कोरोना प्रभाव : श्रम स्वीकृति तत्कालका लागि स्थगन

'सरकारले पनि अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको छ, सर्वोच्च अदालतले पनि प्रभावित मुलुक सँगको हवाई उडान स्थगन गर्न आदेश दिएको छ', मन्त्री यादवले भने, 'त्यही कारण हामीले केही समयका लागि श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेकै हो ।'
रासस

काठमाडौँ — सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले उक्त निर्णय गरेको जनाइएको छ ।

कोभिड–१९ को सन्त्रास कम नभएसम्म श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले जानकारी दिए ।


अत्यावश्यकबाहेकका लागि विदेश नजान सरकारले आग्रह गरिसकेको अवस्थामा संक्रमण जोखिम रहेका मुलुकमा नेपाली कामदार नपठाउन लागिएको उनले बताए ।


'सरकारले पनि अत्यावश्यक काममा बाहेक विदेश नजान आग्रह गरेको छ, सर्वोच्च अदालतले पनि प्रभावित मुलुक सँगको हवाई उडान स्थगन गर्न आदेश दिएको छ', मन्त्री यादवले भने, 'त्यही कारण हामीले केही समयका लागि श्रम स्वीकृति प्रदान गर्न स्थगित गरेकै हो ।' कोरोनाको सन्त्रास हटेपछि श्रम स्वीकृति प्रदान गर्ने काम नियमित हुने उनले जानकारी दिए ।


अत्यावश्यक काममा बाहेक, अध्ययन, घुमफिर एवं मनोरञ्जन भ्रमणका लागि विदेश नजान अनुरोध गर्दै सरकारले विदेश जान चाहने विद्यार्थीहरुलाई हाललाई स्वीकृतिपत्र जारी नगर्ने, वैदेशिक रोजगारीमा जानेका लागि पनि अत्यावश्यक अवस्थाबाहेक नजान अपिल गरेको थियो । दक्षिण कोरियामा कोरोनाको सङ्क्रमण फैलिएपछि सरकारले यसअघि नै त्यहाँ जान रोक लगाइसकेको छ । विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० नेपालीलाई केही दिनअघि संयुक्त अरब इमिरेट्सको दुबईबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काएका थिए ।

ठूलो सङ्ख्यामा नेपाली कार्यरत विभिन्न श्रम गन्तव्य मुलुकमा कोभिड–१९ को संक्रमण देखिएको छ । दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, बहराइन र ओमानमा पनि कोरोना सङ्क्रमित फेला परिसकेका छन् । कोरियामा झण्डै ४० हजार हाराहारीमा नेपाली विभिन्न काम तथा पेशामा संलग्न छन् । त्यस्तै मध्यपूर्वी मुलुकमा पनि झण्डै १० लाख नेपाली कार्यरत रहेका सरकारको तथ्याङ्क छ ।

प्रकाशित : फाल्गुन २०, २०७६ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्

थरुहटले गरेको तराई बन्दको आंशिक प्रभाव 

गणेश चोधरी, दुर्गालाल केसी, रुपा गहतराज

धनगढी, तुलसीपुर, नेपालगन्ज — थरुहट थारुवान राष्ट्रिय मोर्चाको तराई बन्दको घोषणाले जनजीवन आंशिक रुपमा प्रभावित भएको छ ।  तराईका केही जिल्ला बन्दका कारण प्रभावित भएका छन् भने केहीमा आंशिक प्रभाव देखिएको छ ।

कैलालीमा बजार बन्द र यातायात सञ्चालन भएका छैनन् ।सरकारले माग सुनुवाइ नगरेको भन्दै मोर्चाले फागुन २० र २१ गते दुई दिन तराई बन्दको घोषणा गरेको हो ।

२०७२ साल भदौ ७ र ८ गते भएको टीकापुर घटनापछि अझै केही थारु जेलमा जीवन बिताइरहेको भन्दै त्यसलाई राजनीतिक मुद्दा बनाएर विनासर्त रिहाइ गरिनुपर्ने, थारु राजबन्दीमाथि लगाइएका मुद्दाहरु खारेज गरिनुपर्ने, थारुसँग विगतको सरकारले पटक पटक गरेको विभिन्न सम्झौताको अक्षरशः कार्यान्वयन हुनुपर्ने मागसहित मोर्चाले आन्दोलनको घोषणा गरेको हो । ।

केही दिनअघि धनगढीको क्याम्पसरोडमा एक सातासम्म मोर्चाका संयोजक लक्ष्मण थारु तथा मोर्चाका सदस्यहरु आमरण अनसन बसेका थिए । राजनीतिक दलका प्रतिनिधिसहित कैलालीका प्रमुख जिल्ला अधिकारीको पहलमा माग सम्बोधन गराउने आश्वासन दिएपछि अनसन स्थगित गरेका थिए ।

दाङमा पनि आंशिक प्रभाव
दाङमा पनि बिहानैदेखि शैक्षिक संस्था, कलकारखाना, व्यापार, व्यवसाय र यातायात प्रभावित भएका छन् ।
फाट्टफुट्ट रुपमा निजी सवारी साधन चले पनि सार्वजनिक सवारी साधन भने चलेका छैनन् । हड्तालका क्रममा अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, शववाहन, दूध, औषधि बोक्ने गाडी, पत्रकार, मानवअधिकारकर्मी, रेडक्रस, पर्यटक, कुटनीतिक नियोगका सवारी निर्वाधरुपमा चल्न दिइने मोर्चाले जनाएको छ ।

बाँकेमा न्यून प्रभाव
थरुहट थारुवान राष्ट्रिय मोर्चाको आह्वानमा भएको दुईदिने तराई बन्दको प्रभाव बाँकेमा भने खासै देखिएको छैन । बाँकेमा पसल, व्यवसाय सञ्चालनमा छन् भने छोटो दूरीका सवारी साधन पनि चलेका छन् । बाँकेबाट लामो दूरीका लागि छुट्ने सवारी साधन भने चल्न सकेका छैनन् । यद्यपि सरकारी तथा निजी विद्यालय भने पूर्ण रुपमा बन्द रहेका छन् ।

मोर्चाले सांसद रेशम चौधरीको रिहाइ तथा टीकापुर घटनामा फसाइएका निर्दोषहरुलाई रिहाइको माग गर्दै आएको छ । टीकापुर घटनाको विषयमा सरकारले गठन गरेको पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित न्यायिक समिति र गृहमन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।

नेपालगन्जमै पत्रकार सम्मेलन गरी थरुहट थारुबान राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रमको घोषणा गरेको थियो ।

प्रकाशित : फाल्गुन २०, २०७६ १४:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×