दुई महिनाअघि प्रधानमन्त्रीकहाँ अडियो पुर्‍याएको थिएँ : विजय मिश्र- कुराकानी - कान्तिपुर समाचार

दुई महिनाअघि प्रधानमन्त्रीकहाँ अडियो पुर्‍याएको थिएँ : विजय मिश्र

कान्तिपुर संवाददाता

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कार्यकक्षमै पुगेर अडियो रेकर्ड गर्ने विजय मिश्र जापान बसेर नेपाल फर्केका हुन् । नेपालमै मेसिनरी एन्ड सेक्युरिटी प्रालि स्थापना गरेर सेक्युरिटी प्रिन्टिङ प्रेसकै क्षेत्रमा काम गरेको बताउने उनी स्विट्जरल्यान्डको एक कम्पनीका प्रतिनिधिसमेत हुन् ।

उनले सुरूमा स्विट्जरल्यान्डको प्रेससँग ‘डिल’ भए पनि पछि मन्त्री कमिसनको लोभमा अन्यत्र लागेको बताएका छन् । अडियो रेकर्डबारे मिश्रसँग कृष्ण ज्ञवालीले गरेको कुराकानीको सम्पादित अंश :


तपाईंले किन अडियो रेकर्ड गर्नुभएको ?

मैले त उनीहरूलाई अदालतमा उभ्याउने हो । जर्मनी र फ्रान्सका राजदूतले नेपाललाई प्रिन्टिङ प्रेस किन्नका लागि दबाब दिएका छन् । मेरो उद्देश्य उनीहरूको स्वार्थमाथि घन्टी बजाइदिने हो । यी विवादित कम्पनीलाई जिन्दगीभर नेपाल नआउने गरी बिदा गर्ने हो ।


कसरी कुरा गर्नुभयो ?

पैसा कति आउँछ र काम भयो भने कसरी हुन्छ भनेर मसँग जिज्ञासा राखेका हुन् । हामीलाई कति आउँछ, तलाईं कति हुन्छ भनेर सोधेका छन् । लागत अनुमानमा एक अर्ब बढाउँदा कसलाई थाहा हुन्छ र भनेका छन् । मैले फोनबाटै भिडियो रेकर्ड गरेको हुँ । यो रेकर्ड सुरुमा सम्बन्धित निकायका धेरै मान्छेलाई सुनाएँ । भिडियोमा मन्त्रीको अनुहार झल्याकझुलुक मात्र देखिने भएकाले अडियो मात्र पठाइदिएको हुँ ।


प्रधानमन्त्रीलाई अडियोबारे थाहा छ ?

मैले दुई महिनाअघि प्रधानमन्त्रीकहाँ अडियो पुर्‍याएको थिएँ । तर मेरो अनुमतिबिना कतै बाहिर नजाने सुनिश्चित गरेको थिएँ । सांकेतिक भाषामा भएको हुनाले मैलेबाहेक कसैले पनि यसलाई अर्थ्याउन सक्दैन । उनले पनि केही कारबाही गर्ने छाँट देखाएनन् ।


कतिमा ॅडिल’ थियो ?

५५/६० करोड वा त्यही सेरोफेरो मात्रै आउने भनेपछि मन्त्री बाँस्कोटाले २७ अर्बको ठाउँमा २८ अर्ब बनाएर ल्याऊ न त भनेका हुन् । उनले सांकेतिक रूपमा एक अर्ब रुपैयाँ बढाउँदा के फरक पर्छ र भनेका छन् ।

सुरुमा बाँस्कोटाले तपाईंलाई विश्वास गरेका रहेछन् ?

उनीहरूले स्विट्जरल्यान्डको कम्पनीसँग किन्ने भनी प्रक्रिया बढाउने बताए । सरकारले त्यहाँको कम्पनीलाई चिठी पठायो । बाँस्कोटाले यहाँको राजदूतलाई फोन गर्दा समय दिएनछन् । अनि मलाई फोन गरेर समय मिलाइदिनुपर्‍यो भनेर आग्रह गरे ।


‘प्रधानमन्त्री...

त्यही क्रममा भेटेर कुरा गरौं भने । अनि म मन्त्रीको कार्यकक्षमा जाँदा संयोगले खिचिएको हो, खिच्छु भनेर योजनाबद्ध रूपमा खिचेको पनि हैन । भिडियो डेढ वर्षअघि खिचिएको हो । म खराब हुन्थें भने उतिबेलै सार्वजनिक गरिदिन्थें । मैले अहिले सही समयमा उठाएको भएर उनीहरू चुप लागेर बसेका छन् । अहिले आएर थाहा भयो, मन्त्री बाँस्कोटा बहुत फटाहा

मान्छे रहेछन् ।

भिडियो खिचिएको छ भन्ने मन्त्रीले थाहा पाए ?

अस्ति मलाई उनीहरूले मान्छे पठाए । बाँस्कोटाले ‘मलाई कसरी बचाउने हो बचाउ’ भनेका हुन् । पार नलागेपछि ‘त्यो मिश्रलाई कसरी ठिक पार्ने ?’ भन्ने उपाय सोच्न थाले । मलाई ‘केही पैसा लिएर चुप लाग न त’ भन्ने अफर पनि आएको हो । ‘मैले देश चलाउने अनि यसले मलाई चुनौती दिने ?’ भनेर पनि धम्की आएको थियो । मलाई सार्वजनिक लेखा समितिका एक सदस्य (नाम भनेनन्) ले दीपक भट्ट र सोनाम (यति समूहका सञ्चालक) सँग भेट्नुपर्‍यो भनेर पनि प्रस्ताव आएको थियो । पछि एउटा भेटमा भट्टले म संलग्न छैन भनेका थिए ।

किन लागत अनुमान बढाउन खोजे ?

यो रद्द होला भन्ने मेरो अनुमान थियो । उनीहरूले टेन्डरबाट काम गरेको भए पैसा खान पाउने थिएनन् । मन्त्रीलाई जसरी पनि २ अर्ब त चाहिएको थियो नै । टेन्डरमा गएको भए पनि उनीहरूले एजेन्टलाई कमिसन दिने नै थिए । थोरै आउने भएपछि मन्त्रीलाई पुगेन । सबै हिसाबकिताब गरेर मन्त्रीले बढाउन लगाएका हुन् ।


मैले त अझै धम्क्याउन थाल्यौ भने भ्रष्टाचारविरुद्ध संस्था खोलेर तिमीहरू विरुद्ध लाग्छु भनेर भनिदिएको छु । मैले उनीहरूलाई ३५ लाखभन्दा बढी जनसंख्या भएको मुलुकमा यस्तो प्रेस आवश्यक पर्छ भनेर सहमत गराएको थिएँ । जाउ हेरेर आउ भनेर मन्त्रीलाई स्वीट्जरल्यान्ड पठाइदिएको हुँ । उता गए, घुमेर आए अनि यहाँ विकल पौडेललाई च्यापेर आफूअनुकूल कागज बनाएर खेल्न खोजे ।

यो खेलमा अरू को–को छन् ?

यो खेलमा प्रधानमन्त्री कार्यालयअन्तर्गतका दुई/तीन जना कर्मचारी छन् । (उनले थर बताए पनि बिर्सिएको बहानामा नाम खोलेनन्) । पछि उनीहरूले प्रधानमन्त्रीसम्म सहजीकरण गर्थे । विकलले मन्त्रीसँग नजिक भएर काम गर्‍यो । ऊ अमेरिकी ग्रिनकार्ड होल्डर हो । अन्तःशुल्कको स्टिकर छाप्दा पनि ऊ संलग्न थियो । एमआरपी छाप्ने भएपछि परराष्ट्र मन्त्रालयमा आएको हो । बदमासी गरेको थाहा पाएपछि टंकमणि शर्माले आन्तरिक राजस्व विभागको महानिर्देशक हुँदा कारबाही गरेका थिए ।

मन्त्री बाँस्कोटासँग पछिल्लो समय कुराकानी भएको छ ?

छैन । मैले बारम्बार यो विषय लेखा समितिमा उठाउनुपर्‍यो भनेको थिएँ । मसँग अडियो रेकर्ड छ भन्ने थाहा पाएपछि मन्त्री केही सातायता अलि नरम भएका थिए । मेरोविरुद्ध बोले ५ मिनेटमा बाहिर ल्याइदिन्छु भनेको थिएँ । अरू सांसदलाई थाहा भए पनि कोही उनका विरुद्ध बोल्न सकेनन् ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

काठमान्डु पोस्टको सम्पादकमा सतगैंया

कान्तिपुर संवाददाता

काठमाडौँ — पत्रकार संजिव सतगैंया ‘दी काठमान्डु पोस्ट’ को सम्पादकमा नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले बिहीबार सतगैंयालाई पोस्टको सम्पादकमा नियुक्त गरिएको घोषणा गरेका हुन् ।

प्रधानसम्पादक अनुप काफ्लेले पदबाट राजीनामा दिएपछि ४५ वर्षीय सतगैंया सम्पादकमा नियुक्त भएका हुन् । सन् २००२ मा हिमालयन टाइम्सबाट पत्रकारिता थालेका सतगैंया यसअघि पोस्टकै समाचार प्रमुख थिए ।

उनले डेस्क सम्पादक र संवाददाताका रूपमा राजनीतिक, सामाजिक मामिला, मानव अधिकार र मनोरञ्जनसम्बन्धी विषयमा समाचार संकलन र सम्पादन गर्थे । ‘कान्तिपुर मिडिया ग्रुपको व्यवस्थापनले प्रधानसम्पादक काफ्लेको राजीनामा स्वीकृत गर्दै सतगैंयालाई पत्रिकाको सम्पादकमा नियुक्त गरेको छ,’ सिरोहियाले भने, ‘आगामी दिनमा नयाँ नेतृत्वअन्तर्गत रहेर पत्रिकाले असल पत्रकारिताको अभ्यास निरन्तर जारी राख्ने मेरो विश्वास छ ।’

प्रकाशित : फाल्गुन ९, २०७६ ०७:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×