बाँस्कोटालाई भ्रष्टाचार कसुरमा अनुसन्धानको माग गर्दै अख्तियारमा उजुरी- समाचार - कान्तिपुर समाचार

बाँस्कोटालाई भ्रष्टाचार कसुरमा अनुसन्धानको माग गर्दै अख्तियारमा उजुरी

कान्तिपुर संवाददाता

काठमाडौँ — निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई भ्रष्टाचार कसुरमा अनुसन्धान गरी कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरु परेका छन् । अख्तियार स्रोतका अनुसार बाँस्कोटासँगै प्रधानमन्त्री, सञ्चार मन्त्रालयका सचिव र सेक्युरिटी प्रेसका कार्यकारी निर्देशक माथि पनि छानबिन हुनुपर्ने भन्दै उजुरीहरु परेका छन् ।

बाँस्कोटाले सुरक्षण छपाइ मेसिनको खरिद प्रक्रिया सुरु गर्न स्वीस कम्पनीका स्थानीय प्रतिनिधिसँग करोडौँ कमिसन मागेको अडियो बुधबार राति सार्वजनिक भएको थियो । त्यो अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।


उनको त्यो कमिसनको बार्गेनिङ भ्रष्टाचार निवारण ऐन २०५९ को परिच्छेद २ को भ्रष्टाचार सम्बन्धी कसुर तथा सजाय शीर्षकको दफा ३ (१) अनुरुप भ्रष्टाचार रहेको भन्दै कारबाही गर्न माग गरिएको छ ।


ऐनको यो दफामा राष्ट्रसेवकले आफ्नो ओहदा वा सो सम्बन्धी कुनै काम गर्न वा वा नगर्न ‘रिसवत लिएमा वा लिन मञ्जुर गरेमा कैद र बिगो तथा जरिबानाको व्यवस्था गरेको छ । एक करोड रुपैयाँभन्दा बढी लिएमा ८ वर्षदेखि १० वर्षसम्म कैद हुने व्यवस्था सो ऐनमा छ ।


ऐनमा संवैधानिक अंग वा निकायका पदाधिकारी, राष्ट्रपतिबाट मनोनयन वा नियुक्त हुने पदाधिकारी, सरकारका विशिष्ट श्रेणी वा सो सरहका पदाधिकारी, सार्वजनिक संस्थाका प्रमुख महाप्रबन्धक वा सो सरहका पदाधिकारीले यस परिच्छेद अन्तर्गतका कसुर गरेमा त्यस्तो कसुरमा हुने सजायमा थप तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।


ऐनमा भएको व्यवस्था अनुसार भ्रष्टाचारको कसुरमा छानबिन गर्ने प्रष्ट आधार देखिने भएकोले आवश्यक छानबिन गरी हदैसम्मको कारवाही गर्न उजुरीमा माग गरिएको छ ।



प्रकाशित : फाल्गुन ११, २०७६ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्

दाहालले डोला बोकेर सुरु गरे मध्यमा परिक्रमा

श्यामसुन्दर शशि

जनकपुर — मध्यमा परिक्रमाको डोला आइतबार धनुषाको मिथिलाविहारी नगरपालिका कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट निस्केको छ । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले किशोरीजीको डोला उचालेर १५ दिने धार्मिक यात्राको सुरुवात गरे ।

परिक्रमामा नेपाल र भारतका हजारौं साधु, सन्त, महन्थ तथा आम श्रद्धालु सहभागी छन् । बिहान मध्य धनुषाको कचुरीस्थित मिथिला विहारी मठबाट निस्केको मिथिला विहारी (जानकी)को डोला उचाल्न दाहालसँगै पूर्वमन्त्री रघुवीर महासेठ, सांसद जुली महतोलगायत नेता पुगेका थिए । परिक्रमा सुरु हुनु अगाडि हेलिकप्टरबाट पुष्प वर्षा गराइएको थियो ।

कचुरीबाट सुरु भएको धार्मिक यात्रा वेंगा, शिवपुर, मुजेलिया, पिडारी, जनकपुरको रत्नसागर मठ, जानकी मन्दिर हुँदै जनकपुरको हनुमान गढीमा विश्राम गर्ने प्रचलन छ ।

फागुन अमावश्याको दिन कचुरीको मिथिला विहारी मठबाट सुरु भएको मध्यमा परिक्रमा भारतको कलानेश्वर, फुलहर हुँदै महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कंचनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही, औरसाहा तथा पुनः भारतको करुणा, विसौल, कलानेश्वर हुँदै फागु पूर्णिमाको पूर्वसन्ध्यामा पुनः जनकपुर फर्किने छ । पूर्णिमाको बिहान जनकपुरको अन्तः गृह परिक्रमा गरी १५ दिने धार्मिक यात्रा सम्पन्न हुनेछ ।

झण्डै सय वर्षदेखि सञ्चालित यो धार्मिक यात्रामा साधु सन्तसँगै सर्वसाधारणको पनि उल्लेख्य सहभागिता रहने गर्छ । नेपाल र भारतको सिमावर्ती क्षेत्रका प्रान्तबाट हजारौं श्रद्धालु धार्मिक यात्रामा सहभागी हुन आउँछन् ।

मिथिला महात्म्यका अनुसार—मिथिलाको परिक्रमा गर्दा मनवाञ्छित फल प्राप्त हुन्छ । महात्म्यमा मिथिलाको परिक्रमा गरेर अनेकौ ऋषि मुनिले मोक्ष प्राप्त गरेको, ज्ञान आर्जन गरेको तथा रोगबाट मुक्ति पाएको उल्लेख छ ।

परिक्रमावासीहरुले नेपालमा १ सय ५ तथा भारतको २८ गरी १ सय ३३ किलोमिटरको यात्रा गर्छन् ।

प्रकाशित : फाल्गुन ११, २०७६ १३:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×