सञ्‍चारमन्त्रीलाई हटाउनुपर्ने माग गर्दै कांग्रेसद्वारा राष्ट्रिय सभामा अवरोध

फाल्गुन ८, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले राष्ट्रिय सभा बैठकमा अवरोध गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस कमिसनको विषयमा मुछिएका सञ्‍चार तथा सूचना प्रविधिमन्‍त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै कांग्रेसले सदन अवरुद्ध पारेको हो ।

बैठक प्रारम्भ हुनासाथ कांग्रेस सांसद जीतेन्द्रनारायण देवले सञ्‍चारमन्त्र‌ीलाई अबिलम्ब बर्खास्त गर्न माग गरे । उनले छानबिन समिति बनाउनुपर्ने र यस विषयमा प्रधानमन्त्रीले सदनमा जानकारी नगराएसम्म सदन चल्न नदिने बताए । त्यसपछि कांग्रेस सांसदहरु उभिएर सदन अवरुद्ध पारेका थिए । 


प्रतिपक्षीले अवरोध जारी राखेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले फागुन १५ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

कान्तिपुर

Link copied successfully