मंगलबार साँझसम्म इरानमा ७७ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय ३६ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित : फाल्गुन २०, २०७६ २३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?